ब्यालोतेली कार्डले बाहिरिंदै,फर्कंदै

एजेन्सी


लन्डन, ७ फागुन । इटालियन स्ट्राइकर मारियो ब्यालोतेली हालै इपीएलका चारवटा म्याचमा खेल्न नपाउने प्रतिबन्धात्मक सजाय पूरा गरी फेरि एकपटक आफ्नो क्लब म्याचेस्टर सिटीमा फर्केका छन् ।
क्लबका प्रशिक्षक रोबर्टो मान्सिनीका लागि विपक्षीविरुद्ध एक घातक स्ट्राइकरका रूपमा उनी एक प्रमुख हतियार हुन् । फुटबलप्रेमीलाई सुन्दा पनि अनौठो लाग्छ, ४५ नम्बरको जर्सी लगाएर खेल्ने र अत्यन्त प्रतिभाशाली मानिएका यी २१ वर्षीय खेलाडीले अहिलेसम्मको छोटो फुटबल जीवनमा पाएका कार्ड हेर्ने हो भने नयाँ कीर्तिमान हुने निश्चितप्रायः छ् ।
एजेन्सीका अनुसार, ब्यालोतेलीले पछिल्लो समयसम्म खेलेका जम्मा ४९ वटा लीग खेलमा मात्र तीनवटा रेडकार्ड र १७ वटा यल्लोकार्ड पाएका छन् । सबैभन्दा पछिल्लोपटक उनले टोटनह्याम क्लबविरुद्धको म्याचमा प्रतिद्वन्द्वी खेलाडी स्कट पार्करलाई कुल्चेको आरोपमा रेडकार्डसँगै म्याच खेल्न नपाउने प्रतिबन्ध पनि ब्यहोर्नु परेको थियो । त्यसअघि गत वर्षको इपीएल सिजनमा पनि प्रतिद्वन्द्वी क्लब डाइनामो कीभविरुद्धको भिडन्तमा गोरान पोपोभलाई खतरनाक ‘ट्याकल’ गरेको आरोपमा उनले रेडकार्ड पाएका थिए र उनको म्यानचेस्टर सिटी च्याम्पियन्स लीग प्रतियोगिताबाट बाहिरिएको थियो ।
ब्यालोतेलीले पछि आफ्नो व्यवहारका लागि सबैसँग क्षमा याचना गरेका थिए । तापनि उनीप्रति प्रतिद्वन्द्वी क्लबका खेलाडीहरू त्यति ढुक्क हुन भने कहिल्यै सकेका छैनन् । यति हुँदाहुँदै पनि प्रशिक्षक मान्सिनी भने उनको क्षमताप्रति पूर्ण विश्वस्त छन् । मान्सिनी भन्छन्, ‘मैंले दुई सातापहिले मारियोसित कुरा गरेको थिएँ । मैंले उनलाई भनँे– हामीले अब च्याम्पियन्स लीगमा खेल्नुपर्ने जम्मा १३ वटा खेल र त्यसपछि युरोपा लीग बाँकी छन् । तसर्थ, कृपया त्यतिबेलासम्म मैदानमा राम्रो व्यवहार गरिरहनू र केवल फुटबलबारे मात्र सोच्नू ।’
‘खासमा मारियो के र कस्ता हुन् भन्ने ठ्याक्कै भन्न सकिँदैन । हामीलाई थाहा छ, मारियो एकजना असल खेलाडी हुन् । उनी युवा छन् । कुनै बेला उनले भूल पनि गर्न सक्छन्, तर यति हुँदाहुँदै पनि उनले आउँदा केही महिनासम्म आफूलाई नियञ्त्रणमा राख्न सके भने उनी हाम्रा लागि निकै महत्वपूर्ण खेलाडी हुन्,’ प्रशिक्षक मान्सिनीले भने ।
घानाबाट इटाली प्रवासिएका अभिभावकका सन्तान मारियोले व्यावसायिक फुटबल जीवन एफ सी इन्टरनेसनल मिलानोबाट थालेका थिए । तर त्यतिबेला पनि प्रतिद्वन्द्वी क्लब एसी मिलानको जर्सी लगाएर एउटा टेलिभिजन कार्यक्रममा प्रस्तुत भएकाले उनलाई आफ्नो क्लबबाट निकालिएको थियो ।

प्रतिक्रिया