दाङमा १३ देशका दुइसय कलाकार आउने

दाङ, १८ फागुन । आगामी फागुन २९, ३० र चैत्र १ गते दाङको घोराहीमा हुन लागिरहेको अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक पर्यटन महोत्सवमा नेपाललगायत १३ देशका साढे दुइ सयभन्दा बढी कलाकारहरु सहभागी हुने भएका छन् ।
पर्यटन महोत्सवमा नेपाल बाहेकका अन्य देशहरुबाट २ सय ४५ जना र नेपालका २० देखि २५ जनासम्म कलाकारहरुको सहभागिता हुने आयोजकले बताएको छ । महोत्सवमा भाग लिन सबैभन्दा बढी फिनल्याण्डबाट ३४ जना र सबैभन्दा कम घानाबाट ६ जना कलाकारहरु आउने छन् ।
स्टोनिया र भारतबाट २७, २७ जना, ग्रीसबाट २४ जना, इटली २२ जना, मेक्सिको र बंगलादेशबाट २०, २० जना, श्रीलंकाबाट १९ जना, लिथुवानियाबाट १४ जना, टोबोबाट १२ जना र पोल्याण्डबाट ९ जना गरी जम्मा २ सय ४५ जना विदेशी कलाकारहरुको सहभागिता हुने छ ।
महोत्सवमा लोकगायन, हाँस्यव्यङ्ग्य तथा आधुनिक गायनतर्फ ख्यातीप्राप्त नेपालका २० देखि २५ जनासम्म कलाकारहरुको सहभागिता हुने छ । महोत्सवमा आउने नेपाली कलाकारहरुमा हेमन्त शर्मा, नवीन पौडेल, पार्वती जिसी, दुर्गा रायमाझी, नारायण रायमाझी, चन्द्र शर्मा, प्रकाश भट्ट, पार्वती राई, रामजी खाँड, विष्णु खत्री, राधिका हमाल, संगीता थापा, सकुन्तला थापा रहेका छन् ।
हाँस्य कलाकारहरु कमल गाउँले, दीपक थापालगायत राष्ट्रिय लोक तथा दोहरी प्रतिष्ठानसँग आबद्ध कलाकारहरुको सहभागिता हुने साँस्कृतिक उपसमितिका संयोजक चन्द्र शर्माले जानकारी दिएका छन् ।
कलाकारहरुका साथै नेपाली लोकसंस्कृतिको पहिचानका लागि राप्ती क्षेत्रमा रहेका केही ऐतिहासिक लोक कलासंस्कृतिमा आधारित प्रस्तुतिहरु दिइने आयोजकले बताएको छ । त्यसका लागि थारु समुदायको लोक संस्कृतिमा आधारित सख्या पैंया नृत्य र रुकुमबाट महिलाहरुको मात्रै मयुर (सेरिङ्गे) नाचको तयारी भइसकेको र अन्य दुइ, चारवटासम्म लोक संस्कृतिको प्रस्तुतिका लागि तयारी भइरहेको छ ।

प्रतिक्रिया