होचा कलाकारको, अग्लो सामाजिक कद

गणेश लम्साल, विराटनगरः तीन दर्जनबढी ठूलो पर्दाका चलचित्र र दुई दर्जन टेलिचलचित्रमा अभिनय गरेका होचा कलाकार लोकनाथ ढकाल अचेल समाजसेवामा सक्रिय हुन थालेका छन् । नेपाल होचापुड्का सङ्घका अध्यक्ष समेत रहेका ढकाल फागुन पहिलो साता विराटनगरमा भेटिए । उनी अपाङ्ग महासङ्घ नेपालको छैटौंँ राष्ट्रिय सम्मेलनमा सहभागी हुन विराटनगर आइपुगेका हुन् । विभेदमा परेका आफूजस्तै होचा–पुड्कालाई सङ्गठित गर्न उनले २०५८ सालमा सङ्घ खोलेका थिए ।
त्यही विभेद अन्त्यको अभियानमा लागेकाले आपूmले अहिले अभिनययात्रालाई ‘ब्रेक’ लगाएको उनले खुलाए । ‘होचापुड्कालाई समाजमा होच्याउने चलन अन्त्यका लागि हामी सङ्गठित हुन जरुरी भएको छ’ –उनले अभियानको औचित्य पुस्ट्याए । होचापुड्कामा हँसाउने, गाउने, नाच्ने आदि मनोरञ्जनात्मक कला रहेकाले त्यसलाई मौलाउने अवसर दिनुपर्ने उनले बताए । भने– ‘उनीहरूको कलाको संरक्षण हुन सके रोजगारी सिर्जना हुन सक्छ ।’ तर राज्यले यसतर्फ ध्यानै नदिएको गुनासो उनको छ । अहिले होचापुड्कालाई पनि अपाङ्गको मान्यता दिइएपछि अब अपाङ्ग महासङ्घमार्फत उनीहरूको अधिकारका लागि सशक्त पहल गर्ने विचार उनले प्रस्तुत गरे ।

प्रतिक्रिया