कार्जाइद्वारा तालिवानलाई वार्ता प्रस्ताव

एजेन्सी
काबुल, १० फागुन । अफगान राष्ट्रपति हमिद कार्जाइले चरमपन्थी तालिबानीहरूलाई शान्तिवार्तामा आउन प्रस्ताव गरेका छन् । कार्जाइले बुधबार तालिबानी नेतृत्वसाग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको उनको वेबसाइटमार्फत सार्वजनिक वक्तव्यमा जनाइएको छ ।
वक्तव्यमा उनले तालिबानी नेतृत्वलाई वार्ताका लागि प्रत्यक्ष प्रस्ताव गरेको जनाइएको छ । अफगानिस्तानका लागि शान्ति अत्यावश्यक रहेकाले र अफगान नागरिकले लामो समयदेखि देशमा शान्तिको प्रतीक्षा गरिरहेकाले शान्तिवार्ता अघि बढाउनु अपरिहार्य रहेको वक्तव्यमा उल्लेख छ । अफगान सरकारले देशमा शान्ति स्थापनाका लागि कैयौ प्रयत्न गर्दै आएको र शान्तिका लागि आगामी दिनमा जस्तोसुकै कदम उठाउन तयार रहेको जनाइएको छ । ‘शान्तिको आवश्यकतालाई महसुस गरी त्यसका लागि अग्रसर हुन र शान्तिवार्ताका लागि अफगान सरकारसाग प्रत्यक्ष सम्पर्क गर्न म तालिवानी नेतृत्वसाग आग्रह गर्छु,’ वक्तव्यमा भनिएको छ ।
वक्तव्यमा कार्जाइले पाकिस्तान सरकारले शान्ति स्थापनाका काममा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै यसका लागि पाकिस्तानलाई अफगान सरकार र त्यहांका नागरिकका तर्फबाट विशेष धन्यवाद दिएका छन् । ‘पाकिस्तानको सहयोगले यस क्षेत्रमा शान्ति स्थापना गर्न र क्षेत्रीय स्थायित्व हासिल गर्न ठूलो मद्दत मिल्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।
गत साता पाकिस्तानी राष्ट्रपति असिफ अलि जर्दारी र राष्ट्रपति कार्जाइबीच अफगानिस्तानमा शान्ति स्थापनाका लागि कसरी सहयोग गर्ने भन्ने विषयमा वार्ता भएको थियो । इरानसमेत संलग्न रहेको सो वार्तामा अफगानिस्तानमा शान्ति स्थापना गर्न र सो क्षेत्रमा मेलमिलापको वातावरण निर्माण गर्न पाकिस्तान र इरानले आवश्यक सहयोग गर्ने आश्वासन अफगानिस्तानलाई दिएका थिए ।
अफगानिस्तानमा दस वर्षदेखि युद्ध अन्त्य गर्न राष्ट्रपति कार्जाइ अग्रसर भएका छन् । अफगान सरकारले तालिवानी विद्रोह अन्त्यका लागि आवश्यक सहयोग गर्न पाकिस्तान र इरानसाग पहल गरिरहेको छ ।

प्रतिक्रिया