अफ्रिकी सङ्क्रमणकालीन अनुभव

सङ्क्रमणकालीन समय के हो, के होइन ? द्वन्द्वपछिको समाज कस्तो हुन्छ ? गृहयुद्ध र गृहशान्तिका समयबीच कस्तो अन्तर हुन्छ ? सङ्क्रमणकाल र शान्ति प्रक्रियामाझ विद्यमान खाडलबीच कसरी सेतु निर्माण गर्न सकिन्छ ? द्वन्द्वले ग्रस्त समाजमा दीर्घकालीन शान्ति स्थापना कसरी गर्न सकिन्छ ? निराशावादी बादल मडारिरहेको समाजमा आम मानिसका मनमा आशाका आभा कसरी स्थापित गर्न सकिन्छ भन्ने जस्ता संवेदनशील समयबाट गुज्रिरहेको नेपालमा सकारात्मक बौद्धिक सन्देश चेतना विस्तारमा खडेरी परेको देखिन्छ । नकारात्मकताले नराम्ररी डेरा जमाएको नेपाली मनमा सकारात्मक सोचले ओतप्रोत डिस्कोर्स खड्किरहेको छ । मुलुकको प्रधानमन्त्रीले समेत लेखक पत्रकारलाई आशावादी सकारात्मक सन्देश प्रवाह गर्न बौद्धिक भूमिका निर्वाह गर्न आग्रह गरिएका खबर भर्खरै नेपाली छापामा छाएका छन् ।
यस्तो परिस्थितिमा अलेक्स बोरेनको संस्मरणात्मक पुस्तक ‘अ कन्ट्री अनमास्कड्’ (सन् २००८) र ‘अ लाइफ इन ट्रान्जिसन’ (सन् २००८) को चर्चा गर्नु सान्दर्भिक छ । दक्षिण अफ्रिकी मेथोडिस्ट चर्चका प्रमुख मात्र होइन अन्तर्राष्ट्रिय सत्य तथा मेलमिलाप केन्द्रका अध्यक्ष, प्रगतिशील राजनीतिक पार्टीका सदस्य र अफ्रिकी सत्य तथा मेलमिलाप आयोगका एक परिकल्पनाकार बोरेनको अफ्रिकी सङ्क्रमणकालीन अनुभव नेपालको लम्बिँदो सङ्क्रमणकालका साक्षीका लागि एक पठनीय र मननीय खुराक बन्न सक्छ । डिट्रिक बोनहोइफरले आँैल्याएझैँ ‘गृहयुद्वका सबै घाउ निको नहुन सक्छ, तर सबैले द्वन्द्वबाट पाठ सिक्न भने सक्छन् ।’ यद्यपि सबैको सहयोग भएको खण्डमा द्वन्द्वपछिको समाजमा थप घाउ र थप पीडाबाट जनतालाई बचाउन भने सकिन्छ । क्षमा र सहिष्णुताले इतिहासको घाउमा मलम लगाउन सकिन्छ । मुलुकमा विधिको शासन स्थापना मात्र गर्न सकिएमा पनि इतिहासको घाउमा मज्जाले मलम लगाउन सकिने बोरेनको ठहर सह्रानीय छ ।
संसारकै नेतामध्ये सबैभन्दा लामो समय कठोर जेल जीवन बिताएका अफ्रिकी नेता नेल्सन मन्डेलाले जेलमुक्त हुनेबित्तिकै बदलाको साटो ‘फरगिभ बट नट फरगेट’
(क्षमा देऊ तर नबिर्स)को नीति घोषणा गर्दै उनलाई यातना दिने दुस्मनलाई पनि शान्तिप्रक्रियामा समावेश गरेको प्रसङ्ग पुस्तकमा सान्दर्भिक ढङ्गले उल्लेख छन् । मन्डेलाले भनेझैँ इतिहासका घाउलाई बिर्सन सकिन्न । बिर्सूं भने पनि कदापि बिर्सन सकिन्न । त्यसो हो भने इतिहासको घाउ कसरी सम्झिने त भन्ने गहन प्रश्न हाम्राअघि खडा हुन्छ । जब इतिहासको घाउ सम्झिइन्छ, तब बदलाको भावले भरिपूर्ण आक्रोशको आगो दन्किन्छ । इतिहासको घाउ टन्किन्छ । अनि अर्को द्वन्द्वको आगो सल्किन्छ । सङ्क्रमणकालमा नवीन किसिमका द्वन्द्व चैत–वैशाखको वनमा डढेलो सल्किएझैँ उर्लिन सक्ने अत्यधिक सम्भावना हुन्छ भने बिर्सनै नसकिने इतिहासको घाउ कसरी सम्झने त ? यसको उत्तरस्वरूप अलेक्स बोरेन भन्छन्, ‘यस्तो संवेदनशील घडीमा इतिहासको घाउलाई मलम लगाएर नयाँ द्वन्द्वको आगो सल्किन नदिन नेताले निकै परिश्रम गर्नुपर्छ । त्यसका लागि नयाँ युवालाई सम्भावनाका नवीन सपना देख्न र पाका पिँढीलाई आफ्नो अनुभवको अक्कल प्रयोग गर्न मुलुकमा उपयुक्त वातावरणको निर्माण गर्नुपर्ने निष्कर्ष बोरेनको छ ।’ सङ्क्रमणकालमा जतिसक्दो आशावादी आभाले निराशावादको बादललाई चिर्नुपर्नेमा उनको जोड मननीय छ । अन्त्यहीन तर्क÷वितर्कबाट मुक्ति र ठोस कामको थालनी नै सङ्क्रमणकालीन अन्योलको ओखती भन्ने उनको अर्को तर्क पनि नकारात्मक ग्रन्थी हाभी भएका हाम्रा गनथने नेता कार्यकर्ताका लागि अति अनुकरणीय छ ।
शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन पहिले समाजमा व्याप्त घृणाको महारोगको शल्यक्रिया गर्नैपर्ने उनको विचारलाई पनि नकार्न सकिन्न । भोकल्याभ ह्याभलको भनाइलाई उद्धृत गर्दै बोरेन थप लेख्छन्, ‘म आशावादी मान्छे होइन, किनकि मलाई अन्ततः सबै कुरा ठीकठाक हुन्छ भन्नेमा विश्वास लाग्दैन । म निराशावादी मान्छे पनि होइन, किनकि मलाई सबै कुरा खत्तम भएर बिग्रनेछ भन्नेमा पनि विश्वास छैन । म त आशालाई सधैँ हृदयमा बोकी हिँड्ने मानिस हुँ । मलाई यति विश्वास छ कि मैले गरेको सकारात्मक कर्मको समाजमा अन्ततः राम्रो प्रभाव पर्नेछ । मेरो आशावादी कर्म नै मेरो भविष्य हो । सबैको भविष्य नै मेरो पनि भविष्य हो ।’
हुनतः वैज्ञानिक आइन्स्टाइनले जबसम्म यस धर्तीमा मानिसको अस्तित्व रहन्छ, युद्धको अन्त्य कदापि हुन्न भनेका थिए । बोरेनको पनि यसमा सहमति छ । यद्यपि आइन्स्टाइनले विश्वास गरेझैँ असल मानिस र विचारले खराबमाथि नियन्त्रण गर्नै सक्दैन भन्ने छैन भन्ने उनको निष्कर्षलाई अफ्रिकी द्वन्द्व व्यवस्थापनसँग जोडेको प्रसङ्ग पनि सान्दर्भिक छ । बोरेनको विचारमा अफ्रिकाले जत्तिको रङ्गवाद, उपनिपवेशवाद, साम्राज्यवाद र आन्तरिक कलहको इतिहासको घाउको पीडा आजसम्म संसारमा अन्त कतै कसैले भोग्नुपरेको छैन । अफ्रिकीले इतिहासको घाउलाई कहिल्यै बिर्सन सक्दैनन् । तैपनि तिनले इतिहासको घाउ सम्झँदै वर्तमानमा शान्तिप्रक्रियालाई भाँडेनन् । भविष्यलाई बिर्सेनन् । इतिहासको घाउ सम्झँदा–सम्झँदै पनि भविष्यलाई बिर्सिएनन् । यसको परिणामस्वरूप आज अफ्रिकी शान्तिप्रक्रिया विश्वका लागि एउटा नमुना बन्न पुगेको छ, एउटा आशाको आभा । बोरेनको विचारमा अफ्रिकी शान्तिप्रक्रियाको सफलताले प्रत्येक दुस्मन सहकर्मी बन्न सक्ने सम्भावना देखाएको छ । अर्काे शब्दमा, आदम मिचनिकले भनेझैँ, हिजोको दुस्मन आज आफन्त बन्न सक्छन्, प्रतिद्वन्द्वीकै रूपमा भए पनि एकै ठाउँमा आएर दुस्मनहरू सहकार्य गर्न सक्छन् । यदि हामीले एकै ठाउँमा बसेर काम गर्न सकेनौँ भने एकआपसलाई सिध्याउने खेलको अन्त्य कहिल्यै हुन्न । एकआपसमा मन नपरे पनि एकै ठाउँमा बसेर हामी काम गर्न सक्छौँ भन्ने नमुना अफ्रिकी शान्तिप्रक्रियाको सफलता नेपाली सङ्क्रमणकालीन समयमा सान्दर्भिक हुन सक्छ ।
अन्ततः अफ्रिकाको लोकमान्यताले मेलमिलापलाई जोड दिएझैँ नेपाली लोकले पनि सामाजिक सांस्कृतिक सहिष्णुतालाई कहिल्यै अवमूल्यन गरेको देखिन्न । अलेक्स बोरेनको अफ्रिकी शान्तिप्रक्रियाको अनुभव सँगालेका पुस्तक ‘अ कन्ट्री अनमास्कड्’ र ‘अ लाइफ इन ट्रन्जिसन’ अध्ययन गर्दा यस्ता आशावादी चेतना प्रवाह गर्ने कृति नेपाली समाजमा खड्किरहेको भान भइरहेको छ ।

प्रतिक्रिया