यौनमा नयाँपनका लागि…

सुखद दाम्पत्य जीवनका लागि सन्तुष्टिदायक यौनसम्बन्ध पनि एउटा महत्वपूर्ण आधार हो । पारस्परिक यौनसुखको अभावमा कैयौं वैवाहिक सम्बन्ध तोडिएका उदाहरण हाम्रा सामु प्रशस्तै छन् । कामको व्यस्तता अनि अन्य परिश्रमका कारण आफ्नो यौनसाथीका चाहनातिर ध्यान दिने फुर्सद नपाउनेहरूको सम्बन्ध टुक्रिने गरेको पाइन्छ । तर, तपाईंले बिर्सनु हुँदैन, यौनसम्बन्ध पनि सुखद दाम्पत्य जीवनको महत्वपूर्ण पक्ष हो । जसलाई बेवास्ता गर्दा जीवनको रथ एक्लै गुडाउनुपर्ने हुन सक्छ । यदि तपाईंलाई आफ्नो यौनजीवन दिक्कलाग्दो लाग्न थालेको छ र यसलाई थप रङ्गीन बनाउन चाहनुहुन्छ भने तलका बुँदामा ध्यान दिनुस् ।
¨    तपाईं आफ्नो पार्टनरका अगाडि कत्तिको लजाउनुहुन्छ । नलजाउनूस्, किनकि तपाईंको पार्टनर एक मात्र त्यस्तो व्यक्ति हो, जो तपाईंका आन्तरिक कुरासँग पूरै परिचित हुन्छ । तपाईंका कुनै कुरा लुक्दैनन् । उसका अगाडि सकेसम्म रोमान्टिक हुन खोज्नुस्, तपाईंहरूलाई सुखद अनुभूति गराओस् । बेडरुममै सही, आपसमा सामान्य डान्स गर्न नहिचकिचाउनुस् । यसले तपाईंहरू बीचको सुखद यौनसम्बन्धका लागि मार्गप्रशस्त गरिरहेको हुन्छ । शारीरिक एवम् मानसिक किसिमले तयार बनाइरहेको हुन्छ ।
¨    कपडामा पनि ध्यान दिनुस् । पतिले चिटिक्क पर्ने बहानामा बेडरुममा पनि कार्यालयमा लाउने शैलीका कपडा लाउनुको अर्थ हुँदैन । सकेसम्म हल्का पहिरन लगाउनुस् । तपाईंका भित्री पहिरन पनि आकर्षक हुन आवश्यक छ । पत्नीले पनि आफ्नै मान्छे त हो नि भनेर किचेनमा लगाउने कपडा लगाउनुले कुनै आकर्षण थप्दैन । सकेसम्म आकर्षक रङका अनि टलक्क टल्किने पहिरन लगाउनुस् । तपाईंहरूले लगाउने भित्री कपडाले पनि यौनचाहना बढाउन भूमिका खेलिरहेको हुन्छ ।
¨    यौनसम्बन्धका क्रममा सधैँभरि एउटै यौनआसन, उही बेड अनि उही वातावरणले सम्बन्धमा नयाँपनको अभाव दर्साइरहेका हुन्छन् । माहोल दिक्क लाग्दो हुन पुग्छ । त्यसको सट्टामा नयाँ–नयाँ यौन आसनको प्रयोग गर्नुस् । मधुरो रोमान्टिक म्युजिक अनि हल्का क्यान्डल लाइटले तपाईंहरूको मुडलाई थप रोमाञ्चक बनाइदिन्छ । बेडमा राता गुलाफहरू पनि छरिएको अवस्था आफैँ कामोत्तेजक हुन पुग्छ ।
¨    यौनका बारेमा तपाईंका नयाँ–नयाँ कल्पनाले वैवाहिक सम्बन्धका हरेक दिनलाई नयाँपन दिइरहेका हुन्छन् । तपाईंको साथीलाई भान पर्न दिनुस्, तपाईं यौनमा नयाँ–नयाँ शैलीको पारखी हुनुहुन्छ, ताकि पार्टनरलाई तपाईंको इच्छा बुझ्न सजिलो होस् र त्यहीअनुसार साथ दिन सकुन् ।

प्रतिक्रिया