मरुभूमिमा पानीजहाज

ट्युनिस, मध्य एसियाली राष्ट्र उज्वेकिस्तान र काजाकस्तानको सीमावर्ती क्षेत्र पुग्ने प्रायः सबैजना छक्क पर्ने गर्छन् । त्यहाँ विशाल क्षेत्रफलमा फैलिएको एउटा मरुभूमि छ । मध्य एसियामा मरुभूमि हुनु अनौठो होइन । तर, मरुभूमिभित्र पानीजहाज भेटिनाले धेरैलाई चकित बनाउने गरेको छ ।
मरुभूमिमा पानी जहाज कसरी पुग्यो ? धेरैको मनमा यो प्रश्न उब्जिन सक्छ । कारण पत्ता लगाउन केही दशकअघिको इतिहास पल्टाए पुग्छ ।
करिब पचास वर्षअघि त्यो ठाउँमा २६ सय वर्ग माइल क्षेत्रफलमा फैलिएको अरल समुद्र थियो । त्यतिबेला पानीबाहेक अरू केही नदेखिने ठाउँमा अहिले सुख्खा बालुवा फुङ्ङ उडिरहेको हुन्छ । उँटका बथान ओहोरदोहोर गरिरहेका हुन्छन् । टाढा टाढासम्म पानीको कुनै नामोनिशान देखिँदैन ।
स्कटल्यान्डजत्रो क्षेत्रफलमा फैलिएको अरल समुद्र कुनै बेला माछा मार्नेहरूका लागि आकर्षक ठाउँ थियो । तर, पानी सुकेपछि माछा मार्नेहरू पलायन भए, पानीजहाज र डुङ्गालाई छाडेर । त्यसरी छाडिएका पानीजहाज जीर्ण अवस्थामा अझै अलपत्र छन् ।
५० वर्षयता सो क्षेत्रको करिब ९० प्रतिशत पानी सुकिसकेको छ । अरल समुद्रमा मिल्ने नदीहरूको बहावलाई सन् १९६० को दशकमा तात्कालीन सोभियत सङ्घले अन्यत्रै मोडेपछि सो क्षेत्र मरुभूमिमा परिणत भएको हो । बृहत् सिँचाइ आयोजना निर्माण गर्ने नाउँमा नदीका प्रवाहलाई मोडिएको थियो । चर्को घामका कारण समुद्रको पानी सुक्न थालेपछि अहिले त्यो ठाउँ नुनको मात्रा ज्यादै उच्च भएको बालुवाले भरिएको छ ।
गत अप्रिल महिनामा संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले हेलिकोप्टरबाट सो क्षेत्रको निरीक्षण गरेका थिए । निरीक्षणपछि उनले मरुभूमीकरण अन्त्य गर्ने कार्यमा अग्रसर हुन सो क्षेत्रका नेताहरूसँग आग्रह गरेका थिए । अरल समुद्रलाई महासचिव मुनले ‘पानीजहाजको चिहान’ को संज्ञा दिएका थिए । (एजेन्सी)

प्रतिक्रिया