प्रवासीद्धारा म्याग्दीमा तीन एम्बुलेन्स हस्तान्तरण

बागलुङ, १७ फागुन । म्याग्दी प्रवासी सघं हङकङ तथा युकेले संयुक्त रुपमा बुधवार म्याग्दीमा तीन वटा एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।
म्याग्दीमा जन्मिएर बेलायत तथा हङकङमा व्यवसाय गर्दै आइरहेकाहरुको संस्था मोना हङकङ तथा युकेले नेपाल रेडक्रस सोसाइटी म्याग्दीको दरबाङ, अर्थुङ्गे तथा दाना उपशाखालाई एक–एक वटा एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
दुर्गम भेगका सर्वसाधारणलाई आपत परेका बेला सहज रुपमा यातायातको सुविधा उपलव्ध गराउने उद्धेश्यले हङकङ र बेलायतमा बस्ने म्याग्देलीहरुले ५५ लाख रुपैयाँ संकलन गरि ३ वटा एम्बुलेन्स हस्तान्तरण गरिएका छन् ।
दरबाङमा आयोजना गरिएको साँस्कृतिक सद्भावको समापनका अवसरमा एनआरएन अध्यक्ष जिवा लामिछाने, मोना युकेका अध्यक्ष योग फगामी र मोना हङकङका अध्यक्ष दलबहादुर गर्बुजाले एम्बुलेन्सको साँचो रेडक्रस म्याग्दीका अध्यक्ष मुक्ति रोकालाई हस्तान्तरण गरेका थिए ।
एम्बुलेन्स हस्तान्तरण पछि बोल्दै मोना हङ्कङका अध्यक्ष दलबहादुर गर्बुजा, युकेका अध्यक्ष योगकुमार फगामीले बिदेशमा गरेको आम्दानीको केहि हिस्साले आफ्नो जन्मभुमिको सेवाका लागि लगानी गर्न पाउँदा आँफुहरु निकै गौरवान्वित भएको बताए । ३ स्थानका लागि प्रदान गरिएको एम्बुलेन्सले म्याग्दीका दर्जन भन्दा बढी गाँउका बासिन्दा लाभान्वित हुने स्थानीय गोपाल रेग्मीले बताए ।

प्रतिक्रिया