होलीले लियो ज्यान

काठमाडौँ, २४ फागुन । यसपालिको फागु पर्वले काठमाडौँका दुई परिवारलाई शोकमा डुबाएको छ । फागु खेल्ने क्रममा बुधबार एक बालक र एक किशोरीको छतबाट खसेर मृत्यु भयो ।
गोठाटार गाविस–८ मा साथीहरूसित होली मनाइरहेकी १९ वर्षीया सिम्रन कार्की तीन तलामाथिको छतको पर्खाल भत्किएर तल खसेकी थिइन् । गम्भीर घाइते अवस्थामा उनलाई ग्वार्कोस्थित बिएन्डबी अस्पताल लगिएको थियो । चोट गहिरो भएकाले डाक्टरहरूले ज्यान बचाउन सकेनन् । उनी ग्वार्कोस्थित हिमालयन नर्सिङ कलेजमा स्टाफ नर्स दोस्रो सेमेस्टरमा अध्ययनरत थिइन् ।
‘सडकमा हिँड्नेहरूलाई पानी छ्याप्न छतमा गएका थियौँ,’ सिम्रनसँगै होली खेलेकी साथी सञ्जिता भुजेलले भनिन्, ‘हामीले हेर्दाहेर्दै सिम्रन त एकैचोटि तल खसिन् ।’ होली खेल्ने योजनासाथ सिम्रन अघिल्लै दिन क्याम्पसबाट मिल्ने साथी सञ्जिता, सीमा सुवेदी र रोजी डङ्गोललाई लिएर घर गएकी थिइन् ।
मङ्गलबार बेलुकी र बुधबार बिहानको खाना सिम्रनले नै बनाएकी थिइन् । करिब नौ बजे खाना खाएपछि उनीहरू टिभी हेरेर बसिरहेका थिए । त्यति नै बेला सडकमा होहल्ला सुनियो । सिम्रन उठिन् र झ्यालबाट चियाइन् । सडकमा केही मानिस झुम्मिएको देखेपछि उनीहरू पानी खन्याइदिने तयारीमा लागे ।
बिहान करिब १०.३० बजे बाल्टिनमा पानी बोकेर छततर्फ लागे चारैजना । सबैभन्दा अघि रहेकी सिम्रनले हातमा जग बोकेकी थिइन् । उनी बाल्टिनको पानी उघाएर सडकमा झुम्मिएकाहरूलाई हान्न दौडिइन् । बाल्टिनमा पानी बोकेका अरू तीनजना भने बल्ल छतको ढोकासम्म पुग्दै थिए । सिम्रनले जगको पूरै पानी सडकमा खन्याइन् । मख्ख पर्दै उनी पर्खालमा अडेस मात्रै के लागेकी थिइन्, पर्खालसँगै एकैचोटि सडकमा खसिन् ।
आँसु पुछ्दै सञ्जिताले भनिन्, ‘हामी अत्तालिँदै तल पुग्दा उनको टाउकोबाट रगतको धारो छुटिरहेको थियो ।’ घटनास्थलमा अझै रगतको भल ओभाएको छैन ।
छतमा तीन दिनअघि मात्रै पर्खाल लगाइएको थियो । पर्खाल राम्रोसँग सेट नभएकाले भत्किन पुगेको हो । सिम्रन बुबा गोपाल कार्की र दिदी सरस्वती कार्कीसँगै बस्ने गर्थिन् । घटना भएको दिन दिदी सरस्वती आमासँगै बस्न दोलखाको जिरी पुगेकी थिइन् ।
यसैगरी, काठमाडौँको भद्रकाली–६, हात्तीगौँडाका बालक जेनिस श्रेष्ठको पनि होली खेल्ने क्रममा मृत्यु भएको छ । साथीकामा होली खेल्न गएका उनी एकतले घरको छतबाट खसेका थिए ।
जेनिसका मामा ताराभक्त श्रेष्ठका अनुसार तीन साथीबीच पानी छ्यापाछ्याप हँुदा उनी छतबाट खसी घाइते हुन पुगे । महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएका उनको उपचारका क्रममा बुधबार दिउँसो २.१० बजे मृत्यु भयो । जेनिस भानुभक्त मेमोरियल स्कुलमा कक्षा तीनमा अध्ययनरत थिए ।

६ जना घाइते
होली मनाउने क्रममा सावधानी नअपनाउँदा उपत्यकामा ६ जना घाइते भएका छन् । घाइते हुनेमा काठमाडाँै महानगरपालिका–४ का १५ वर्षीय विवेक पौडेल, शङ्खमूल बस्ने मकवानपुर हर्नामनी–७ का १० वर्षीय साहिल पाठक, कलङ्की बस्ने ओखलढुङ्गाकी ६ वर्षीया सुजिता बुढाथोकी, पेप्सीकोलाका महेश शर्मा र कलङ्कीका १५ वर्षीय संयोग श्रेष्ठ छन् । त्यसैगरी, भक्तपुर सूर्यविनायक बस्ने काभ्रे भीमफेदी–४ का पाँच वर्षीय सुजन थापामगर पनि घाइते भएका छन् ।
सडकमा लडेर घाइते भएकी सुजिताको बिएन्डबी अस्पताल ललितपुरमा उपचार भइरहेको छ । संयोग भने खुकुरी प्रहारका कारण घाइते भएका हुन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । शाही शङ्खमूलस्थित एकतले घरबाट खसेका हुन् । उनको निजामती अस्पताल बानेश्वरमा उपचार भइरहेको छ । महेश आफँैले चलाएको बा.२५प ३०८ नम्बरको मोटरसाइकल दुर्घटनामा घाइते भएका हुन् । उनको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ ।

६ सय ६५ पक्राउ
इच्छाविपरीत सर्वसाधारणलाई रङ तथा लोला हान्ने ६ सय ६५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये १० जना महिला छन् ।
प्रहरीले राजधानीका बालाजु, स्वयम्भू, गोंगबु, कमलपोखरी, दरबारमार्ग, गौशाला, तिलिङटारलगायत क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो । एउटै मोटरसाइकलमा तीनजना चढ्ने तथा मादकपदार्थ सेवन गरी मोटरसाइकल चलाउनेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार राजधानीका विभिन्न स्थानबाट एक सय ४१ वटा मोटरसाइकल र चारवटा गाडी नियन्त्रणमा लिइएका छन् ।

होलीको रङ (फोटो फिचर)
फोटोः देबकी विष्ट, काठमाडौं ।

प्रतिक्रिया