इतिहासः भविष्य बुझ्न पढ्नुपर्ने विगतको कथा

त्यतिबेला काठमाडौँ चाबहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयमा शिवनाथ श्रेष्ठ इतिहास पढाउनुहुन्थ्यो । उहाँ मेरो मनपर्ने शिक्षकमध्ये एक हुनुहुन्थ्यो । म उहाँका नजरमा राम्रो विद्यार्थीमा दरिन्थे, किनकि मलाई इतिहास आउँथ्यो । यथार्थमा म इतिहासमा खासै रुचि भएको विद्यार्थी भने थिइनँ । त्यो त म विद्यालयमा आयोजना हुने हाजिरीजवाफ प्रतियोगिता जित्नका लागि पढ्थेँ । जे होस्, राजा–महाराजाका वंशावली र तिथि—मिति कण्ठ गर्नुपर्ने भारले थिचिएर इतिहास पढ्नाको आनन्द र अर्थ थाहा नपाउँदा–नपाउँदै पनि नजानिँदो पाराले इतिहासप्रति रुचि भने उनै शिवनाथ सरले नै जगाइदिनुभएको थियो ! त्यसैले आजसम्म इतिहास दख्खल होइन, रुचिको विषय बनेको छ मेरा लागि ।

इतिहास घटनाहरूको क्रम हो, जसले आज हामी बाँचेको समयमा हामीलाई ल्याइपु¥याएको छ । अर्थात् हामी – आजको विश्व र आजको मान्छे– कसरी सम्भव भयौँ भन्ने कथा नै हो इतिहास । त्यसैले मलाई लाग्छ इतिहासले मान्छेहरूको सङ्घर्षको व्याख्या, विश्लेषण र मूल्याङ्कन गरोस् । तिनका उपयुक्त अध्ययनले नै हामी बाँचेको जगत्मा परिवर्तन सम्भव थियो, छ र हुनेछ भन्ने सिकाओस् । यथास्थितिविरुद्ध परिवर्तन सम्भव छ र मानव इतिहास त्यसरी नै अगाडि बढेको छ, जनताले नै इतिहास निर्माण गर्छन् र तिनै साधारण जनताले नै इतिहास फेर्न सक्छन् भन्ने कुरा हामीलाई इतिहासले नै सिकाओस् ।

तर, ठूला मान्छेहरूको वृत्तान्त मात्र भन्दा फरक, आम मानिसहरूको इतिहास पनि सम्भव छ भन्ने कुराको हेक्का नै नभएर हो कि वा भेउ नै पाउन नसकेर हो एकाध अपवादबाहेक हाम्रा अधिकांश इतिहासकारहरू तिनै वंशावली, तिथिमिति र घटनाहरूको पुनर्मुद्रण गरी नै रहे । आममान्छेको, आफूजस्तै मान्छेको इतिहास पढ्न नपाउँदा हामी आफ्नो विगत र वर्तमानबीचको कडी स्थापना गर्न नै नसक्ने रहेछौँ । त्यसैले इतिहासलाई निरस र जीवनबाट अलग्गिएको शास्त्रजस्तो बनाउँदो रहेछ । इतिहास त एउटा उत्कण्ठासहित पो पढिन्छ, न कि बाध्यताले ।

विश्वसन्दर्भको यस्तै एउटा पुस्तक जुन मैले रुचिपूर्वक पढेर मन पराएँ । त्यो थियो क्रिस हरम्यानद्वारा लिखित ओरियन्ट लङ्म्यानले सन् १९९९मा प्रकाशन गरेको अ पिपल्स हिस्ट्री अफ द वल्र्ड । यो पुस्तक मेरो दृष्टिकोणमा एउटा त्यस्तो प्रतिनिधि उदाहरण हो, जसले आममानिसको इतिहास लेखन कसरी सम्भव छ भन्ने उदाहरण दिन सक्छ । अर्थात् आजको विश्व कसरी सम्भव भयो भन्ने कथा बोधगम्य पारामा बताउन सक्छ । यस पुस्तकले ममा इतिहास पढ्नका लागि थप उत्कण्ठा पैदा गराइदिएको थियो । क्रिस हरम्यान ब्रिटेनको सोसलिस्ट वर्कर्स पार्टीका सदस्य तथा सोसलिस्ट वर्कर्सका सम्पादक पनि हुन्, जसले पुँजिवादका विरोधमा धेरै तर्क गरेका छन्, लेखेका छन् र आजको विश्वमा माक्र्सवादको सान्दर्भिकताको वकालत गरेका छन् । तसर्थ उनको यो पुस्तक पनि माक्र्सवादी इतिहास लेखनको धार वा पद्धतिसँग मेल खान्छ । अर्थात् समाज विकास क्रमका बारेमा माक्र्सेली मत यस पुस्तकमा पढ्न पाइन्छ ।

सात खण्ड र ५० अध्याय (परिचयबाहेक ७२९ पृष्ठ) को यो पुस्तकको प्रत्येक खण्ड नै एउटा छुट्टै पुस्तक बराबरका छन्, ऐतिहासिक कालखण्ड र विषयवस्तुका हिसाबले । बेलायती पुरातत्वविद् भी. गोर्डन चाइल्डको इतिहासमा के भो ? को पुनव्र्याख्या जस्तो लाग्ने किताबको पहिलो खण्ड वर्गीय समाजको उदय मलाई सबभन्दा मन परेको खण्ड हो । मूलतः माक्र्सेली र अरूहरूले पनि भन्ने गरेजस्तै राज्यको उदय र सामाजिक असमानताले जरो गाड्नु पहिलेको समाज वर्गविहीन थियो र मानिस लाखौँ वर्ष सम्मनाता–सम्बन्धमा आधारित सानो समूह, स्रोतमाथिको सामूहिक स्वामित्व, साटफेरमा आधारित अर्थतन्त्र र राजनीतिक रूपले बराबरी हैसियत बिताएर आए भन्ने

पूर्वमान्यताबाट सुरु गर्छन् उनि यो खण्ड । तर, खासमा बृहत् व्याख्याचाहिँ करिब दस हजार वर्ष पहिले मध्यपूर्वमा भएको ‘नव—पाषाणकालीन क्रान्ति’ अर्थात् कृषिको सुरुवात र सभ्यताहरूको उदयको कथाबाट सुरु हुन्छ । त्यसपछि क्रमशः प्राचीनविश्व, मध्ययुग, महान रूपान्तरण, नयाँ सिलसिलाको विस्तार, विश्वमा उथलपुथल र आश एवं त्रासको शताब्दी गरी सात खण्डमा उनी इतिहास विवरण दिँदै जान्छन् । पुस्तकको अन्तिम खण्ड आश र त्रासको शताब्दी पनि उत्तिकै रुचिकर छ, जसले बीसौँ शताब्दीको पछिल्लो खण्डको बयान गर्दछ र शताब्दीको अन्त्यसँग के–कस्तो नव—साम्राज्यवादको विस्तार हुँदै छ भनी व्याख्या गर्दछ ।

माक्र्सका आलोचक लेखक जर्ज अरबेलले आफ्नो उपन्यास सन् १९८४ मा लेखेका थिए कि ‘जसले विगतलाई कब्जा गर्न सक्छ, त्यसैले भविष्य पनि कब्जा गर्छ’ । यो माक्र्सेलीहरूका लागि पनि झनै सही र अर्थपूर्ण लाग्दछ । जुन प्रस्तुत पुस्तक पढ्दा पनि अनुमान गर्न सकिन्छ । वास्तवमा भविष्य विगतको अधीनमा रहने रहेछ ।

अन्यमा, इतिहास एउटै मात्र सिधा बाटो हिँडेर वा उन्नतिको खुड्किलो चढेर सिधै र सपाट रूपमा वर्तमान अवस्थामा आइपुगेको होइन । ऐतिहासिक द्वन्द्ववादबाट प्रशिक्षित माक्र्सवादी इतिहास लेखनपद्धतिले मात्र यो पाटोलाई उपयुक्त ढङ्गबाट सम्बोधन र समायोजन गर्न सक्छ । तर, त्यस्ता उदाहरण भने कमै मात्र पढ्न पाइएका छन् । झन्डै साढे सात सय पृष्ठको यो पुस्तकलाई यसले ओगटेको समयको फलक र विषयवस्तुको फैलावटका हिसाबले विश्वको सङ्क्षिप्त जन—इतिहास भन्न सकिन्छ । यो अत्यन्तै गहन पुस्तक त होइन, तर विश्लेषणात्मक छ । इतिहासमा रुचि भएकाहरू अर्थात् आजको विश्व कसरी यहाँसम्म आइपुग्यो भन्ने उत्सुकता भएकाहरूका लागि यो पुस्तक प्रारम्भिक सिफारिस हुन सक्दछ । मलाई लाग्छ, यो केही समयसम्मलाई मन परेको किताबको सूचीमा रहिरहनेछ ।

प्रतिक्रिया