सौगातलाई दस लाख पारिश्रमिक

विशाल राई

काठमाडौ १० फागुन । छिमेकी बलिउडका कलाकारको पारिश्रमिक नेपाली चलचित्रको पूरै निर्माण लागतभन्दा बढी हुन्छ । अभिनीत चलचित्रको सङ्ख्या बढे पनि त्यसबाट जीवन निर्वाह गर्नै अप्ठ्यारो परिस्थिति आएपछि नेपाली कलाकारहरू बिदेसिएका थुप्रै उदाहरण छन् ।
तर, पछिल्लो समयमा चलचित्रमा नयां अनुहारहरूको प्रवेशसागै विगतको तुलनामा नेपाली चलचित्रका नायकनायिकाको पारिश्रमिक केही हदसम्म बढ्दै गएको भने छ । एक समय नायक राजेश हमाल सर्वाधिक पारिश्रमिक लिनेमा गनिन्थे । केहीअघि नायक आर्यन सिग्देलले एउटै चलचित्रबाट ७ लाख लिएको खबरले चलचित्रबजार तातेको थियो । फेरि सुनियो- नायिका केकी अधिकारीले पनि ५ लाख रुपियां लिइन् रे ।  तर निर्माणोन्मुख चलचित्र ‘छड्के’ को निर्माण युनिटलाई पत्याउने हो भने अब नायक सौगात मल्लले पारिश्रमिकमा आर्यनलाई पनि उछिन्ने भएका छन् ।
मल्लले ‘लुट’मा गरेको सफल प्रदर्शनलाई आधार मान्दै उनलाई दश लाख रुपियां पारिश्रमिक दिन ‘छड्के’को निर्माणपक्ष तयार भएको निर्देशक निगम श्रेष्ठले जनकारी गराए । लुटबाटै चर्चामा आएका अर्का नायक दयाहाङ राईलाई पनि छड्केमा खेलाउने तयारी भइरहेको र उनका लागि ८ लाख रुपियां पारिश्रमिक तय गरिएको निर्देशक श्रेष्ठले जानकारी गराए ।
दयाहाङले पनि यसको पुष्टि गरे- ‘मलाई यसमा अनुमानित सातदेखि नौ लाखको बीचमा कुराकानी भएको छ ।’ नायक मल्ल पनि आफूलाई ‘छड्के’ ले राम्रै पारिश्रमिक दिएको स्विकार्छन् । भन्छन्- ‘ठीकै हो, कलाकारले दैनिक गुजारा पनि चलाउनै पर्‍यो नि । त्यसो त यो चलचित्रमा नायिका नम्रता श्रेष्ठले पनि अभिनय गर्नेछिन् । उनले पनि यसबाट मोटै पारिश्रमिक पाउने अनुमान गरिएको छ

प्रतिक्रिया