पश्चिम सेती बनाउन चाइना थ्री गर्जेज सहमत

काठमाडौं, १६ फागुन । पश्चिम सेती विद्युत् आयोजना निर्माणका लागि चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन सहमत भएको छ ।
ऊर्जा मन्त्रालयका पदाधिकारी र कर्पोरेसनबीच सोमबार र मङ्गलबार भएको वार्तामा चिनियाँ पक्ष निर्माणका लागि सहमत भएको हो । ऊर्जा मन्त्रालयका अनुसार, बुधबार दुवै पक्षबीच सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
मन्त्रालय स्रोतका अनुसार सन् ०१५ को जनवरीदेखि सार्वजनिक–निजी साझेदारी अन्तर्गत पश्चिम सेती आयोजना निर्माण गर्न चिनियाँ पक्ष सहमत भएको हो ।
सो आयोजनाले साढे चार वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखेको छ । सहमतिअनुसार ७५ प्रतिशत सेयर चिनियाँ पक्षले र २५ प्रतिशत सेयर नेपाल विद्युत् प्राधिकरणले खरिद गर्ने भएका छन् । उर्जा सचिव हरेराम कोइरालाले चिनियाँ पक्ष आयोजना निर्माणमा सहमत भएको जानकारी दिए ।
वार्तामा चिनियाँ पक्षका तर्फबाट कर्पोरेसनका कार्यकारी उपाध्यक्ष वाङ साओफेङ तथा ऊर्जा मन्त्रालयका तर्फबाट सह–सचिव एवं प्रवक्ता अर्जुन कार्कीको नेतृत्वमा ऊर्जा मन्त्रालयका वरिष्ठ इन्जिनियर सागरराज गौतमलगायत सहभागी थिए ।
पश्चिम सेती निर्माणका लागि चासो दिएको चाइना थ्री विश्वमै सबैभन्दा ठूलो २२ हजार पाँच सय मेघावाट विद्युत् आयोजना निर्माण गर्ने कम्पनी हो । कम्पनीले पश्चिम सेती निर्माणमा चासो दिएपछि ऊर्जा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी गत माघमा निर्माणका लागि औपचारिक रूपमा वार्तामा बोलाएको थियो ।
सात सय ५० मेघावाट सो आयोजना १६ वर्षसम्म अस्ट्रेलियाको स्मेक कम्पनीले लाइसेन्स लिएर निर्माण गर्न नसकेपछि गत साउनमा लाइसेन्स रद्द गरिएको थियो । पश्चिम सेतीको विद्युत् आन्तरिक रूपमै खपत हुने गरी बनाउन लागिएकाले नेपालमा देखिएको लोडसेडिङ घटाउनका लागि यो आयोजना महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया