सुध्रियो पारस–हिमानी सम्बन्ध

काठमाडौँ, १९ फागुन । पूर्वयुवराज्ञी हिमानी पतिको दीर्घायुको कामना गर्दै आफ्नो घर प्राङ्गणमा रहेको मन्दिरमा दैनिकजसो पूजा गर्छिन् । पति पारससितको उतारचढावपूर्ण दाम्पत्य सम्बन्ध पछिल्लो समय सुखद मोडमा आइपुगेको छ र फलस्वरूप अचेल हिमानीको ‘बडिल्याङ्ग्वेज’ पनि बदलिएको छ ।
त्यसो त पारस र हिमानी छुट्टाछुट्टै बस्न थालेको चार महिना भइसक्यो । चार महिनाअघि बैंकक गएका पारस उतै बस्दै आएका छन् भने हिमानी छिन् निर्मल निवासमा । आजकाल हिमानी एक–दुई दिन बिराएर नियमितरूपमा पतिलाई फोन गर्छिन् । आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गर्छिन् । पारस पनि हिमानीलाई घरायसी र अन्य कुराहरू सम्झाउँछन् । पारसकै सल्लाहमा हिमानी फेरि हिमानी ट्रस्टमा  सक्रिय हुन थालेकी हुन् ।
‘उहाँहरूबीचको सम्बन्ध अहिले साँच्चिकै भरिभराउ भएको छ, भरखरै बिहे गरेको दम्पत्तीको जस्तो,’ पारस निकट स्रोत भन्छन् । पारस र हिमानीबीच दाम्पत्य जीवन सुरु भएको १३ वर्ष पूरा भएर १४ वर्ष लागेको छ । ७ माघ, ०५६ मा बिहे भएका उनीहरूका दुई छोरी र एक छोरा छन् । जेठी छोरी पूर्णीका र छोरा हृदयेन्द्र अहिले बाबुसँग बैंककमा बस्ने गर्छन् । उनीहरूको पढाइ उतै चलिरहेको छ । कान्छी छोरी गीर्वाणी भने आमासित नेपालमै छिन् ।
हिमानी बेला–बेला पति र छोरा–छोरी भेट्न बैंकक जाने गर्छिन् । केही दिनपछि नै उनी पूर्णिका र हृदयेन्द्रलाई लिएर बैंकक जाने तयारीमा छिन् । उनीहरू छुट्टी मनाउन नेपाल आएका थिए ।
विगतमा पारस–हिमानी सम्बन्ध कटुताले भरिएको थियो । दुवै निर्मल निवासमा भएका बेला पनि कहिलेकाहीँ उनीहरू अलग–अलग सुत्ने गर्थे । केही समयअघि मदिरा पिएर होटल एभरेस्टको ग्यालेक्सी डिस्कोमा पुगेका पतिलाई सम्हाल्न गएकी हिमानीमाथि पारसले गोली चलाएको घटना निकै चर्चामा आएको थियो ।
खासगरी पारसको मदिराप्रेम उनीहरूको सम्बन्धमा बेलाबेला तगारो बन्दै आएको छ । विगतमा आप्mनो पतिलाई मदिरा र गलत साथीहरूको सङ्गतबाट छुटाउन हिमानीले निकै प्रयास गरेकी थिइन् । एकपटक उनले पारसलाई काभ्रेको पलाञ्चोक भगवती मन्दिरमा लगेर ‘आइन्दा मदिरा पिउँदिन’ भनेर किरिया खुवाउन पनि लगाइन् ।
‘देशमा गणतन्त्र आएपछि पारसले मदिरा पिउन निकै कम गरेका थिए,’ स्रोतले भन्यो, ‘तर यो धेरै समय टिकेन ।’ हिमानीकै दबाबपछि पारसले दुई वर्ष पहिले दसैमा कपालको चुल्ठो काटेका थिए । स्रोतका अनुसार हिमानी र परिवारको आग्रहमा पारसले पुराना साथीहरूको घेरा लगभग छोडिसकेका छन् ।
बाहिरी केटीहरूसितको सम्बन्धमा पनि पारस जोडिने गरेका थिए । खासगरी सिङ्गापुरकी एक युवतीसित उनको सम्बन्धलाई लिएर हिमानीले प्रश्न उठाउने गर्थिन् । ‘अहिले ती केटीहरूको सङ्गत पारसले छोडिसकेका छन्, त्यसैले पनि सम्बन्ध सुध्रिएको हो,’ स्रोतको भनाइ छ ।
पारस आप्mनी पत्नी समाजसेवामा सक्रिय भएको हेर्न चाहन्छन् । उनले नै हिमानीलाई ट्रस्ट गठन गर्ने सल्लाह दिएको स्रोत बताउँछ । हिमानी ट्रस्टले दोलखामा गरेको एउटा कार्यक्रममा पारस पनि हिमानीसँगै गएका थिए । स्रोत भन्छ, ‘पारस आफ्नोबारेमा विवादास्पद समाचारहरू आइरहे पनि पत्नीको भने सफा छवी भएको हेर्न चाहन्छन् । उनी हिमानीलाई तडकभडक कम गर्न र लोकप्रिय बन्न सल्लाह दिइरहन्छन् ।’

प्रेरणा र राजबहादुर अलग
काठमाडौँ,  पारस र हिमानीको सम्बन्ध सुध्रिदै गएका बेला पूर्वराजकुमारी पे्ररणा र उनका पति राजबहादुर सिंहको सम्बन्ध भने सङ्कटमा परेको छ । विगत ६ महिनादेखि अलगअलग बस्दै आएको यो जोडीबीच अचेल सामान्य बोलचालसमेत छैन । प्रेरणा र राजबहादुर कानुनीरूपमा अलग भइनसके पनि भावानात्मक नाता भने बाँकी नरहेको स्रोतले बतायो । आधाजसो समय विदेशमै बिताउने गरेका राजबहादुर नेपालमै भएका बेला पनि उनीहरूबीच भेटघाटहुँदैन । प्रेरणा आप्mनो बाबुआमा पूर्वराजदम्पत्तीसँगै निर्मल निवासमा बस्ने गर्छिन् भने राजबहादुर स्वदेश भएका बेला छाउनीमा बस्ने गरेका छन् । उनी मलेसिया, सिंगापुर, थाइल्यान्ड आवतजावत गरिरहन्छन् । दुई महिना पहिले प्रेरणा अपरेसन गर्न सिंगापुर गएका बेला राजबहादुरले त्यहीँ भएर पनि प्रेरणालाई भेटेनन् ।
झन्डै नौ बर्ष अगाडि विवाह गरेका उनीहरूको सम्बन्ध पहिलेदेखि नै सुमधुर रहेन । पतिले आपूmलाई उचित व्यबहार नगरेको र बाहिर केटीहरूसँग बरालिने गरेको आरोप प्रेरणाको छ । विहेपछि उनीहरू छाउनीमा बस्ने गरेका थिए । छाउनीको घर पूर्वराजा ज्ञानेन्द्रले प्रेरणालाई दाइजो दिएका हुन् । विगतमा पूर्वराजपरिवारले प्रेरणा र राजबहादुरको सम्बन्ध सुधार गर्ने प्रयास गरेका थिए । तर अहिले उनीहरू पनि थाकिसकेको स्रोतको भनाइ छ । प्रेरणा र राजबहादुरका  ६ वर्षीय छोरा पार्थबहादुर भने कहिले आमा र कहिले बाबुसँग बस्ने गरेका छन् ।

प्रतिक्रिया