युद्धगर्छु भन्नु माओवादीको धम्कि मात्रैः कोइराला

विराटनगर २३ फागुन । कांग्रेस सभापति  सुशील कोइरालाले माओवादीले युद्धमा फर्कन्छु भन्नु दलहरुलाई धमकाउनु मात्रै रहेको बताएका छन् । उनले अब माओवादी ठूलो आन्दोलनको पक्षमा नरहेको बताए ।
सुनसरीको इटहरीमा आज मधेस जागरण तथा पूर्वाञ्चल क्षेत्रीय प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै कोइरालाले जनसंविधानको वखेडा झिकेर माओवादीले संविधान वनाउने काममा अवरोध गरिरहेको आरोप लगाए । उनले भने, ‘माओवादी आफ्नो सर्वसत्तावाद लादने प्रयास गरिरहेको छ ।’
उनले  शान्ति प्रकृया र संविधान निर्माणका लागि सबै पार्टी गम्भिर हुनुपर्नेमा जोड दिए ।
उनले जातीयताका आधारमा संघीयता बनाए त्यसले देशलाई टुक्राउने चेतावनी दिएका छन् । उनले कांग्रेस जातीय राज्यका पक्षमा नरहेको बताए ।
प्रशिक्षणमा पूर्वाञ्चलका ५६ निर्वाचन क्षेत्रबाट दुुई जनाका दरले महाधिवेशन प्रतिनिधिहरु सहभागी छन् । दुई दिनसम्म चल्ने प्रशिक्षणमा कांग्रेसको नीति तथा कार्यक्रम, राज्य पुनसंरचनालगायतका विषयमा विज्ञहरुले प्रशिक्षण दिने छन् ।

प्रतिक्रिया