‘शीर्ष तहमा महानिर्देशनालयमा कुरा मिलेन’

काठमाडौं, २० फागुन । एकीकृत माओवादीले महानिर्देशनालयमा आफ्नो प्रतिनिधित्वको दाबी गरेपछि प्रमुख तीन दलका शीर्ष नेताको बैठक बिनाकुनै निष्कर्ष सक्किएको छ ।

कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा आज बिहान बसेको बैठकमा सेना समायोजनका बिषयमा दलहरुबीच सहमति हुन नसकेको हो । एमाओवादीले लडाकु राखिने महानिर्देशनालयमा आफ्नो प्रतिनिधित्व रहनुपर्ने प्रस्ताव गरेपछि कांग्रेस र एमालेले बिरोध जनाएका थिए । बिगतका सहमति उलंघन हुने गरेर माओवादीले महानिर्देशनालयमा आफ्नो प्रतिनिधित्वको नयाँ माग गर्नु जायज नहुने कांग्रेस र एमालेको धारणा छ ।

बैठक पछि कांग्रेस नेता अर्जुन नरसिंह केसीले माओवादी लडाकुको समायोजन बिगतका सहमति अनुसार हुने बताए । उनले महानिर्देशनालयमा माओवादी प्रतिनिधित्वको कुरा मान्न नसकिने जनाएका छन् ।

एकीकृत माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताबीच समायोजन हुने लडाकुको दर्जा मिलान, तह निर्धारण लगायतमा छलफल भएपनि कुनै सहमति हुन सकेन । माओवादीले महानिर्देशनालयमा दोस्रो तहमा लडाकुले प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै आएपनि त्यसको बिरोध हुँदै आएको छ ।

एमाले अध्यक्ष झलनाथ खनालले माओवादी लडाकुको समायोजन सात बुँदे सहमतिका आधारमा हुने भन्दै त्यो भन्दा बाहिर गएर समायोजन गर्न नसक्ने बताए ।
पछिल्लो समय बाक्लै छलफल गर्दै आएका प्रमुख दलका शीर्ष नेताहरुले शान्ति, संविधान र आयोग बनाउने बिषयमा जिम्मेवारी समेत बाँडफाँड गरिसकेका छन् । एकीकृत माओवादीले शान्ति प्रक्रिया र लडाकु समायोजन, कांग्रेसले छानबिन तथा मेलमिलाप आयोग गठन एवम एमालेले संविधानका बिवादित बिषयमा सहमति खोज्ने सहमतिको प्रस्ताव यस अघि नै पेश गरिसकेका छन् ।

शीर्ष नेताले तयार पारेका सहमतिको प्रस्तावमा प्याकेजमा निकास खोज्ने भन्दै बैठकहरु बसेपनि कुनै ठोस सहमति हुन सकेका छैनन् । बिवादित बिषयमा सहमति हुन नसक्दा संविधान निर्माणको बिषय ठप्प रहेको छ ।

बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराईका साथै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाललगायतका नेताहरुको सहभागिता रहेको थियो । अर्को बैठक भोलि एमाले अध्यक्ष झलनाथ खनालको निवासमा बस्ने सहमति भएको छ ।

प्रतिक्रिया