‘प्रधानमन्त्री र मोर्चाले कांग्रेस-एमालेलाई देखे बाधक’

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री बाबुराम भट्टराई र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शान्ति र संविधान निर्माणका क्रममा कांग्रेस-एमाले बाधक भएको निष्कर्ष निकालेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री र मधेसी मोर्चाले शान्ति र संविधानका बिषयमा निकास खोज्न कांग्रेस-एमालेसँग परामर्श गर्ने सहमति कायम गरेका छन् । बैठक पछि सौर्यसँग कुरागर्दै सिंचाई मन्त्री समेत रहेका तमलोपा नेपालका अध्यक्ष महेन्द्र यादवले शान्ति प्रक्रियामा बाधक नबन कांग्रेस-एमालेलाई आग्रह गरे ।
उनले भने, ‘शान्ति र संविधानमा देखिएको बाधाअड्चन हटाउन हामीले कांग्रेस-एमालेसँग छलफल गछौं ।’
छलफलमा संघीयताका बिषयमा मधेसी मोर्चाले आशंका जनाएपछि प्रधानमन्त्री भट्टराईले माओवादी संघीयताबिनाको संविधान जारी गर्ने पक्षमा नरहेको जनाएका थिए । भट्टराईले भने, ‘संघीयता सहितको संविधान जारी हुन्छ, आशंका नगर्नुस ।’
मधेसी मोर्चाले शान्ति प्रक्रियाका अधुरा कामहरु छिटो टुङगाउन प्रधानमन्त्री भट्टराईलाई दबाव समेत दिएको छ । अध्यक्ष यादवले भने, ‘शान्ति प्रक्रियाका अधुरा काम छिटो टुङगाउने सहमतिपनि भएको छ ।’
नागरिकताका बिषयमा आएका समस्या समाधानका लागि प्रधानमन्त्री र मधेसी मोर्चाले सर्वदलीय बैठक बोलाएर निकास खोज्ने निर्णय गरेका छन् । उनीहरुले नागरिकताको समस्या समाधान गर्न अन्तरिम संविधान संशोधनको प्रक्रियामा जाने सहमति गरेको अध्यक्ष यादवले बताए ।
चार बुँदे सहमति कार्यान्वनयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको मधेसी मोर्चाले सरकार नछाड्ने प्रतिवद्धता जनाएको छ ।
मधेसी मोर्चाले नेपाली सेनामा मधेसी युवाको सामूहिक प्रवेशको अड्चन फुकाउन प्रधानमन्त्रीलाई दबाव समेत दिएको छ । तमलोपा नेपालका अध्यक्ष यादवले कानूनमा समस्या भए संशोधन गरेरै भएपनि सेनामा मधेसी युवाको सामूहिक प्रवेश गराउनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया