इरानले परमाणु कार्यक्रम विस्तार गन

एजेन्सी
भियना, ७ फागुन । इरानमा परमाणु कार्यक्रम विस्तार गर्ने सम्भावना अधिक रहेको भियनास्थित एक कूटनीतिज्ञलाई उद्धृत गर्दै बिबिसीले आइतबार जनाएको छ । सुरक्षा व्यवस्था अत्यन्त कडा रहेको इरानी सहर कोमनजिकै रहेको एक भूमिगत केन्द्रमा हजारौँ अत्याधुनिक सेन्ट्रिफ्युज जडान गर्ने अन्तिम तयारी भइसकेको बिबिसीले जनाएको छ ।
नयाँ सेन्ट्रिफ्युज जडान भए प्रशोधित युरेनियम उत्पादनमा उल्लेख्य वृद्धि हुनेछ ।
इरानको परमाणु प्रशोधन कार्यक्रमप्रति पश्चिमी राष्ट्रहरूले कडा आपत्ति जनाइरहेका बेला कार्यक्रम थप विस्तार गर्ने तयारीमा इरान रहेको समाचार प्रकाशित भएको हो । उच्च प्रशोधित युरेनियम आम विनाशकारी परमाणु हतियार उत्पादन गर्न प्रयोग हुन्छ । युरेनियम प्रशोधनमार्फत इरान आम विनाशकारी हतियार उत्पादन गर्न अग्रसर भएको आरोप अमेरिकालगायत पश्चिमी राष्ट्रले लगाइरहेका छन् । तर, इरानले ऊर्जा उत्पादनतर्फ आफ्नो पारमाणविक कार्यक्रम लक्षित रहेको दाबी गर्दै आएको छ ।
परमाणु प्रशोधनकार्य रोक्न इरानलाई दबाब दिने उद्देश्यले पश्चिमी राष्ट्रहरूले इरानको पारमाणिक तथा वित्तीय क्षेत्रलाई लक्षित गरी विभिन्न प्रकारका प्रतिबन्धको घोषणा गरिसकेका छन् । तर, यस्ता प्रतिबन्धले आफूलाई कुनै असर नपार्ने भन्दै इरानले पश्चिमी दबाबको बेवास्ता गर्दै आएको छ ।

प्रतिक्रिया