झारा फौजको मनोवृत्ति

पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तारका लागि सबैभन्दा बेसी प्रयोग गरेको फौज हो, झरेली फौज । उनले नुवाकोट हान्दा १२ सयजति अफिसर र सिपाही थिए भने हजारौं फौज त झरेली नै थिए । ती जागिरदार फौजको तलब भनेकै जमिन थियो भने झरेली फौजलाई जति जमिन जित्न सक्छौ, उति जमिन पाउने आश्वासन बाँडिएको थियो ।
सरदार भीमबहादुर पाण्डेको ‘त्यस बखतको नेपाल’ (भाग ५) अनुसार ‘फौजको आधार थियो जमिन र जमिन गुनाको फौज थियो । जति धेरै जमिन सरकारले आर्जन गर्न सक्यो, उति ठूलो फौज जम्न सक्ने गुन्जायस थियो ।… जमिनकै लोभ देखाएर पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरूले कति राजा रजौटा र भारदारहरूलाई नेपालमा मिलाएथे । गोर्खा फौजमा भर्ति लिने क्रम घटेपछि नेपालीहरू लागेका हुन् लाहोरतिर ।’
जमिनका भोका गोर्खालीलाई युद्धमा झोस र आफ्नो राज्य विस्तार गर । जागिर दिन नसकेपछि लाहुरे बनाएर पठाऊ अनि आफ्नो राज्य बचाउ । यस्तै थियो नेपालका शासकहरूको नीति । उनीहरूले राज्य विस्तार गर्न मात्रै होइन, दरबार र मन्दिर बनाउन पनि बेसी प्रयोग गरेको प्रथा हो, झारा । झारा फौज रैतीलाई ज्यालाविना काममा प्रयोग गर्ने झारा प्रथाकै एउटा रूप हो, जसमा संलग्न रैतीलाई झरेली वा झाराली भनिन्थ्यो । पछि झारा प्रथालाई सरकारी र सार्वजनिक काममा जबर्जस्ती प्रयोग गर्न थालिएपछि झारा टार्ने मानसिकता पनि विकास भएको हो, धेरैजसो रैतीमा ।
पृथ्वीनारायण शाहको युद्धकौशलबाट धेरै सिकेको भनाइ राख्ने  एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले पनि जनयुद्धको क्रममा झाराली फौज नै प्रयोग गरेका थिए त ? उनीहरूलाई अनेक सेवा, सुविधा र भत्ता दिने लोभ देखाएरै युद्धको आगोमा झोसेका थिए त ? यस्तै प्रश्न उठेका छन्, हिजो प्रचण्डको निर्देशनमा लडेका मानिसहरू ‘सुविधा र हैसियतका लागि’ फेरि लड्न थालेको देख्दा । यही नयाँ लडाइँको क्रममा ‘हिजोका मास्टर पुष्पकमल दाहाल आफ्नो काँध चढेर, १० हजारको बलिदानी दिएर प्रचण्ड बनेको’ तल्लो स्तरको हुङ्कार पूर्वलडाकुहरूका मुखबाट सुन्दा लडाकुहरूको भर्ति र स्वैच्छिक राजनीतिबारे
सवाल उठेका छन् ।
पक्कै पनि पार्टीमा कुनै पनि नेता–कार्यकर्ताका योगदान, क्षमता र सांस्कृतिक स्तरअनुसार पद र जिम्मेवारी, अधिकार र कर्तव्य निश्चित गर्ने लोकतान्त्रिक परिपाटी र संस्कृति हुनुपर्छ । त्यस्तो परिपाटी र संस्कृति नहुँदा पार्टी वा जनवर्गीय सङ्गठनमा कुनै न कुनै निहुँमा भाँडभैलो हुनु अनौठो होइन । तर, अब माओवादीमा त्यस्तो परिपाटी र संस्कृति भताभुङ्ग भएको मात्रै होइन, पार्टी नै निष्क्रिय भई ‘पाटी’जस्तो हुन थालेको र पार्टीको नाममा उच्च पदाधिकारीमात्रै क्रियाशील रहेको बेला अनेक भाँडभैलो देखिनु स्वाभाविकै हो । पार्टीमा ‘जजसले खोस्न सक्छ, खोसेर खाऊ’ भन्ने पुँजीवादी संस्कृति हाबी हुन थालेको बेला नेता–कार्यकर्ताहरूले आफ्ना राजनीतिक र सैनिक कामलाई नै गोर्खाली राज्यको झारा फौजकै स्तरमा राख्न थालेको प्रतीत हुँदैछ । उनीहरूको व्यवहारले सवाल उठाएको छ, के उनीहरूलाई पनि गोर्खाली झारा फौजलाई जस्तै लडाइँ जितेपछि ठूलो जागिर, धेरै जमिन पाइने, दर्जा इज्जत बढ्ने, मरेमा आफ्ना सन्तानले ‘मरावट’ (निवृत्तिभरणजस्तो) पाइने प्रलोभन नै दिलदिमागमा भरेरै युद्धमा भर्ति गरिएको वा राजनीतिक काममा लाग्न हाँकिएकै हो त ?
राजनीति स्वयंसेवी कार्य हो कि अरूको करकापमा गरिने काम हो ? त्यसमा पनि, वामपन्थी राजनीति स्वेच्छाले गरिने मुक्तिदायी कर्म हो कि वा नेताहरूको दबाब वा जागिरको लोभलालचमा गरिने ‘झारा प्रथा’ हो ? हुन त सबैजसो राजनीतिक दलका लागि सत्ताको गल्लीमा गरिने राजनीति आफैं ठूलो उद्योग र व्यापार हुन थालेको बेला यस्ता प्रश्नमा कुनै तुक नरहन सक्छ । त्यसो त ‘देश र जनताको मुक्तिका लागि’ भन्दै मर्न–मार्न पनि तयार भएका एमाओवादीका नेता–कार्यकर्तामा पनि राजनीतिक उद्यमको मानसिकता र संस्कृति हाबी हुन थालेको छ । अन्य दलमा जस्तै माओवादीमा पनि पार्टी नै व्यापारिक कम्प्लेक्सजस्तो हुने, व्यापारिक कार्यालयजस्तो चल्ने, १० देखि पाँचसम्म खुल्ने, नेता–कायकर्ता जागिरदारजस्तो देखिने र कार्यसंस्कृति पनि जागिरे ड्युटीजस्तै बजाउने स्थिति पनि देखिएको छ । त्यसैले होला, माओवादीको राजनीतिक उद्यममा पनि अधिकांश नेता–कार्यकर्ता मोलमोलाइ, सामूहिक सौदाबाजी, लेनदेनका लागि दबाब दिँदै, हुङ्कार भर्दै हिँड्नु पनि सामान्यजस्तै हुन थालेको छ ।
वामपन्थी राजनीति भनेको झारा प्रथाको निरन्तरता होइन, कहीँ त्यसो गरिएको भए बेठीक भएकै ठान्नुपर्छ । वामपन्थी राजनीतिमा लाग्नु भनेकै स्वैच्छिक कर्म गर्नु हो, स्वेच्छाले राजनीतिक कार्यकर्ता बन्नु हो, भोलन्टियर भएर काम गर्नु हो । वामपन्थी राजनीतिको उद्देश्य हो, समाजको मुक्ति र प्रगतिको पथमा लैजानु । यस्तो उद्देश्यमा समाजको मुक्ति र प्रगतिसँगै आफ्नो पनि मुक्तिको सवाल जोडिएको छ । तर, यो जोडाइबारे कमै नेता–कार्यकर्तालाई दीक्षित गरिएको छ । आफूलाई अरू मानिसलाई मुक्त गर्ने मुक्तिदाता ठान्ने अहङ्कारी मानसिकताको विकास पनि त्यही कारण जन्मिएको हो ।
वामपन्थी राजनीतिको क्रममा सबै उत्पीडित वर्ग र तह–तप्काको मुक्तिका लागि लडिने लडाइँलाई आफू स्वयम्को पनि मुक्तिका लागि लडिने सङ्घर्षको रूपमा एकाकार गर्न सकिएको छैन । आफ्नो पनि मुक्तिका लागि गरिने स्वयंसेवी कामको रूपमा वामपन्थी राजनीतिलाई बुझिएन वा बुझाइएन भने अनेक समस्या पैदा हुन्छ नै । त्यस्तो समस्या पैदा गर्ने काममा सघाएको छ, आफ्नो निश्चित पेसा, व्यवसाय वा उद्यम नगरी पेसेवर राजनीति गर्ने परिपाटीबाट पनि ।
कुनै पेसा, व्यवसाय वा उद्यम नगरिने भएकाले कुनै निश्चित समाज, समुदाय, समूह वा तप्काप्रति जिम्मेवार नहुनुपर्ने, त्यहाँबाट निर्वाचित पनि हुनुनपर्ने र उनीहरूको निगरानीबाट पनि बच्न पाइने सुविधा पेसेवर राजनीतिमा छ । युद्धमा जस्तो पेसेवर नेता–कार्यकर्ताको लाखांै पङ्क्तिलाई धान्न नसकिने शान्तिपूर्ण राजनीतिमा माओवादी पार्टीले वाइसिएलमा रहेका पूर्वलडाकुलाई कसरी सेवा, सुविधा र हैसियत प्रदान गर्ने हो, हेर्न बाँकी छ । आफ्ना लडाकुको समायोजनसँगै सुरु भएका अनेक विग्रहले एमाओवादीलाई रोजगार कम्पनीको रूपमा विकास गर्ने हो कि भत्केपाटीमा फेर्ने हो, समयले बताउने छ नै ।

प्रतिक्रिया