फागुका नवरङ्ग, आचार्यका सँग

रामवरण यादव
त्यसो त जीवन, कोइराला गुणगानमा बिताएँ
भाग्य पल्टेर बेइमानको कुर्सीमा बस्न पाएँ
जसोतसो संविधान बनाउन पाए हुन्थ्यो
इतिहासमा सुनौलो अक्षरमा नाम लेखाउन पाए हुन्थ्यो ।
पुष्पकमल दाहाल
को हो यो देशको वास्तविक राष्ट्रपति ?
यादवजी, वा प्रचण्ड प्रतापी भूपति ?
हाल देशमा मेरो मुठ्ठीको सरकार छ
त्यसैले स्वतः म नै भएँ जनताको राष्ट्रपति ।
बाबुराम भट्टराई
एकातिर प्रचण्ड उकालो
अर्कोतिर वैद्यको डरलाग्दो ओरालो
मलाई त फिटिक्क क्यै गर्नै दिएनन्
बित्नै लाग्यो मुस्किलले पाको पिएमको पालो ।
सुशील कोइराला
मसान कुर्दा–कुर्दा बल्ल सभापतिको कुर्सी पाएँ
कति सजिलोसँग देउवा भन्छ, म कुर्सी तान्न आएँ
कस्तो मूर्ख गोरु रो’छ, भन्छ
फुक्लेको सिङ लिएर लौ म त हान्न आएँ ।
शेरबहादुर देउवा
सुशील दा’ आँपको बूढो रूख हो
फल्दा पनि फल्दैन, ढल्दा पनि ढल्दैन
गाई ओगटेर बसेको बूढो साँढे हो
हट्दा पनि हट्दैन, चढ्दा पनि चढ्दैन ।
झलनाथ खनाल
म झलनाथलाई, ढलनाथ बनाइदिए
हुँदाहुँदा थप्पडसमेत ख्वाइदिए
यो जुनीमा एक पटक प्रम भा’ कै हो
माकुनेले खुट्टा तान्दा, च्यापुले माटो खा’कै हो ।
जयप्रकाशप्रसाद गुप्ता
सञ्चारमन्त्री हुँ, जसरी पनि चर्चामा आउनुपर्छ
प्रत्येक डिलिङमा मैले भाग पाउनुपर्छ
भन्छन्, कालो खानेले कालो हग्नैपर्छ
देश सेवाको नाउँमा जनता ठग्नैपर्छ ।
विजयकुमार गच्छेदार
पहिले पनि अपराध हुन्थे, तर जथाभावी
गृहमन्त्री पालोमा हुने जति सबै सुनियोजित
गृहमन्त्री भएपछि राम्रो व्यवस्था मिलाइदिएँ
अब सबै अपराध हुन्छन्, नियोजित र व्यवस्थित
ज्ञानेन्द्र शाह
म हुँ एउटा अभागी पूर्व राजा
मेरै पालामा खायो, भूतले खाजा
म आफूलाई निकै बाठो ठान्थेँ
सबै मिलेर बजाइदिए मेरो बैन्डबाजा ।

प्रतिक्रिया