दर्जाकै कारण शान्ति प्रक्रिया रोकिदैनः बैद्य

काठमाडौं, ३० फागुन । एकीकृत माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले दर्जा बिवादकै कारण शान्ति प्रक्रिया नरोकिने बताएका छन् ।
राजधानीमा आज रिपोर्टर्स क्लब नेपालको ज्ञापन पत्र बुझेपछि पत्रकारहरुसँगको कुराकानीमा उपाध्यक्ष बैद्यले शान्ति प्रक्रिया अन्तिम अवस्थामा पुगिसकेको बताए । उनले यस्तो बेलामा पार्टी नेतृत्वले दर्जामा अडान लिन्छ भन्नेमा आफूलाई विश्वास नभएको स्पष्ट पारे ।
आफूहरु अन्तिम अवस्थामा पुगेको शान्ति प्रक्रियालाई स्थायी शान्ति कायम गर्ने गरी अगाडि बढाउने प्रयासमा मिलाएर जाने उपाध्यक्ष बैधको भनाई छ ।
शान्ति प्रक्रियालाई केवल समायोजनको रुपमा मात्रै बुझिएको भन्दै बैद्यले संविधान निर्माण, बेपत्ता खोजी सहितका आयोग गठनमा भने बेवास्ता गरेको गुनासो गरे ।
उपाध्यक्ष बैद्यले राष्ट्रिय सहमतिको सरकार गठन गर्न प्रधानमन्त्री बाबुराम भट्टराईले तत्काल राजीनामा दिनु पर्ने बताए । उनले आवश्यक परे सरकार विरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिए । बैद्य समूहले प्रधानमन्त्रीको राजीनामा माग्दै आएको छ ।
उनले सरकार देश र जनताको पक्षमा नभएको भन्दै माओवादी नेतृत्वको सरकार हो कि होईन भन्ने प्रश्न उब्जिएको बताए ।

प्रतिक्रिया