बैठक बिथोल्न माओवादी सक्रियः एमाले

काठमाडौं, २० फागुन । नेकपा (एमाले)ले एकीकृत माओवादी र उसका पूर्व लडाकुहरु आफ्नो राष्ट्रिय प्रतिनिधि परिषद बैठक बिथोल्न लागिपरेको आरोप लगाएको छ ।
भोलिदेखि काठमाडौंमा हुन लागेको परिषद बैठकको जानकारी गराउन पार्टी मुख्यालय बल्खमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष झलनाथ खनालले बैठकमा अबरोध गर्न माओवादी र उसका पूर्व लडाकुहरु सक्रिय रहेको आरोप लगाए । उनले धादिङ, चितवन, मकवानपुर, काभ्रेलगायतका जिल्लाबाट काठमाडौं आउने क्रममा रहेका एमाले कार्यकर्तालाई रोक्ने माओवादी कार्यकर्ताले दुस्साहस गरेको आरोप लगाए ।
अध्यक्ष खनालले प्रतिनिधि परिषद बैठकमा आउन नदिन माओवादी र उसका पूर्व लडाकुले बिभिन्न जिल्ला र स्थानमा आबरोध गरेका बिषयमा प्रमुख तीन दलको शीर्ष बैठकमा समेत कुरा राखेको बताए ।
यसैवीच, एमाले अध्यक्ष खनालले राष्ट्रिय प्रतिनिधि परिषद बैठकले माओवादीको अधिनायकवाद र कांग्रेसको यथास्थितिवादलाई सहि दिशामा ल्याउन सहयोग गर्ने दाबी गरेका छन् । उनले भने, ‘प्रतिनिधि परिषद बैठकले शान्ति र संविधानलाई पनि सहयोग मिल्छ ।’
प्रतिनिधि परिषद बैठकको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका अध्यक्ष खनालले एमालेलाई मुलुकको ठूलो पार्टीका रुपमा स्थापित गर्न बैठकले सहयोग मिल्ने बताए । उनले संविधान सभा निर्वाचनमा केही कमजोरीले गर्दा तेस्रो पार्टी भएको भन्दै अब पहिलो भएर देखाउने बताए ।
एमालेले भोलि आईतबारदेखि काठमाडौंमा गर्न लागेको पहिलो प्रतिनिधि परिषद बैठकमा लाखौ समर्थक उर्ताने दाबी गरेको छ । बैठकका लागि राजधानीका सडक, गल्लि, चोक र सडकमा व्यापक प्रचार प्रसारका सामाग्री राखिएका छन् ।

प्रतिक्रिया