घरजग्गा कर्जा घट्यो

काठमाडौं, २२ फागुन । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा घरजग्गा कर्जा पाँच अर्ब ४६ करोड रुपियाँले घटेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म जग्गा–जमिन खरिद कर्जालाई १० प्रतिशतमा र कुल घरजग्गा कर्जालाई २५ प्रतिशतमा ल्याउन निर्देशन दिएपछि यस क्षेत्रमा कर्जा बढाउन बैंकहरू अनिच्छुक भएकै कारण घरजग्गा कर्जा घटेको हो ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा घरजग्गा कर्जा ६७ अर्ब ९१ करोड ९५ लाख रुपियाँमात्र प्रवाह भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा घरजग्गा कर्जा ७३ अर्ब ३८ करोड ७५ लाख रुपियाँ थियो ।
विगतमा घरजग्गा क्षेत्रमा बैकका कर्जा केन्द्रित भएपछि जग्गाको मूल्य  कृत्रिमरूपमा अकासिएको थियो । मूल्य अकासिएपछि राष्ट्र बैंकले एकै क्षेत्रमा मात्र कर्जा लगानी केन्द्रित नगर्न निर्देशन जारी गरेको हो । राष्ट्र बैंकको निर्देशनपछि कृत्रिम रूपमा अकासिएको जग्गाको मूल्य बढ्ने क्रम रोकिएको थियो । आफ्नै बसोबासका लागि भन्दा पनि दु्रततर गतिमा बढेको जग्गाको मूल्यबाट फाइदा लिनमात्र घरजग्गामा लगानी बढेकाले राष्ट्र बैंकले बैंकको लगानी डुब्न नदिन घरजग्गामा सीमा तोकेको केन्द्रीय बैंकका एक अधिकारीले बताए ।
कुल कर्जाको ५० प्रतिशतसम्म घरजग्गा क्षेत्रमा लगानी गरेका बैंक तथा वित्तीय संस्थाले बिस्तारै यस क्षेत्रमा कर्जा लगानी घटाउँदै लगेका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्याङ्कमा वाणिज्य बैंकहरूको घरजग्गा क्षेत्रमा कुल कर्जाको १२ दशमलव २९ प्रतिशतमात्र कर्जा प्रवाह भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा घरजग्गा क्षेत्रको कर्जा १४ दशमलव ५६ प्रतिशत थियो । पछिल्लो ६ महिनाको तथ्याङ्कअनुसार सबै वाणिज्य बैंकको घरजग्गा कर्जा २५ प्रतिशतभन्दा कम
रहेको छ ।
यस्तो कर्जा सबैभन्दा बढी डिसिबिएल बैंकको २४ दशमलव ७५ प्रतिशत रहेको छ । प्रतिशतका आधारमा घरजग्गा क्षेत्रमा सबैभन्दा बढी कर्जा दिने बैंकमा किस्ट, सिद्धार्थ, प्राइम कमर्सियल र नेपाल इन्भेस्टमेन्ट बैंक रहेका छन् । कुल कर्जाको ३२ दशमलव १५ प्रतिशत घरजग्गा क्षेत्रमा ऋण प्रवाह गरेको डिसिबिएल बैंकले सो कर्जालाई घटाएर २४ दशमलव ७५ प्रतिशतमा पुरायाएको छ भने सनराइज बैंकले २५ प्रतिशतमा रहेको घरजग्गा कर्जालाई घटाएर २० प्रतिशतमा झारेको छ । कुल ३१ बैंकमध्ये १९ बैंकले घरजग्गा क्षेत्रको कर्जा घटाएका छन् । विगतमा घरजग्गा क्षेत्रमा केन्द्रित नभएका वाणिज्यबैकहरूले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा यस क्षेत्रतर्फको कर्जामा वृद्धि गरेका छन् । हिमालयन, एभरेस्ट, कृषि विकास, राष्ट्रिय वाणिज्य बैंक जस्ताले घरजग्गा क्षेत्रको कर्जामा वृद्धि गरेका हुन् । घरजग्गा क्षेत्रमा तुलनात्मक रूपमा कम कर्जा लगानी गरेका यी बैंकले तरलता अभावको समयमा पनि राम्रो कारोबार गरेका थिए ।

प्रतिक्रिया