भिड यसरी तह लगाउने !

न्युयोर्क, २९ फागुन । अनियन्त्रित भिड नियन्त्रण गर्न अश्रुग्यास, पानीको फोहोरा अथवा रबरको गोली प्रयोग हुँदै आएको छ । तर, उत्तेजित भिडमाथि नियन्त्रण कायम गर्न हम्मेहम्मे पर्ने गरेको छ । अमेरिकी सेनाले हालै बजारमा ल्याएको एउटा गैरघातक हतियारले नयाँ ढङ्गले भिड तितरबितर गराउन सक्ने दाबी गरिएको छ ।
एक्टिभ डिनायल सिस्टम (एडिएस) नाम गरेको यो हतियारले अधिक तातो तरङ्ग प्रवाह गरी भिड तितरबितर गर्न सक्छ । यसले फाल्ने विद्युतीय तथा चुम्बकीय तरङ्ग यति तातो हुन्छ कि यसले एक हजार मिटर परसम्मका मानिसलाई असिनपसिन बनाउँछ । अधिक तातोका कारण त्यहाँबाट भाग्नुको विकल्प मानिससँग रहँदैन ।
अमेरिकी सेनाको संयुक्त गैरघातक हतियार महानिर्देशनालयका निर्देशक कर्णेल ट्रासी टाफोलाका अनुसार यो अहिलेसम्मकै सबैभन्दा सुरक्षित गैरघातक हतियार हो । भर्जिनियामा पत्रकारमाझ एडिएस सार्वजनिक गरिएको थियो । एडिएसले कसरी काम गर्छ भनी जिज्ञासा राख्ने पत्रकारलाई यसले फाल्ने तातो तरङ्गको अनुभव गराइएको थियो । एडिएसले तातो फाल्न थालेपछि पत्रकारलाई गर्मीले उखरमाउलो भएको थियो । उनीहरूले तातो भुङ्ग्रोमा परेको अनुभव गरेका थिए । यो हतियार ११ हजार जनामाथि प्रयोग गरेर बजारमा ल्याइएको हो । (एजेन्सी)

प्रतिक्रिया