लडाकु मुख्यालय सार्न थालियो

चितवन, २५ फागुन । एकीकृत माओवादीको लडाकु रहेका चितवन स्थित तेस्रो डिभिजन शक्तिखोर शिविरमा बिहीबारदेखि लडाकुहरुलाई एकत्रित गर्ने काम सुरु भएको छ ।
लडाकु व्यवस्थापन विशेष समितिको निगरानीमा बिहीबारदेखि चार वटा बिग्रेडलाई दुई वटामा एकत्रित गरिन थालिएको हो ।
स्वेच्छिक अवकाश रोज्ने लडाकुहरुलाई बिदाई गरेपछि सरकारले शिविरको संख्या घटाउने निर्णय गरेअनुसार लडाकुलाई पनि दुई शिविरमा मात्रै राखिन थालिएको छ । शक्तिखोर शिविरमा रहेको प्रताप स्मृती र बासु स्मृती बिग्रेडका लडाकुलाई मुख्यालयमा सार्न थालिएको छ । दुबै बिग्रेडमा गरेर सात सय पचास जना लडाकु रहेका विशेष समिति संयोजक बालानन्द शर्माले जानकारी दिए ।
उनका अनुसार अनिश कल्याण स्मृती र मुख्यालय रहेको दिनेश रामजी बिग्रेड भने कायमै रहने छ । लडाकु एकत्रित गर्न बुधबार संयोजक शर्मा सहित तीन सदस्यीय विशेष समितिका टोली चितवन आएका हुन् । उनीहरुले दुईवटा शिविरमा छलफल गरी लडाकुहरुलाई मुख्यालय सार्न थालेका हुन् । शनिबारसम्म सबैजना लडाकुलाई मुख्य शिविरमा सारेर दुई वटा ब्रिगेड खालि गरिने उनले जानकारी दिए । हतियार भने शनिबार सार्ने जनाईएको छ ।
खाली भएका दुईवटा शिविरको भौतिक संरचनाको संरक्षण नेपाली सेना र सीमा सुरक्षा कार्यालयका सशस्त्र प्रहरीले गर्ने जनाईको छ । प्रताप स्मृती ब्रिगेडकमा नेपाली सेनाले संरक्षण गर्ने निर्णय भएको भरतपुर ब्यारेकका गणपति ज्योतिन्द्र महतले जानकारी दिए । उनका अनुसार कति जना सुरक्षाकर्मी खटाउने भन्ने बारेमा भने यकिन निर्णय भएको छैन । बासु स्मृती बिग्रेडमा चाँही सशस्त्र प्रहरीले सुरक्षा दिने निर्णय भएको छ । सुरक्षाका विषयमा छलफल गर्न बिहीबार गणपति सहितको टोली प्रताप र बासु स्मृती बिग्रेडमा गएका थिए ।

प्रतिक्रिया