वीरको ५० नम्बर क्याबिनमा ‘जटिल’ बिरामी

काठमाडौं, २७ फागुन । वीर अस्पतालमा सघन उपचारकक्षको ५० नम्बर क्याबिनमा छिन् एक ‘असामान्य’ बिरामी । उनी जुन रोगको सिकायत लिएर अस्पताल आएकी थिइन्, जाँच गर्दा त्यो रोग देखिएन । जुन रोग उनमा देखिएको छ, त्यसको उपचार गर्न मानेकी छैनन् ।
यी हुन् एभ्को इन्टरनेसनल कम्पनीकी सञ्चालक बिनिता प्रधान, जसलाई काठमाडौँ जिल्ला अदालतले ४४ दिनअघि ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । अदालतले तोकेको डेढ करोड रुपियाँ धरौटी रकम बुझाउन नसक्दा उनलाई १२ माघमा कारागार चलान गर्न आदेश दिइएको हो । उनी भारतीय प्रहरीको रेड कर्नर नोटिसमा समेत रहेकी छन् ।
अदालतले सुन्धारास्थित केन्द्रीय महिला कारागारमा पठाएको शनिबार ४४ दिन बिते पनि उनले हालसम्म कारागारमा पाइला टेकेकी छैनन् । अदालतले थुनामा राख्ने आदेश दिनुअघि प्रधान सद्दे थिइन् । तर, त्यहाँबाट कारागार लैजाने बेलामा ‘छाती दुख्यो’ भन्दै छट्पटाएपछि उनलाई वीरमा लगिएको थियो । ‘छाती दुख्यो’ भन्दै उहाँ आउनुभएको थियो, तर चेकअप गर्दा छातीको समस्या देखिएन,’ प्रधानको उपचारमा संलग्न चिकित्सक डा. प्रकाशराज रेग्मीले भने, ‘यद्यपि विस्तृत मेडिकल जाँच गर्दा थम्वोसाइटोरिया (हड्डीबाट रगत निस्कने) समस्या देखियो, त्यसको उपचार गर्न उहाँ मान्नुभएको छैन ।’
वीर अस्पतालले उनलाई सामान्य रोग मात्र रहेको ठहर गर्दै ६ दिनअघि डिस्चार्ज गर्न लागेको थियो । ‘डिस्चार्ज गर्न खोज्दा उहाँ फेन्ट भएर ढल्नुभयो, ढल्दा घाँटी र टाउकामा चोट लागेपछि पुनः सघन उपचारकक्षमा राखेका छाँै,’ रेग्मीले भने ।
एभ्को इन्टरनेसनल कम्पनीबाट होन्डा कम्पनीको सवारीसाधन बिक्री गर्दा ठगी गरेको आरोपमा उनलाई जिल्ला अदालतमा मुद्दा चलाइएको थियो । नेपालको अदालतमा मुद्दा चलेदेखि फरार रहेकी प्रधानले भारतको नयाँ दिल्लीबाट एभ्को इन्टरनेसनल कम्पनी सञ्चालन गरिरहेकी थिइन् । यही कम्पनीबाट दिल्लीको एक बंैकलाई १५ करोड भारतीय रुपियाँ ठगी आरोपमा उनी भारतीय प्रहरीको पनि फरार सूचीमा छिन् ।
भारतीय प्रहरीको रेड कर्नर नोटिसमा परेकी प्रधानलाई ९ माघमा थाइल्यान्डको प्रहरीले बंैककमा पक्राउ गरी नेपाल पठाएको थियो । पक्राउ परेदेखि एक दिन मात्र उनी प्रहरीको हिरासतमा बसिन् । थाइल्यान्डबाट नेपाल पठाइएको दिन उनलाई हनुमानढोकामा राखिएको र दोस्रो दिन अदालतमा उपस्थित गराइएको प्रहरी स्रोतले बताएको छ ।
जिल्ला अदालतले ठगी अभियोगमा डेढ करोड धरौटी रकम मागेलगत्तै उनी अदालतमै बिरामी परेकी थिइन् । प्रहरीले एम्बुलेन्समा राखी कारागार पुर्‍याए पनि हाजिर गरेर उनलाई अस्पताल पठाएको जेलर तीर्थ भट्टराईले सौर्यसँग भने ।
प्रधान र उनीनिकटका सञ्जीव प्रधानविरुद्ध ६९ उजुरी प्रहरीमा परेका छन् । माछापुच्छ«े बंैकबाट एक करोड ठगी गरेको आरोप पनि प्रधानमाथि छ । प्रहरीले बैंक ठगीको अनुसन्धान र प्रमाणसहितको अर्को फाइल सोमबार मुद्दा चलाउनका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा पठाउने तयारी गरेको स्रोतले बताएको छ । प्रहरीको फाइल अध्ययन गरी सरकारी वकिलको कार्यालयले उनीविरुद्ध ठगीको मुद्दा चलाउनेछ ।
यता, अस्पतालले भने उनलाई कुनै ठूलो रोग नभए पनि मानसिक बिरामी भएको जनाएको छ । ‘अब कसरी डिस्चार्ज गर्नु,’ रेग्मीले भने, ‘डिस्चार्ज गर्न खोज्दा पुनः उहाँ फेन्ट हुने डर छ ।’

प्रतिक्रिया