मन्त्रीका पिए घुस खाँदाखाँदै च्याप्प

काठमाडौँ, १७ फागुन । वन तथा भूसंरक्षण राज्यमन्त्री लक्ष्मण महतोका निजी सचिव नागेन्द्र यादव बुधबार दिउँसो करिब १.३० बजे सिंहदरबार दक्षिण गेटबाहिर उभिएका थिए । एकैछिनमा एउटा ट्याक्सी आएर रोकियो । ट्याक्सीबाट ओर्लेर एक व्यक्ति यादवछेउ पुगे । ‘तपाईंहरू बाहिर चिया खाँदै गर्नूस्, म भित्र मन्त्रीज्यूलाई भेटेर आउँछु
भन्दै नागेन्द्र तत्कालै सिंहदरबारभित्र पसे ।
ट्याक्सीमा आएका तीन व्यक्ति सिंहदरबारको पूर्व–दक्षिणमा पर्ने हनुमानचोकनजिकै रहेको पिस प्वाइन्ट रेस्टुरेन्टमा छिरे । करिब १० मिनेटमै नागेन्द्र पनि रेस्टुरेन्टमा आइपुगे । उनले पैसा निकाल्न हातले इसारा गरे । तीनमध्ये एकले स्टिच मारिएको
५० हजार रुपियाँको बिटो नागेन्द्रलाई सुम्पिए । गमक्क पर्दै नागेन्द्रले पैसाको बिटो आफ्नो देबे्र खल्तीभित्र हाले । उनलाई के थाहा खल्तीभित्र पैसासँगै विपत्ति पनि छिरेको थियो ।
त्यतिन्जेलमा अख्तियारबाट खटिएका उपन्यायाधिवक्ता रामचन्द्र पौडेलको नेतृत्वमा डिएसपी अर्जुन चन्द, डिएसपी लालमणि आचार्यलगायतको प्रहरी टोली रेस्टुरेन्टभित्र प्रवेश गरिसकेको थियो । उनीहरू सादा पोसाकमा थिए । जब उनीहरूले अख्तियारको परिचयपत्र देखाए, नागेन्द्र तिल्मिलाए । अख्तियारले उनलाई घुस खाँदाखाँदै रङ्गेहात पक्राउ गरेको थियोे । आफ्नो अपराधको पर्दाफास भएपछि एकछिन नागेन्द्रले मूर्छित भएको नाटक पनि गरे ।
मूर्छाको नाटक काम नलागेपछि उनले प्रहरी अधिकारीहरूसित रोइ–कराइ गर्न थाले । आफू साधारण मान्छे भएको र घरमा बालबच्चा भएको भन्दै उनले एकपटकलाई छाडिदिन बिन्तीभाउ गरेका थिए । प्रहरीले मुचुल्का उठाउँदै गर्दा सञ्चारमाध्यमको घुइँचो नै लाग्यो । सञ्चारकर्मीसित भने उनले ठूला कुरा गरे । ‘म मधेसी भएकाले षड्यन्त्र भएको हो,’ आम मधेसी नेताले बोल्ने भाषा प्रयोग गर्दै उनी जङ्गिए, ‘मैले त उनीहरूसित चियाखर्च मात्रै लिएको हुँ ।’
त्यसअघि बुधबार दिउँसो एक बजे अख्तियारमा पुगेका थिए, मुगुका दुई स्थानीयवासी । राज्यमन्त्रीका पिएले आफूहरूसित घुस मागेको उनीहरूले गुनासो गरेपछि अख्तियारले जाल बिच्छाएको थियो । उनीहरू अख्तियारमै भएका बेला नागेन्द्रले फोन गरेर भनेका थिए, ‘म सिंहदरबारमा छु, तपार्इंहरू दक्षिण गेटमा आउनुहोस् ।’
अख्तियारका प्रवक्ता ईश्वरीप्रसाद पोखरेलले यो घटना भ्रष्टाचारको नाङ्गो उदाहरण भएको बताएका छन् । उनले भने, ‘अहिले प्रारम्भिक अनुसन्धानकै चरणमा छ, यसमा ठूलाबडाको समेत हात हुन सक्छ, त्यो पछि खुल्दै जानेछ ।’ स्वकीय सचिव रङ्गेहात पक्राउ परेपछि वन राज्यमन्त्री महतोको पनि होस उडेको छ । घटनाबारे जिज्ञासा राख्दा ‘के भा’को हो म बुझ्दै छु’ भनेर फोन राखिदिए ।
घुस लिँदालिँदै रङ्गेहात पक्राउ परेका नागेन्द्रलाई भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ३ अनुसार मुद्दा चलाइनेछ । कसुर प्रमाणित भएमा उनलाई चारदेखि ६ महिना कैद र बिगोबराबरको रकम असुल गर्ने व्यवस्था छ ।
किन मागे घुस ?
विकट स्थानमा रहेको थोरै उब्जनी हुने जग्गा पनि रारा राष्ट्रिय निकुञ्जभित्र गाभिएपछि मुगुको रेसी गाविस वडा नम्बर १ र २ का ७७ घरपरिवारको गाँसबास नै खोसिने अवस्थामा पुग्यो । मुआब्जाबापत सरकारले केही राहत त दिने भनेको थियो तर कहिले दिने ठेगान थिएन । त्यसैका लागि उनीहरू निकै वर्ष राजधानी धाए । मन्त्रालयको ढोका ढकढक्याए तर राहत पाउने कुनै सङ्केत मिलेन ।
लामो पापडबेलाइपछि सरकारले हालै मुआब्जाबापत निकुञ्ज प्रभावित दुवै गाविसका पीडित घरपरिवारलाई ३२ लाख ४९ हजार रुपियाँ दिने निर्णय ग¥यो । त्यसका लागि अर्थ मन्त्रालयबाट रकम पनि निकासा भयो । तर, रकम जब वन मन्त्रालय पुग्यो अनि खुले सबैका त्रिनेत्र । पर्दाबाहिर देखिए, वन राज्यमन्त्री लक्ष्मण महतोका स्वकीय सचिव नागेन्द्र यादव ।
निकुञ्जका कारण सुकुम्बासी भई राहतका लागि वर्षौंसम्म राजधानी धाएका मुगुवासीका पीडालाई नागेन्द्रले पैसामा भजाउन खोजे । पीडित परिवारलाई राहत दिन भनी मन्त्रालयबाट निकासा भएको रकम आफ्नै खल्तीको भएझै उनले मुगुवासीसँग बार्गेनिङ गरे, ‘तिमीहरूले पाउने रकम त मिलाइदिउँला तर त्यसबापत मलाई जनही तीन हजार पाँच सय रुपियाँ चाहिन्छ । पहिले एड्भान्सस्वरूप ५० हजार रुपियाँ दिनुपर्छ ।’
मुगुवासीले सर्त स्विकार्नुको विकल्प देखेनन् । तर, उनीहरूमध्ये दुईजनाले त्यो सर्त पचाएनन् र पुगे अख्तियारको शरणमा । अख्तियार पनि उनीहरूका कुरा सुनेर रङ्गेहात पक्राउ गर्न सफल भयो ।

प्रतिक्रिया