रातको काम

‘त सुत्दैनस् ? रातभर अनलाइन छस् त ?’
‘सुत्छु नि, किन नसुत्नु ।
‘यतिबेलासम्म अनलाइन छस् त ।
‘हो, छु ।
‘के गर्दै छस् ?
‘काम…
रातको ११ बजेपछि पनि अनलाइनमा देखिएमा प्रश्नहरूको लगातार प्रहार भइराख्छ । संयमतापूर्वक हो÷होइन, छ÷छैन, हुन्छ÷हुँदैन मा जवाफ दिइरहनुपर्छ । ढिलो भयो भने ‘बुज’ प्रहार गर्दै आक्रमण गर्न थालिहाल्छन् ।
–‘हैन हो, कतिधेरैसँग च्याट गरिराख्या ? तेरो टाइप त अझै उस्तै ।’ यस्तैयस्तै ।
मानिसहरू कम्प्युटरमा अनलाइन आयो कि, च्याट प्रयोजन ठान्छन् । इन्टरनेटलाई च्याट सम्झनेहरूसँग कतिन्जेल च्याट गरिरहन सकिएला । मोबाइलमा अनलाइन आउनेहरूको कामै च्याटमा रमाउनु त होला नि ! ती पनि रातको ११ बजेपछि गायब हुन्छन् ।
अब विदेशमा बसेका मात्र अनलाइनमा रमाइरहेका हुन्छन् ।
मानिसहरू रातको काम भन्नासाथ के–के सम्झन्छन् के–के ? के–के अर्थ लाउँछन्
के–के ? सबैलाई जवाफ दिएर साध्य पनि हुँदैन । रातको काम भन्नासाथ धेरैले रतिरागात्मक अर्थ लगाउलान्, सबै कामलाई एउटै अर्थ लगाउन मिल्दैन । एउटै दृष्टिले हरेक कामलाई हेर्न पनि मिल्दैन । रातमा अरूले के–के गर्छन् उनै जानून्, हामी अखबारकर्मी रातमा तर्कुले–बर्धने, दायाँ–बाइमात्राका पछि लागिरहेका हुन्छौँ । रातमा हाइ काढ्दै ह्रस्वदीर्घ नगरे बिहान
चियाका चुस्कीको साथमा अखबारको मज्जा लिन पाउन्नन् पाठक ।
प्रिय पाठक, मै राम्री भएको तिम्रै लागि हो भनेजस्तै हामी रातमा काम गर्ने तिम्रै लागि हो । तर, एकाबिहानै हुस्सु लागिरहेको बेलामा पत्रकार सम्मेलनको नाममा डाकेर फेरि भरिया तिमी नै बनाउँछौ ।
कहिलेकाहीँ रातमा काम गरिराख्दा लाग्छ, म मात्रै संसारको त्यस्तो अभागी जो एक्लै हाइ काढेर प्रुफरिडिङ गरिरहेको छु । अमेरिका भासिएका, युके गएका र इजरायलमा मान्छे गोठालो लागिरहेका मित्रजन अनलाइनमा देखेपछि अलि सास आउँछ । छिमेकी अखबारका सम्पादक पनि कहिलेकाहीँ अनलाइनमा हुन्छन् ।
रातमा सवारी चलाउने चालक, सीमचोकमा कम्ब्याड ड्रेसमा काँपिरहेका तीन जना प्रहरी, दुई जना पालेदाइ, मेरो कम्प्युटर अपरेटर, छापाखाना अपरेटर र सुमार्गी कम्प्लेक्स अघि बिटमा रुँघिरहेका दुई जना नगरपालिकाका पाले पनि मैजस्तो रातमा काम गर्ने÷नगर्ने अभागी÷भाग्यमानीहरू हुन् । यदि सङ्गठन गर्ने, एकीकृत हुने हो भने रातमा काम गर्नेहरू पनि सशक्तै हुन सक्लान् नि बढ्दो पत्रकारिताको क्रेजसँगै सञ्चारकर्मी बढेका छन् । दैनिक पत्रिका थपिएका छन् । थुप्रै एफएम खुलेका छन् । पहिलापहिला प्रतिस्पर्धाको नाममा २४ सै घन्टा ठोक्ने र खोक्नेहरू हिजोआज ११ बजे नै लोडसेडिङको स्मृतिमा भुसुक्क हुन्छन् ।  दैनिक पत्रिकाका सम्पादक, पेज संयोजक र प्रुफ रिडरहरू आफ्नो जीवनको प्रुफ बिर्सेर समाचार र विचारको प्रुफ हेरिरहेका भटिन्छन् ।
रातमा काम गर्ने (रात्रिबसका चालक, सहचालक, सेक्क्युरिटी गार्ड, जेनतेन पत्रिकाका काम गर्ने) रात्रिकालीन कर्मचारी हुन् । अन्य काम गर्ने दिउँसो सुत्न पाउँछन्, तर पत्रिकावालाहरू दिन–रात सुत्दैनन् । कहिलेकाहीँ पत्रिका पल्टाएर हेर्दा पाठकहरू दिन–रातै सुतेको ठम्याउँछन् । घरमा ऐच्छिक मनोरञ्जनात्मक काममा केहीबेर रमाउनुजस्तो होइन रै’छ, यो हाम्रो रातको काम ।

प्रतिक्रिया