‘फागुन मसान्तसम्म सहमति खोज्न आग्रह’

काठमाडौं, २६ फागुन । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले फागुन मसान्तसम्म संविधानका बिवादित बिषयमा राजनीतिक सहमति खोज्न प्रधानमन्त्री बाबुराम भट्टराईलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटमा अध्यक्ष नेम्वाङले फागुन मसान्तसम्म बिवादित बिषयमा सहमति निकाल्न नसकिए संविधान निर्माणमा समस्या हुने बताएका हुन् । उनले प्रधानमन्त्री भट्टराईलाई सहमति खोज्न नसकिए बहुमतका आधारमा संविधान निर्माणको बिषय जटिल हुने ध्यानाकर्षण गराए ।

भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै अध्यक्ष नेम्वाङले राजनीतिक दलहरुका बीच शान्ति र संविधानमा छिटो सहमति खोज्न वातावरण बनाउन समेत आग्रह गरेको बताए । उनले बिवादित बिषयमा सहमति खोज्नै पर्ने बाध्यता दलहरुका बीच रहेको उल्लेख गरे ।

जवाफमा प्रधानमन्त्री भट्टराईले आफू शान्ति प्रक्रियालाई निष्कर्षमा पुराएर संविधानका बिवादित बिषयमा सहमति जुटाउने आश्वासन दिए । भट्टराईले यस बिषयमा दलहरुसँग छिटै छलफल गर्ने बताएका छन् ।

दलहरुका बीच शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायप्रणाली, राज्य पुनसंरचनालगायतका बिषयमा बिवाद रहेका छन् । दलहरुले बिवादित रहेका बिषयमा सहमति खोज्न संविधानसभाको कार्यतालिका संशोधन गरिसकेका छन् ।

प्रतिक्रिया