रङको पर्व होली मनाईदै

काठमाडौं, २४ फागुन । आपसी सदभाव, मेलमिलाप र खुसी साटासाट गरी आज काठमाडौ उपत्यका सहित देशका पहाडी जिल्लामा धुमधामसँग होली पर्व मनाइदैछ ।
रंगहरुको पर्व भनिने होलीमा परिवार, इष्टमित्र तथा साथीभाई बीच एक आपसमा विभिन्न रंगहरु दलेर खुसियाली साटासाट गर्ने गरिन्छ । तराईका जिल्लामा होली पर्व भोलि मनाइन्छ ।
असत्यमाथि सत्यको विजयको प्रतिकका रुपमा हरेक वर्ष फागुन शुक्ल पूणिर्माका दिन मनाइने होली पर्वमा विजयको उमंगका रुपमा रंग खेल्ने गरिन्छ । दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोबाट नजल्ने बरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आँफै भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेकाले असत्यको बध भएको दिनको सम्झनामा होली मनाइने गरिएको धर्मशास्त्रहरूमा उल्लेख छ । अधर्मी होलिकालाई आगोले डढाएको स्मरणस्वरुप होलीमा चीरदहन गर्ने र खरानी सरीरमा लगाउने चलन पनि छ ।
काठमाडौमा फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा मयलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिगारी, गाडिएको चीरमा पूजाआजा गरेपछि सुरु भएको फागुको भोली विहान चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुडिखेलमा लगेर दाह गरेपछि समापन हुन्छ ।

प्रतिक्रिया