नियम मिचेर सरुवा र बढुवा

काठमाडौँ, २७ फागुन । नेपाल विद्युत् प्राधिकरणले अर्थ मन्त्रालयसँग स्वीकृति नलिई नियम मिचेर तीन वरिष्ठ कर्मचारीको बढुवा गरेको छ । त्यसैगरी, प्राधिकरणकै निमित्त कार्यकारी निर्देशकले सरुवा गर्न नपाउने प्रावधानलाई लत्याएर एक सयभन्दा बढी कर्मचारीको सरुवा गरेका छन् ।
आर्थिक व्ययभार नपर्नेगरी बढुवा गर्न पाउने प्रावधान रहे पनि प्राधिकरण बोर्ड बैठकले हालै प्राधिकरणका विभिन्न पदमा निमित्त रहेका तीनजना कर्मचारीको बढुवा गरेको हो । सार्वजनिक संस्थान निर्देशन बोर्डसँग परामर्श नगरी र अर्थ मन्त्रालयले प्राधिकरण कर्मचारी नियमावलीको संशोधन स्वीकृत गरिनसकेको अवस्थामा बोर्ड बैठकले बढुवाको निर्णय गरेको प्राधिकरण स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उत्पादन निर्माणका निमित्त महाप्रबन्धक राजेश्वरमान सुल्प्यालाई प्रणाली सञ्चालन विभागको महाप्रबन्धक, प्रसारण तथा प्रणाली सञ्चालन विभागका निमित्त महाप्रबन्धक चिरञ्जीवी शर्मा पौडेललाई ग्राहक तथा वितरण सेवा पूर्वको महाप्रबन्धक र ग्राहक तथा वितरण सेवा पूर्वका निमित्त महाप्रबन्धक गणेशप्रसाद राजलाई प्रणाली सञ्चालन मर्मतसम्भारको महाप्रबन्धकमा बढुवा गरिएको छ ।
‘प्राधिकरण कर्मचारी नियमावली संशोधन अर्थ मन्त्रालयबाट स्वीकृत नभइकन नियम मिचेर बढुवा गरिएको छ,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘सार्वजनिक संस्थान निर्देशन बोर्डसँग परामर्श गरेर मात्र बढुवा गर्न अर्थसचिव कृष्णहरि बाँस्कोटाले भन्दै आएका थिए तर उनी उपस्थित नभएको बोर्ड बैठकले बढुवा गर्ने निर्णय ग¥यो ।’
ती अधिकारीका अनुसार प्रसारण प्रणालीको रिक्त दरबन्दीमा बढुवा गर्नका लागि स्वीकृति मागिएको थियो तर त्यो स्वीकृत नभई बढुवा गरिएको छ । अन्य पदमा पनि स्वीकृति लिइएको छैन, अहिले ऊर्जामन्त्री र मन्त्रालयका पदाधिकारीको निर्देशनमा सरुवा र बढुवा आतङ्क मच्चाइएको छ ।
अर्थका सहसचिव एवं संस्थान समन्वय महाशाखा प्रमुख खुमराज पुञ्जाली आर्थिक व्ययभार थपिनेगरी बढुवा गर्दा अर्थ मन्त्रालयसँग स्वीकृति लिनुपर्ने बताउँछन् । ‘प्राधिकरण कर्मचारी नियमावली संशोधन स्वीकृत भएको छैन, सार्वजनिक संस्थान निर्देशन बोर्डको कार्यक्षेत्रको पनि टुङ्गो लागेको छैन,’ उनले भने, ‘कुन आधारमा कसरी बढुवा गरिएको हो, त्यो बुझ्नैपर्छ ।’
प्राधिकरण उच्च स्रोतका अनुसार महाप्रबन्धकमा बढुवा गर्दा संस्थालाई आर्थिक व्ययभार थपिन्छ । झन्डै ३० अर्ब रुपियाँ घाटामा रहेको प्राधिकरणको १२औँ तहमा एकजनाको दरबन्दीसमेत थपेर व्ययभार बढाइएको ती स्रोतको दाबी छ । स्रोत भन्छ, ‘आर्थिक चलखेलमा सरुवा–बढुवा भएका छन्, नियम मिचेर प्राधिकरणको बोर्ड बैठकले निर्णय गरेको छ ।’
ग्राहक तथा वितरण सेवा पश्चिमका प्रमुख महेन्द्रलाल श्रेष्ठलाई उत्पादन, सञ्चालन सम्भारमा, इन्जिनियरिङका प्रमुख उपेन्द्रदेव भट्टलाई ग्राहक तथा वितरण सेवा पश्चिममा, उत्पादन, सञ्चालन सम्भारका प्रमुख वीरेन्द्र पाठकलाई इन्जिनियरिङ महाशाखामा र प्रणाली सञ्चालन सम्भारका प्रमुख रामचन्द्र पाण्डेलाई उत्पादन निर्माणमा सरुवा गरिएको छ । त्यसैगरी, प्राधिकरणका विभिन्न क्षेत्रीय कार्यालय, विद्युत् उत्पादन केन्द्रलगायतमा कार्यरत सयभन्दा बढी कर्मचारीको पनि सरुवा गरिएको स्रोतले जनाएको छ । उनका अनुसार प्राधिकरणका निमित्त कार्यकारी निर्देशक टीकाराम विसीले नियमविपरीत सरुवा गराएका हुन् ।
प्राधिकरण बोर्डका अध्यक्षसमेत रहेका ऊर्जासचिव हरिराम कोइरालाले कुल दरबन्दीमा नबढ्नेगरी निमित्तलाई बढुवा मात्र गरिएको प्रतिक्रिया दिए । यसबाट प्राधिकरणको व्ययभार नथपिने सचिव कोइरालाको दाबी छ ।

प्रतिक्रिया