‘राजनीतिक सहमति गर्न ३ दल सकारात्मक’

काठमाडौं, १८ फागुन । मुलुकको पछिल्लो राजनीतिक अवस्था, शान्ति, संधिवानका साथै आयोगहरु बनाउन छिटो राजनीतिक निकास निकाल्न प्रमुख तीन दल सकारात्मक देखिएका छन् ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा आज बसेको एमाओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकमा छिटै राजनीतिक निकास निकाल्ने सहमति भएको छ । बैठकमा शीर्ष नेताले पाएको जिम्मेवारी अनुसार शान्ति र सेना समायोजन, आयोग गठन तथा संविधानका बिवादित बिषयमा सहमति खोज्न तयार पारिएका प्रस्तावहरु पेस गरिएका थिए ।
यस अघि माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई शान्ति र सेना समायोजन, कांग्रेस सभापति सुशील कोइरालालाई आयोगहरु गठन तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालालई संविधान निर्माणमा देखिएका बिवादित विषयमा सहमतिको प्रस्ताव तयार पार्ने जिम्मेवारी तोकिएको थियो ।
राजनीतिक गतिरोध फुकाउने बिषयमा छलफल भएपनि नेताहरुले आज ठोस निर्णय भने गरेका छैनन् । आन्तरिक छलफल र गृहकार्य गर्ने भन्दै शीर्ष बैठक शनिवार सम्मका लागि सारिएको छ ।
सञ्चारकर्मीसँग कुरागर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले विगतमा भन्दा दलहरु बीचको छलफल अत्यन्तै सकारात्मक ढंगले अगाडि बढेको प्रतिक्रिया दिएका छन् । उनले माओवादी लडाकुलाई सेना समायोजनका विषयमा विशेष चासोका साथ शीर्ष तहमा छलफल भएको बताए ।
सात बुँदे सहमति भन्दा बाहिर गएर समायोजनका काम नहुने भन्दै नेता नेपालले सेनामा माओवादीको प्रतिनिधित्व देखिन नदिने तर्फ सचेत रहेको बताएका छन् ।
सातबुँदे सहमति अनुसार नै अघि बढने बारे वैठकमा छलफल भएको कांग्रेस उपसपभाति रामचन्द्र पौडेलले बताए । उनले शान्ति प्रक्रियाका साथै संविधानका बिवादित बिषयमा छिट्टै निष्कर्षमा पुग्ने दाबी गरेका छन् ।
एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले शान्ति र संविधान प्रक्रिया सँगसँगै बढ्नुपर्नेमा माओवादीको जोड रहेको बताए । उनले शान्ति प्रक्रियालाई मात्रै अगाडि बढ्उनु भन्दा शान्ति र संविधान दुबैलाई साथ साथै लैजानुपर्ने बताए ।
शान्ति र संविधान निर्माण प्रक्रियामा नमिलेका कतिपय विषयमा शीर्ष तहमा छलफल गरी सहमति खोजिने प्रयास स्वरुप प्रमुख तीन दलको बैठक बसेको हो । बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सपभाति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया