‘तत्काल प्रक्रियामा नजाने सहमति’

काठमाडौं, ३० फागुन । नयाँ संविधानका बिवादित बिषयमा सहमतिको प्रयास जारी रहेकाले तत्काल प्रक्रियामा जान नहुने प्रमुख दलहरुको सुझाव पछि संवैधानिक समितिको बैठक बिनाकुनै निष्कर्ष स्थगित भएको छ ।
समितिको कार्यकक्ष सिंहदरबारमा आज बसेको बैठकमा बिवाद समाधान उपसमितिका संयोजक तथा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बिवादित बिषयमा सहमतिका लागि भएका प्रयासका बिषयमा जानकारी गराएको सभापति नीलाम्वर आर्चायले जानकारी दिए । उनले सहमतिका लागि प्रमुख दलका बीच पहल भएका कारण बिवादित बिषयलाई मतदानमा नलैजाने सहमति भएको बताए ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै समिति सभापति आर्चायले सहमतिको प्रयास गर्नुपर्ने भएकालेले तत्काल निर्वाचन प्रक्रियामा जानु हुँदैन भन्ने धारणा आएको बताए । उनले कार्यतालिका परिवर्तका लागि कार्यव्यवस्थाले पहल गर्ने बताए ।
बिवाद समाधान उपसमितिले सहमतिका लागि गरेको प्रयास र अन्य बिविध बिषयमा दाहालले धारणा राखे पछि बैठक स्थगित भएको थियो ।
राज्यपुनसंरचना, शासकीय स्वरुप, नागरिकता, न्यायप्रणालीलगायतका बिषयमा प्रमुख दलहरुका बीच विवाद रहेको छ । सहमतिका लागि प्रयास भएपनि शान्तिप्रक्रियाका अबरुद्ध काम अगाडि नबढ्दा सम्म संविधानको कामपनि अघि नबढ्ने कांग्रेस र एमालेको अडान छ ।

प्रतिक्रिया