घट्यो चिनियाँ पर्यटकको आगमन

काठमाडौं, १८ फागुन । लामो समयदेखि बढ्दो क्रममा रहँदै आएको चिनियाँ पर्यटकको आगमन वृद्धिदर सन् ०१२ को दास्रो महिना फेब्रुअरीमा घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार फेब्रुअरीमा चिनियाँ पर्यटक गत वर्षको सोही महिनाको तुलनामा २३.१ प्रतिशतले घटेको हो । गत वर्षको फेब्रुअरीमा चार हजार एक सय ९३ चिनियाँ पर्यटक हवाइमार्ग हुँदै नेपाल आएकोमा यो वर्षको फेब्रुअरीमा यो सङ्ख्या तीन हजार दुई सय २६ मा झरेको छ । सन् ०११ मा चिनियाँ पर्यटक ७७.६ प्रतिशतले बढेका थिए । गत वर्ष ४५ हजार चार सय चिनियाँ पर्यटक हवाइमार्ग हुँदै नेपाल आएको तथ्याङ्क छ । यो नेपाल आउने कुल पर्यटकको ८.३ प्रतिशत हिस्सा हो ।
यस वर्षको फेब्रुअरीमा सन् ०११ को सोही महिनाको तुलनामा १३.७ बढी विदेशी पर्यटक हवाइमार्गबाट नेपाल आएका छन् । गत वर्ष फेब्रुअरीमा ३७ हजार पाँच सय ८४ पर्यटक आएकामा यो वर्षको फेब्रुअरीमा यो सङ्ख्या ४२ हजार सात सय १६ पुगेको छ । फेब्रुअरीमा सबै क्षेत्रका पर्यटक आगमन वृद्धि सकारात्मक देखिएको छ ।
भारतबाट आउने पर्यटक २८.८ प्रतिशतले बढेका छन् । यो महिना भारतबाट ११ हजार ९३ पर्यटक हवाइमार्ग हुँदै नेपाल आएका छन् । भारतबाहेक अन्य दक्षिण एसियाली मुलुकहरू बङ्गलादेश, श्रीलंका र पाकिस्तानबाट आउने पर्यटक भने केही घटेका छन् । समग्रमा दक्षिण एसियाली पर्यटकको वृद्धिदर २०.४ प्रतिशत छ । योे महिना सार्क मुलुकबाट १२ हजार आठ सय ८३ पर्यटक नेपाल आएका छन् ।
दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट आउने पर्यटक ४.३ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । एसियाली मुलुकबाट यो महिना १० हजार दुई सय तीन पर्यटक आएका छन् । गत वर्षको फेब्रुअरीमा यो सङ्ख्या नौ हजार सात सय ७९ थियो । एसियाली मुलुकहरू जापान, मलेसिया, दक्षिण कोरिया र थाइल्यान्डबाट आउने पर्यटक क्रमशः ३३.२, १९.८, ३१.५ र ७.९ प्रतिशतले बढेका छन् । तर चिनियाँ र सिंगापुरे पर्यटक भने यो महिना घटेका छन् ।
युरोपियन बजारतर्फ १७.५ प्रतिशतले पर्यटक बढेका छन.् । बढी खर्च गर्ने पर्यटक आउने मुलुकहरू बेलायत, फ्रान्स, जर्मनी, इटली, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड तथा रसियाबाट आउने पर्यटक बढेका छन् । यद्यपि नेदरल्यान्ड र नर्वेबाट आउने पर्यटक भने केही घटेको तथ्याङ्कले देखाएको छ ।
अस्ट्रेलियाली र अमेरिकी पर्यटक क्रमशः १८.५ र १०.४ प्रतिशतले बढेका छन् । त्यस्तै क्यानाडा र न्युजिल्यान्डबाट आउने पर्यटक पनि बढेको तथ्याङ्कले देखाएको छ । यो वर्षको पहिलो दुई महिनामा कुल ८४ हजार सात सय ४७ विदेशी पर्यटक हवाइमार्ग हुँदै नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा २०.२ प्रतिशतले बढी हो । सन् ०११ को जनवरी र फेब्रुअरीमा गरी ७० हजार चार सय ९८ पर्यटक आएका थिए । सन् २००९ को जुनदेखि नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दो क्रममा छ ।

प्रतिक्रिया