मत-विमत

पर्खाइ मृत्युको…

सौर्य अनलाइन २०६८ फागुन २० गते २:४३ मा प्रकाशित

प्रत्येक दिन देवघाटमा जलेको लास हेर्दाहेर्दै आधा दिन त्यसै बित्छ । चिसो दिन, चर्को घाम लागेको दिन, कुहिरोले डम्म ढाकेको दिन होस् वा अविरल पानी परिरहेको दिन, उनको जीवनका तीन दशक यसरी नै देवघाटमा लास हेर्दै र ओहोरदोहोर गर्दै बितेका छन् । यी देवघाटका यायावर छविलाल उपाध्याय उर्फ विज्ञानानन्द गिरीलाई जिन्दगी बुढेसकालको समयजस्तै गह्रौँ लागेको धेरै भइसक्यो ।
जिन्दगीमा चिन्ता केही छैन । खेती, कर्मकाण्ड, बन्दव्यापार, कमाइ, घाटा, नाफा, परिवार सबैबाट टाढा । आफन्त पराइ भइगए । न बुढेसकालको सहारा पाइनँ भन्ने अत्यास छ, न छ केहीको मोह । उमेरमा ज्ञान बटुले, गृहस्थी सम्हाले, एक होइन, दुई परिवार बेहोरे । पाँच सन्तान भए, अहिले सबै टाढा छन्, सम्बन्धहरू चिसा भए । ‘कसैको सम्झना आउँदैन, माया पनि लाग्दैन,’ गिरी भन्छन् । बरु मोह गएर जोडिएको छ, ‘भगवान् सम्झाउने वेद–वेदान्तका कुरामा ।’ अहिले हर्ष र विस्मात्देखि निकै पर छन् गिरी ।
उनले झिलिमिली लुगा त्यागेको धेरै भयो । पहेँलो धोती र ओढ्नेमा आफ्नो सन्न्यासी पहिचान खोजे । त्यति मात्रै होइन, वेद–वेदान्तमा जीवनको रस खोज्न थाले । जीवनका थुप्रै इन्द्रधनुषी रङहरूबाट टाढा उनी अहिले जीवनमा कुनै रङ देख्दैनन् ।
गिरी सन्न्यासी बनेर बसेको देवघाटनजिकको कुटीबाट दैनिक कयौँ लास जलाइएका दृश्य देखिन्छन् । ८० पुगेका विज्ञानानन्दलाई थाहा छ– आफ्नो पनि बाटो यही हो । शरीरका अवयव कमजोर भइसकेको महसुस गर्न थालेको धेरै भयो । तर, आपूmजस्ता कैयौँको अन्तिम विश्रान्तिस्थल बनेको देवघाटको नदीकिनारमा देखिने दृश्यले उनको मन रत्तिभर आत्तिँदैन । चिन्ताको आभास कहिल्यै भएन । ‘जन्ती, मलामी जो आए पनि मलाई उस्तै,’ उनी भन्छन् ।
ब्रम्हप्राप्ति गर्ने ध्याउन्नमा २८ वर्षदेखि धार्मिकस्थल देवघाटमा छन् उनी । उनका अनुसार जीवनमा पहिलो ज्ञान लिने उमेर २५ वर्षसम्म हो । घरगृहस्थी सम्हाल्न ५० वर्षसम्म, त्यसपछि तीर्थाटन र वनवास । यसैलाई जीवन–दर्शन माने । ‘यही जीवन सबैभन्दा प्यारो हो,’ उनकै गणनामा जीवनको तेस्रो तहमा हिँडिरहेका  गिरीलाई यो जीवनजति सुख कहिल्यै महसुस भएन रे ।
बिहान चार बजे गङ्गाजीको दर्शन । त्यसपछि ध्यान जप, अनि आश्रमले दिएको चिया । त्यसपछि सुरु हुन्छ वेद–वेदान्तको प्रवचन दिने कार्य । दिनभर आफूजस्तै सन्न्यासीसँग धर्म, संस्कृतिबारे विचार–विमर्शमा सामेल हुनु उनको दिनचर्या हो । जप र ध्यान जीवन बाँच्ने माध्यम बनेको छ ।
आपैmँले कमाएको ६० हजार रुपियाँ तिरेर देवघाटको गलेश्वर आश्रमको एककोठे कुटी आफ्नो बनाएका छन् । कास्कीमा जन्मेका छविलालले गाउँमै गुरु राखेर व्याकरण सिके । उमेरमै परिवार बोकेर चितवनको पूmलबारी झरे । यहाँ आएर आफ्नो बलबुताले भ्याएसम्म परिश्रम गरे । दुई परिवारलाई ‘पुग्ने’ कमाए । गृहस्थी चलाउन उनी भारत पुगेर पढाए, भैँसीको व्यापार पनि गरे । तर, ५० कटेपछि यी सबै सांसारिक बन्धनबाट मुक्ति खोज्न मन लाग्यो । त्यसपछिकै रोजाइ हो– देवघाट । हुन त उमेरले ६० काटेपछि भारतको हरिद्वार पनि पुगेकै हुन् । ‘उमेर नै छ भनेर सन्न्यासी राख्न मानेनन्,’ उतिबेला चाहना नमेटिएको सम्झँदै उनले भने, ‘मनैले गृहस्थी त्यागेपछि घरमा बस्ने रहर नहुने रै’छ ।’
एकबारको जुनीमा के पो देखेनन् ? ‘अब देख्न बाँकी केही छैन,’ उनी भन्दै थिए, ‘त्यही काल देख्नु छ, कहिले आउँछ कुन्नि ?’ संयुक्त राष्ट्रसङ्घ र सिङ्गो राष्ट्रले वृद्धवृद्धालाई अनमोल सम्पति मानेका बेला आफन्त र शुभेच्छुकबाट टाढा एक्लो जीवन जसोतसो धकेल्दै छन् उनी ।
सांसारिक जीवनदेखि मोहभङ्ग हुनाको खास कारण ? निकैबेरपछि बोले, ‘साँचो कुरो त, नानी छोराहरूको व्यवहार मन नपरेर हो ।’ कस्तो व्यवहार ? ‘छोराछोरीले भनेको मानेनन् । कुखुरा नपाल भनेको त्यही काम थाले । ‘आफ्ना जातले’ खान नहुने कुरामा रमाउन थाले । यही कुरो चित्त बुझेन र आफ्नै स्वादको जीवन रोज्न देवघाट आएँ,’ उनको कथा यस्तो छ ।
जीवनमा अब कुनै आस छैन, लालसा छैन र कसैको भरोसा पनि छैन । भरोसा छ भने केवल मृत्युको, एक दिन आई टप्प टिपेर लैजान्छ । पर्खाइ छ केवल मृत्युको ।
देवघाट वेणीको ठीक–माथि गलेश्वर आश्रमको २२ नम्बरको कुटीभित्र बस्दै उनी आफैँले रोजेको जीवनको स्वाद लिँदै छन् । ‘मितहारी, जितेन्द्रिय भए मात्रै मोक्ष प्राप्त गर्न सकिन्छ । त्यस्तो व्यक्तिले नै धर्म प्राप्त गर्छ । अनि, प्रकृतिभन्दा माथिको ब्रम्ह प्राप्त गर्छ,’ उनले पाएको तत्वज्ञान यही रहेछ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय