ममीप्रतिको मोह

साल्टलेक सिटी, २४ फागुन । प्राचीन इजिप्टमा मृत शरीरलाई युगौँसम्म जोगाएर राख्न यसलाई ममीमा परिणत गर्ने गरिन्थ्यो । ममीप्रतिको मोह आजका मानिसमा समेत जाग्न थालेको छ । त्यसैले होला, अमेरिकी सहर साल्टलेक सिटीमा रहेको विश्वको एकमात्र ममी बनाउने कम्पनीले राम्रो व्यापार गरिरहेको छ ।
अहिलेसम्म एक हजार पाँच सय जनाले आफ्नो ममी बनाउन कम्पनीमा सम्पर्क गरिसकेका छन् । यसरी सम्पर्क गर्नेमा विश्वभरका सेलिब्रेटीसमेत रहेका बताइएको छ । यद्यपि, उनीहरूको नाम भने खुलाइएको छैन । यसबाहेक घरपालुवा जनावरलाई ममीमा परिणत गराउन कम्पनीमा सम्पर्क राख्नेको सङ्ख्यासमेत बढ्दो छ ।
कम्पनीले कुकुर, बिरालो र मुसादेखि मयुरसम्मका ममी तयार पारिसकेको छ । एउटा ममी बनाउन ९० दिन जति लाग्छ । यसका लागि शवबाट अङ्गहरू झिकिन्छ र शरीरलाई ७० दिनसम्म ओसिलो बनाइन्छ । शरीरमा मैन, बोसो आदि भरिन्छ । त्यसपछि शरीरलाई चाँदी अथवा काँसको डिब्बामा राखेपछि ममी बनाउने काम पूरा हुन्छ ।
ममी कम्पनीमा काम गर्ने रोन टेमु नाम गरेका एक व्यक्तिले भने, ‘प्राचीन इजिप्टमा ममी बनाउँदा शरीरलाई सुकाउने गरिन्थ्यो तर हामी ठीक उल्टो गर्छौँ । ७० दिनसम्म शरीरलाई ओसिलो बनाउँदा हजारौँ वर्षसम्म शरीर सुरक्षित हुन्छ ।’ मर्ने बेलामा मानिस अथवा जनावर जस्तो हुन्छ, उनीहरुको ममी ठ्याक्क त्यस्तै हुने गरेको रोन बताउँछन् । कतिपय मानिसले घरपालुवा जनवारको ममी बनाएर घरमै राखिसकेका छन् । (डेलिमेल)

प्रतिक्रिया