मृत घोषितलाई ‘आई लभ यू’ ले बचायो

इडेनबर्ग, १४ फागुन । स्कट्ल्यान्डको राजधानी इडेनबर्गमा रहेको ‘इडेनबर्गस् रोयल इन्फमरी’ अस्पतालमा हृदयाघात भएकी एक महिलालाई उपचारका लागि ल्याइएको थियो । लोर्ना बेल्ली नाम गरेकी ४९ वर्र्षीया महिला अस्पताल पु¥याउँदा ज्यादै सिकिस्त भइसकेकी थिइन् ।
बेल्लीलाई बचाउन तीन घन्टा लामो प्रयास असफल भएपछि डाक्टरहरूले उनलाई मृत घोषणा गरे । उनलाई कृत्रिम रूपमा केही समय जीवित राखियो । आमाको मृत्यु भएको सुनेर छोराछोरी शोकाकुल हुँदै उनलाई राखिएको ओछ्यान वरिपरि सुँक्क सुँक्क गर्दै भेला भए ।
त्यतिकैमा शारीरिक रूपमा अशक्त बेल्लीका ५८ वर्षीय पति जोन उनीछेउ आए र श्रीमतीको कानमा ‘आइ लभ यू’ भने । अचानक बेल्लीको अनुहारको रङ फेरियो । कोठामा भएकी नर्सले अनुहारमा आएको परिवर्तन आशालाग्दो भएको बताउँदै बेल्लीको मृत शरीरमा पुनः प्राण सञ्चार भएको हुन सक्ने आशङ्का गरिन् । नभन्दै केही छिनपछि बेल्लीको आँखीभौँ हल्लिन थाले । आमाको हात समाएर बसेकी जेठी छोरी लियनले आमाले आफ्नो हात दबाएको महसुस गरिन् ।
यस्तो चामत्कारिक घटना भएको सुन्नासाथ डाक्टरहरू आए र उनको नाडीमा कम्पन रहेको फेला पारे । लगत्तै उनलाई गहन उपचारकक्षमा लगियो । छोरी लियोनले भनिन्, ‘मम्मी, फिर्ता आउनू’ भन्दै कामना गरिरहेको थिएँ । त्यतिकैमा बाबुले ‘प्रिये, नजाऊ । म तिमीलाई माया गर्छु’ भन्नुभयो । नभन्दै उहाँ फर्किएर आउनुभयो ।’
फेब्रुअरी १० मा हृदयाघात भएकी उनी मृत्युको मुखबाट फर्किए पनि जीवित रहने सम्भावना थिएन । उनी कोमामा थिइन् । उनका दुवै किड्नीले काम गर्न छाडेका थिए । तर, उनको अवस्थामा क्रमिक सुधार हुन थाल्यो । गत साता उनलाई गहन उपचारकक्षबाट साधारण उपचारकक्षमा ल्याइएको छ । अस्पतालका डाक्टर डेभिड फर्कहर्सनले मृत घोषित हुने मानिस फर्किनु सामान्य नभएको बताए । बेल्लीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी उनले दिए ।
(डेलिमेल)

प्रतिक्रिया