तेल पनि किन्न नसकिने निर्यात

काठमाडौँ, १६ फागुन । चालु आर्थिक वर्षको ६ महिने अवधिमा कुल वस्तुको निकासीभन्दा ५ अर्ब रुपियाँ बढी  पेट्रोलियम आयात भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक अवस्थासम्बन्धी अर्धवार्षिक तथ्याङ्कअनुसार चालु आवको ६ महिनामा ३५ अर्ब ९२ करोड रुपियाँको कुल वस्तु निर्यात भएको छ । तर, त्यसको पाँच अर्ब बढी अर्थात् ४० अर्ब ६२ करोड ८० लाख रुपियाँको पेट्रोलियम आयात भएकाले कुल निर्यातले तेल किन्नसमेत नपुग्ने देखिएको हो ।
पेट्रोलियमको खपत अत्यधिक बढेकाले पनि मुलुकको वस्तु निकासीले आयातको अवस्था धान्न नसकेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । गत वर्षको तुलनामा चालु आवको ६ महिना अवधिमा मात्र पेट्रोलियम आयात ३२ प्रतिशतले बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको कच्चा तेलको मूल्यवृद्धिसँगै आयातमा समेत भारी वृद्धि हुँदा व्यापार सन्तुलन गुमेको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द ढुङ्गेल बताउँछन् । आयातमा भइरहेको वृद्धि नियन्त्रण गर्न नसकिने र उत्पादित वस्तुको निकासीसमेत बढाउन नसक्दा यस्तो अवस्था आएको ढुङ्गेलको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा वर्षेनि कच्चा तेलको मूल्य वृद्धि हुँदै जाने भएकाले आयात–निर्यातबीच ठूलो खाडल देखिएको उनको ठहर छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिले आयातमा ठूलो धनराशि थपिने तर मुलुकभित्र उत्पादित वस्तुको गुणस्तर र बजार प्रवद्र्धनमा सुधार हुन नसक्दा यो असन्तुलन बढ्दै गएको उनी बताउँछन् । ०६७ पुस मसान्तमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य प्रतिव्यारल ९९ दशमलव ७०  रुपियाँ अमेरिकी डलर रहेकोमा ०६८ पुस मसान्तमा १० दशमलव नौ प्रतिशतले वृद्धि भई प्रतिव्यारल एक सय १० दशमलव ५५ रुपियाँ अमेरिकी डलर पुगेकाले पनि व्यापार सन्तुलनमा असर पुगेको पुगेको उनको दाबी छ ।
मुलुकको व्यापार घाटा चुलिँदै गइरहेको अवस्थामा कुल वस्तु निर्यातभन्दा अर्ब बढीको पेट्रोलियम आयात हुनुले वैदेशिक व्यापारमा गम्भीर असर पुग्ने विश्लेकहरू बताउँछन् । सरकारले व्यापार घाटा कम गर्न रणनीतिक योजना बनाउने बताए पनि चालु आवको ६ महिना अवधिमा वस्तु व्यापार घाटा १७ दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । यसको प्रमुख कारण पेट्रोलियमको आयातमा भारी वृद्धि हुनु पनि रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । सो अवधिमा वस्तु व्यापार एक खर्ब ८० अर्ब ७७ करोड पुगेको छ ।
चालु आवको छ महिनासम्म कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११ दशमलव दुई प्रतिशतले वृद्धि भए पनि निर्यात–आयात अनुपात १६ दशमलव ६ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात १७ दशमलव चार प्रतिशत रहेको राष्ट्र बंैकले जनाएको छ ।
कुल वस्तु निर्यातमध्ये भारततर्पmको निर्यात सो अवधिमा १३ दशमलव नौ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा भारततर्फको निकासी २१ अर्ब १२ करोड २२ लाख रुपियाँ रहेकोमा चालु आवमा १३ दशमलव नौ प्रतिशतले वृद्धि भई २४ अर्ब ६ करोड सात लाख रुपियाँ पुगेको छ ।
चालु आवको अर्धवार्षिक अवधिमा अलैची निकासी १९ प्रतिशत बढेको छ । यो अवधिमा एक अर्ब १८ करोड ४५ लाख रुपियाँको अलैची भारत निकासी भएको पनि राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । सो तथ्याङ्कअनुसार यो अवधिमा दुई अर्ब ९७ लाख रुपियाँको जुटका सामान, एक अर्ब ९१ करोडको पोलिस्टर कपडा, दुई अर्ब ३७ करोड ४६ लाख रुपियाँको टेक्सटाइल भारततर्फ निकासी भएको छ ।
तर, अन्य मुलुकसँगको निर्यात अवस्था भने निराशाजनक देखिएको छ । सो अवधिमा अन्य मुलुकसँगको निर्यात ६ दशमलव एक प्रतिशतले वृद्धि भएको पनि सो तथ्याङ्कमा उल्लेख छ ।
यो अवधिमा भारततर्पm विषेशगरी जस्तापाता, लत्ताकपडा, पोलिस्टर धागो, जीआई पाइप र रोडा तथा ढुङ्गाको निर्यात बढेको छ । यस्तै, अन्य मुलुकतर्फ विशेषगरी ऊनी गलैँचा, तयारी पोसाक, पस्मिना, नेपाली कागज र चियाको निर्यातमा वृद्धि भएको छ । सो अवधिमा  कुल वस्तु आयात भने एक दशमलव आठ प्रतिशतले बढेर दुई खर्ब १६ अर्ब ६८ करोड रुपियाँ पुगेको राष्ट्र बंैकले जनाएको छ ।

प्रतिक्रिया