सम्बन्धविच्छेद गर्नेमा टिनएजर बढी

नेपालगन्ज, २८ फागुन । बाँकेको नौवस्ताकी रीता चौधरी (नाम परिवर्तन)ले १० कक्षा पढ्दापढ्दै गाउँकै दिनेश चौधरीसँग बिहे गरिन् । बिहेको वर्षदिनमै उनीहरूबीचको सम्बन्ध बिग्रियो । दिनेशसँग जीवन बिताउन नसक्ने निर्णयमा पुगेपछि उनले अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गराइन् । अदालतको निर्णयपछि उनी श्रीमान्सँग अलग भइन् ।
उनी हाल माइतमै बस्दै आएकी छन् । हतारोमा बिहे गरेकोमा पछुताइरहेकी उनले भनिन्, ‘नबुझी विवाह गर्दा बल्ल होस खुलेको छ ।’ विवाहकै कारण उनले दस कक्षाको पढाइसमेत पूरा गर्न सकिनन् । भनिन्, ‘मेरो त भविष्य नै बिग्रेजस्तो लागिरहेछ ।’
माध्यमिकदेखि उच्च माध्यमिक तहमा पढ्दा–पढ्दै प्रेमविवाह गरेका उनीजस्ता थुप्रै किशोरकिशोरी दम्पती सम्बन्धविच्छेद गर्न अदालत धाइरहेका छन् । एकले अर्काबारे राम्रोसँग नबुझी विवाह गरेका धेरै ‘टिनएजर’को लगनगाँठो धेरै वर्ष नटिक्ने गरेको पाइएको छ । यसले ‘टिनएज’मा विवाह गर्ने र पछि पछुताउने जोडीको सङ्ख्या जिल्लामा बढ्दो देखाएको छ ।
जिल्ला अदालतका अनुसार गत साउनयता मात्र दुई सय २३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । तीमध्ये धेरैजसो १९ वर्षमुनिका जोडीका निवेदन छन् ।
हतारमा बिहे गर्दा रीताजस्तै पछुताइरहेकी छन्, कोहलपुरकी हिमा वली पनि । कक्षा ११ मा पढ्दापढ्दै गणेशसँग घरजम गरेकी उनी यत्तिखेर निकै तनाबमा छिन् । तीन महिना प्रेम गरेर विवाह गरेको उनको जोडी विवाहपछि तीन महिना पनि टिक्न सकेन ।
‘केटाले अत्यधिक रक्सी र नसा सेवन गर्दा दुवैबीच समझदारी हुन सकेन,’ हिमाले भनिन्, ‘केटा सुध्रने आशामा कैयौँ प्रयास गरेँ ।’ २०६२ सालमा प्रेमविवाह गरेकी उनले श्रीमान्सँग बस्ने सबै उपाय असफल भएपछि हालै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी छन् । ‘नबुझेर विवाह गर्दा एकातिर पढाइ छुट्यो, अर्कोतिर जीवनमा नमेटिने पीडा भयो,’ उनले भनिन् ।
महिलालाई कानुनी सेवा दिँदै आएकी अधिवक्ता विष्णु पोख्रेलका अनुसार सम्बन्धविच्छेदका मुद्दामध्ये सानैमा प्रेमविवाह गर्ने र व्यक्तिगत स्वतन्त्रता खोज्ने जोडीका बढी छन् । ‘किशोरकिशोरी दम्पती सामान्य विवादमा समेत अलग हुने गरेका छन्,’ पोख्रेलले भनिन्, ‘उनीहरू सुन्दर भविष्यको विषयमा सोचिरहेका छैनन् ।’
हतारोमा बिहे गरेर अलग भएका जोडीको आफ्नो मात्र नभई उनीहरूबाट जन्मिएका सन्तानको भविष्यसमेत बिग्रिएको छ । ‘यो ठूलो सामाजिक समस्या हो,’ उनले भनिन्, ‘अभिभावकले छोराछोरीलाई राम्रोसँग काउन्सिलिङ गर्न जरुरी छ ।’

प्रतिक्रिया