विपीन र सीताराम

विपीन र उसको परिवार प्रत्येक वर्ष हिउँदमा तराई जाने गर्थे । उनीहरूको पुख्र्यौली घर मोरङ जिल्लाको सुन्दरपुर भन्ने ठाउँमा थियो । विपीनलाई तराईको घर जान औधि रमाइलो लाग्थ्यो । त्यहाँ उसका मिल्ने साथीहरू सीताराम, हरिबोल र बुधराम थिए । ऊ साथीहरूसँग खेल्न टाढाटाढा जङ्गल, खेतका गराहरू र खोलानालातिर जाने गथ्र्यो । काठमाडाँमा हुँदा ऊ घरदेखि विद्यालयबाहेक जान पाउँदैनथ्यो । कहिलेकाहीँ मात्र बुबाआमासँग बालउद्यान, चिडियाखाना र बजारतिर जान पाउँथ्यो । काठमाडौँमा तराईजस्तो घुम्ने ठाउँ थिएन, त्यसैले तराई जाने भन्नेबित्तिकै उसका मनमा हर्षका लड्डु फल्ने गर्दथे ।
विपीन अहिले कक्षा आठमा पुगेको थियो । ऊ आफू ठूलो मान्छे भएको महसुस गथ्र्यो । विद्यालयमा सिकेका नयाँ–नयाँ ज्ञानले उसलाई यस्तो महसुस गराएको थियो । आफूलाई धेरै कुरा थाहा भएजस्तो सोच्थ्यो । आफ्ना देशका बारेमा नयाँ–नयाँ कुरा जान्न उत्सुक पनि भइरहन्थ्यो । शिक्षकबाट उसले देशको भौगोलिक अवस्था, इतिहास, जातजाति, रहनसहन, भेषभुषा, चाडपर्वबारे धेरै कुरा थाहा पाएको थियो । यसरी पढेका कुरा, विपीन तराई घर गएको बेला देख्न पाउँथ्यो ।
विपीन, बुबा र आमा काठमाडौँबाट दिउँसोको बस चढेर तराईतिर लागे । बाटामा उसले डाँडाकाँडा, खोलानाला, बेँसी, फाँटहरू देख्यो । पहाडको बाटो सकिएर तराईको सम्मपरेको फाँटमा आइपुग्दा त्यहाँका मानिसको अनुहार, लवाइ, र बोलाइको लवज नै फरक पायो । तराईमा साह, झा, थारू, मुसलमान, चौधरी, सतार, धिमाल, अग्रवाललगायत विभिन्न जातजातिका मानिससँग उसको भेट भएको थियो । गर्मी हुने हुनाले त्यहाँका मानिस पातलो कपडा लगाउने गर्थे ।
हेर्दाहेर्दै उनीहरू आफ्नो घर सुन्दरपुर आइपुगे । सुन्दरपुरमा विपीनका हजुरबुबा र हजुरआमा बस्नुहुन्थ्यो । घर आइपुगपछि विपीन सबभन्दा पहिला आफ्ना साथीहरू सीताराम, हरिबोल, बुधरामलाई भेट्न गयो । अहिले सीतारामचाहिँ उसको घरमै काम गर्न बसेको थियो । उसलाई यो देखेर नरमाइलो र अचम्म लाग्यो । बेलुका खाना खाइसकेपछि सीतारामले जुठाभाँडा टिपेर लग्यो र माझेर ल्यायो । विपीनलाई ठीक लागेन । ऊ र सीताराम एउटै उमेरका थिए ।
उसले सुत्ने बेलामा बुबालाई सोध्यो, ‘बुबा, सीताराम हाम्रो घरमा किन काम गर्न बसेको ?’
विपीनको बुबाले भन्नुभयो, ‘हो, गाउँमा यस्तै चलन हुन्छ ।’
विपीनले फेरि भन्यो, ‘बुबा मलाई सीताराम हाम्रो घरमा काम गर्न बसेको पटक्कै मन परेको छैन । उसलाई पढ्न दिनुपर्छ । म हजुरबुबासँग कुरा गर्छु ।’
बुबाले भन्नुभयो, ‘गर न तिम्रो हजुरबुबासँग कुरा, के भन्नुहुँदो रहेछ ।’
उसलाई सीताराम पनि पढ्न स्कुल गए हुन्थ्यो भन्ने लागेको थियो ।
बिहान उसले हजुरबुबासँग भन्यो, ‘बुबा सीतारामलाई पढ्न दिनुपर्छ, किन काममा लगाउनुभएको ? यो ठीक भएन जस्तो लाग्यो मलाई ।’
हजुरबुबाले हाँस्दै भन्नुभयो, ‘हेर नाति उसलाई पढ्न नदिएको कहाँ हो र ? बरु ऊ नै पढ्न मन गर्र्दैन । दिनभर बरालिएर हिँड्छ । अनि, उसको बुबाले यहाँ काम गर्न राखेको छ । उसको बुबाले पैसा पनि पाउँछ ।’
विपीनलाई सीताराम पढ्न किन नगएको होला भनी अचम्म लाग्यो ।
उसले फेरि भन्यो, ‘हजुरबुबा म उसलाई स्कुल जान मनाउँछु है ।’
हजुरबुबाले भन्नुभयो, ‘ठीक छ, ऊ स्कुल जान मन गर्छ भने म मेरो घरमा काम गर्न लगाउँदिनँ । आखिर म पनि स्कुलको सञ्चालक समितिको अध्यक्ष हुँ नि, मलाई उसलाई काम लगाउन कहाँ मन छ र ?’
हजुरबुबाको यस्तो कुरा सुनेर विपीन खुसी भयो । सीतारामलाई स्कुल जान मनाउने विचार ग¥यो । दिउँसो सबै जनाले खाना खाइसकेपछि उसले सीतारामलाई खेल्न बोलायो । अनि भन्यो, ‘सीतु तँ स्कुल पढ्न किन जाँदैनस् ? मैले मेरो हजुरबुबालाई कुरा गरेको छु । तँ स्कुल गइस् भने काममा लगाउनु हुन्न रे । ’
सीतारामले अँध्यारो अनुहार पार्दै भन्यो, ‘विपीन मालिक, हामी गरिब छौँ, हाम्रो जात थारू हो । हामीले अरूको मजदुरी गरेर पेट भर्न पर्छ । स्कुल गएर के गर्नु, घरमा लेख्ने कलम हुँदैन, कापीकिताब केही हुँदैन । घरमा पढ्नलाई वातावरण हुँदैन । बुबा बेलुका रक्सी पिएर आउनुहुन्छ, घरमा सधँै झगडा हुन्छ । घरमा कति छाक खाना नखाई भोकै सुत्नुपर्छ । भोको पेट कहाँ पढ्न मन लाग्छ र ? हजुर नै भन्नुहोस् न् ।’
विपीनले आफूलाई बुबाआमाले पढ्दाखेरी माया गरेको सम्झ्यो । त्यसैले ऊ चुप लागेर बस्यो । सीतारामले फेरि भन्यो, ‘मालिकको घरमा म खान पाउँछु । बुबाको गाली पनि खानु पर्दैन, त्यसैले हजुरकै घरमा बस्छु ।’ आफ्नो योजना विफल भएकोमा विपीन दुःखी भयो । ऊ केही बोल्न सकेन ।
भोलिपल्ट, उनीहरू खेतमा भैँसी चराउन जाने भए । सीताराम भैँसीमाथि चढेको थियो भने विपीनचाहिँ साइकलमा चढेको थियो । उनीहरू दुवै हाँस्दैखेल्दै थिए । कहिले विपीन साइकलमाथि चढ्थ्यो भने कहिले सीताराम अनि कहिले विपीन भैँसीमाथि चढ्थ्यो भने कहिले सीताराम । यसरी उनीहरू खेल्दै रमाउँदै गर्न लागे । विपीनले साइकल चलाउँदा–चलाउँदै साइकलको चेन फुस्कियो । ऊ चेन बनाउन आलीमा टुक्रुक्क बस्यो । आलीमा बसेर बनाउँदा–बनाउँदै त्यहाँ कतैबाट एउटा गोमन सर्प आयो । गोमन सर्पले विपीनलाई टोक्यो । विपीन जोडले चिच्यायो, ‘सर्प …ऽ..  ।’ सीताराम दौडँदै आयो । यतिन्जेल सर्प भागिसकेको थियो । उसले आफूले लगाएको गन्जी खोलेर च्यात्यो अनि सर्पले टोकेको ठाउँभन्दा केही माथि बेस्सरी बाँधिदियो । वरिपरि सहयोगका लागि कोही मानिस थिएनन् । सीताराम अत्यन्त चिन्तित बन्यो । उसले विपीनलाई भन्यो, ‘तपाईंलाई केही हुन्न मालिक, म तपाईंलाई जसरी भए पनि घरमा पु¥याउँछु ।’
सीतारामले विपीनलाई घर पुरायाउने जुक्ति निकाल्न थाल्यो । उसलाई मुस्किलले बोकेर भैँसीमाथि चढायो । अनि, भैँसीलाई नत्थीमा समाएर तान्दै तान्दै घरतर्फ लग्यो । नभन्दै एकछिनपछि ऊ घरको छेउ आइपुग्यो । भैँसीलाई त्यहीँ छोडेर दौडँदै ऊ सबैले सुन्ने गरी जोडले चिच्यायो— ‘विपीन मालिकलाई सर्पले टोकेको छ ।’
घरका सब जना आत्तिँदै विपीनलाई तुरुन्त डाक्टरकहाँ प¥ुयाए । डाक्टरले उसलाई स्लाइन पानी दिए अनि सुई लगाइदिए । सीतारामले सर्प चिनेको हुनाले डाक्टरलाई औषधि चलाउन सजिलो भयो । औषधिले काम ग¥यो । उसलाई केही भएन । चौबीस घन्टापछि उसलाई डाक्टरले घर जाने अनुमति दिए । विपीनको ज्यान बचेकोमा घरका सबैजना खुसी भए । सीतारामले साहसपूर्वक विपीनलाई घर नल्याएको भए के हुन्थ्यो, भन्न सकिन्नथ्यो । सबैले सीतारामलाई धन्यवाद र स्याबासी दिए ।
भोलिपल्ट गाउँको स्कुलमा अभिभावक दिवसको कार्यक्रम थियो । विपीनका हजुरबुबा त्यो विद्यालयको सञ्चालक समितिका अध्यक्ष भएका नाताले मञ्चमा बसेका थिए ।
उनले आफूले बोल्ने बेलामा नाति विपीन र सीतारामलाई मञ्चमा बोलाए । सीतारामले अघिल्लो दिन विपीनको ज्यान जोगाएको घटना सबैलाई सुनाए । उनले भने, ‘म आजदेखि सीतारामलाई मेरो अर्को नाति सम्झन्छु । उसलाई मेरो घरमा काम गर्न होइन, पढ्न राख्छु । उसलाई सबै सुखसुविधा दिएर राख्छु र मेरो खर्चमा पढाउँछु । मेरो नातिजस्तै ठूलो मान्छे बनाउँछु ।’
विपीनका बुबाले यति भनेपछि सभाका सब मानिसले थपडी बजाए । मञ्चमा विपीन र सीताराम अँगालो मार्दै आँखाबाट खुसीका आँसु झारिरहेका थिए ।

प्रतिक्रिया