डेडिकेटेड फिडरबाट जथाभाबी बिजुली

काठमाडौँ, १५ फागुन । नेपाल विद्युत् प्राधिकरणले मापदण्ड नबनाई जथाभावी रूपमा डेडिकेटेड फिडरबाट विद्युत् वितरण गरेको पाइएको छ । प्रक्रिया पुर्ययाएर स्वास्थ्य तथा सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्रमा डेडिकेटेड फिडर दिने प्राधिकरणको निर्णयको बेवास्ता गर्दै कर्मचारीको मिलेमतो र मन्त्रीको निर्देशनमा डेडिकेटेड फिडर वितरण भइरहेको हो ।
प्राधिकरणले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार लगायत सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र र स्वास्थ्य संस्थामा लोडसेडिङ नहुने गरी डेडिकेटेड फिडरमार्फत विद्युत् आपूर्ति गर्दै आएको छ । डेडिकेटेड फिडरबाट विद्युत् आपूर्ति गरेपछि लोडसेडिङ हुँदैन ।
त्यस्तो फिडर राख्नका लागि सम्बन्धित संस्थाले नै त्यसको खर्च बेहोर्नुपर्छ । प्राधिकरणले १ माघ, २०६५ मा जारी गरेको सार्वजनिक सूचनामा अस्पतालले डेडिकेटेड फिडर लिनका लागि निवेदन दिनुपर्ने र फिडर सम्बन्धित संस्थाले नै राख्नुपर्ने उल्लेख छ । त्यस्तै, एउटा फिडरबाट धेरै संस्थाले विद्युत् आपूर्ति गर्न नपाउने भए पनि धेरै स्वास्थ्य संस्थाले एउटै फिडरबाट विद्युत् सुविधा लिँदै आएका छन् ।
प्राधिकरण स्रोतका अनुसार धापासी खानेपानी आयोजनाको फिडरबाट बिपी स्मृति अस्पताल, ग्रिन सिटी अस्पताल, सहारा अस्पताल, कान्तिपुर डेन्टल अस्पताल र इसान बाल नर्सिङ होमले विद्युत् लगेका छन् । त्यसैगरी, बाँसबारी खानेपानी आयोजनाले लिएको फिडरबाट न्युरो अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र लगायतले र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको फिडरबाट राष्ट्रपति कार्यालय, प्रहरी तालिम केन्द्र, प्रहरी अस्पताल, निर्मल निवास, पूर्वशाहज्यादी प्रेक्षा शाहको निवास लगायतमा विद्युत् आपूर्ति भएको छ । महाँकाल फिडरबाट मेडिकेयर अस्पताल, ओम अस्पताललगायतले उक्त सुविधा लिएका छन् । स्पाइस नेपाल प्रालि (एनसेल) ले पनि फिडरको सुविधा लिएको छ ।
‘संवेदनशील क्षेत्रमा डेडिकेटेड फिडरको सुविधा दिनुलाई अन्यथा लिनुहुँदैन तर एउटै फिडरबाट धेरै संस्थाले एकसाथ सुविधा लिएर अनधिकृत रूपमा फाइदा उठाएका छन्, यसमा आर्थिक चलखेल भएको देखिन्छ,’ प्राधिकरण सञ्चालक समितिका एक सदस्यले भने, ‘अहिले पनि कतिपय कर्मचारीको मिलेमतोमा फिडर दिइरहेको जानकारी पाएका छौँ, यसमा मापदण्ड रहेनछ, सोर्सफोर्सका आधारमा काम हुँदै रहेछ ।’
डिजेलबाट विद्युत् आपूर्ति गर्दा प्रतियुनिट ३० रुपियाँभन्दा बढी पर्ने र फिडरको सुविधा लिँदा प्रतियुनिट ६ रुपियाँमा पाउने हुँदा यसमा चलखेल हुने गरेको छ । ‘प्राधिकरणसँग कुन आधारमा फिडर दिइयो भन्ने विवरण नै रहेनछ, हामी यसको खोजी गरिरहेका छौँ,’ ती सदस्यले भने ।
डेडिकेटेड फिडर वितरणका विषयमा प्राधिकरण कर्मचारीबीच पनि मतभिन्नता देखिएको छ । ‘एउटाले डेडिकेटेड फिडर लिएपछि त्यहीँबाट अर्कोलाई दिन पाइँदैन भन्ने मैले बुझेको छु, यसमा जथाभाबी भइरहेको पाइएकाले नियमनका लागि प्राधिकरण अघि बढेको छ,’ प्राधिकरणका वितरण तथा ग्राहक पूर्व शाखाका निमित्त महाप्रबन्धक गणेशप्रसाद राजले भने । उनका अनुसार जथाभाबी फिडर वितरण भएको बारेमा छानबिन थालिएको छ । डेडिकेटेड फिडर वितरणलाई व्यवस्थित बनाउन समिति बनाउने तयारी छ ।
प्राधिकरणको काठमाडौँ क्षेत्रीय कार्यालयका निर्देशक सुवास दाहालले प्राधिकरणकै नियन्त्रणमा रहने गरी एक डेडिकेटेड फिडरबाट थप संस्थालाई विद्युत् दिन पाइने दाबी गर्छन् । उनले भने, ‘कतिपय डेडिकेटेड फिडर सोर्सफोर्समा वितरण भएको छ, यसको व्यवस्थापनका लागि संयन्त्र बनाउन आवश्यक छ ।’
प्राधिकरणकै उच्च स्रोतका अनुसार न्युरो अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, ग्रिन सिटी अस्पताल, सहारा अस्पताल, कान्तिपुर डेन्टल अस्पताल र इसान बाल नर्सिङ होमले त प्राधिकरणको निर्णयबिना नै डेडिकेटेड फिडर लिएका छन् । यस विषयमा ऊर्जा मन्त्रालयले छानबिन थाल्ने समेत जनाएको छ ।
‘६ वटा डेडिकेटेड फिडर प्राधिकरणको निर्णयबिना नै कर्मचारीको मिलोमतोमा बाँडिएको भेटिएकाले मन्त्रालयले अनुसन्धान थालेको छ,’ ऊर्जा राज्यमन्त्री सूर्यमान दोङले भने, ‘मन्त्रालयले यसबारे अनुसन्धान गर्न समिति गठन गर्न लागेको छ ।’ उनका अनुसार कर्मचारीको मिलेमतोबिना यस्तो कार्य सम्भव छैन । ‘छानबिनपछि दोषीलाई कारबाही गर्छौँ,’ उनले भने ।

प्रतिक्रिया