कसैको छ तागत ?

गएको साता जयप्रकाश गुप्ताले नेपाली समाजले दिएको एउटा चुनौती स्वीकार गरे । उनले आफूलाई जेल हाल्ने र दण्डजरिवाना गर्नेसर्वोच्च अदालतको फैसला खुरुक्क माने । त्यसलाई तत्काल कार्यान्वयन गर्न त्यही अदालतलाई गुहारे । उनी त्यही अदालतले ज्यानमारा घोषित गरेका एकजना सभासद् जसरी ‘फरार’ भएनन् । राजनीति गर्ने मानिस, चुनावको नशा जति लागे पनि ‘एकपटक चुनाव नलडौँला’ पनि भने ।
गएकै साता जयप्रकाशले आफ्नो समाजलाई एउटा चुनौती पनि दिए– ‘जुन कसीमा घोटेर उनलाई भ्रष्टाचारी ठहर गरियो त्यही कसीमा अरूलाई घोटी हेर ।’
उनले भनेजस्तो गरी सार्वजनिक ओहोदामा बसेका मानिसहरूले जयप्रकाशले दिनुपरेका परीक्षा दिनुप¥यो भने त्यसको परीक्षाफल कस्तो आउला ? त्रिभुवन विश्वविद्यालयले प्रकाशित गर्ने आफ्ना विद्यार्थीको परीक्षाफलभन्दा झुर पो आउला कि ? जयप्रकाशले चाहिँ यसवारे ढुक्क भएर भनेका छन्, ‘यहाँ कसै (न्यायाधीश, कर्मचारी र नेता) ले ठड्याएको घर पनि वैध हुँदैन र कोही (न्यायाधीश, कर्मचारी र नेता) पनि सदाचारी ठहर्दैन ।’
जयप्रकाशले यसो भन्नुभन्दा २२ वर्षअघि निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य हुँदा नेपालीले यस्तै नेपालको परिकल्पना गरेका थिए होलान् ? यसको जवाफ खोज्न २५ असार २०४७ सालको गोरखापत्र दैनिकमा छापिएको शरच्चन्द्र वस्तीको एउटा लेख पढ्नुपर्छ । त्यस लेखमा उनले जेठ २०४७ सालमा अन्तरिम सरकारले घोषणा गरेको आफ्नो नीतिगत मार्ग निर्देशनको सम्झना गराएका छन् । त्यसमा भनिएको रहेछ– ‘हरतरहका भ्रष्टाचारी र बदमासहरूलाई दण्डित गरिनेछ ।’ यसले २०४६ सालको जनआन्दोलनको मूल मर्म बोकेको थियो ।
त्यस लेखमा वस्तीले अहिले गुप्ताले जसजसलाई औँला ठड्याएका छन्, तीभन्दा महत्वपूर्ण कुरा अर्कै छ भनेका थिए । उनले राजनीतिक पार्टीहरूको आर्थिक कारोबारलाई सबैभन्दा सशक्त, ज्वलन्त र राजनीतिक इमानदारीका दृष्टिले सर्वाधिक महत्वपूर्ण र मूल कुरो मानेका थिए । उनले त्यतिबेला उठाएका केही कुरा यसप्रकार थिए– राजनीतिक पार्टीहरूको सम्पत्ति छानबिन हुनुपर्छ, पार्टीले हरेक आर्थिक वर्षको समाप्तिमा आफ्नो आम्दानी, आयस्रोत र खर्चबर्चको विवरण सरकार र जनताका सामु खुला रूपमा राख्नुपर्छ ।
उनले भनेका थिए, ‘अवैध सम्पत्ति थुपार्ने मन्त्री र भूपू मन्त्रीहरू दण्डनीय हुन्छन् भने त्यस्तै काम गर्ने राजनीतिक पार्टीचाहिँ किन क्षम्य हुनुपर्ने ? एउटा असल उद्देश्य घोषणा गरेर खडा भएको पार्टीको लक्ष्य प्राप्ति गर्ने बाटो पनि स्वच्छ, पवित्र, शुद्ध र निष्कलङ्क नै हुनुपर्छ भनेर मान्न किन पसिना आउनुपर्ने ?’
हामीले अपनाएको जस्तो शासनव्यवस्थामा राजनीतिक दल शासनको केन्द्रबिन्दुमा हुन्छन् । त्यसैले, हाम्रो समाज सदाचारी छ कि भ्रष्टाचारी भन्ने कुरा ती दल र शासनको बागडोर सम्हाल्ने मानिस सदाचारी छन् कि भ्रष्टाचारी भन्ने कुरामा निर्भर गर्छ । भ्रष्टाचार र सिँढी बढार्ने काम माथिबाट थाल्नुपर्छ भन्ने चिनियाँ उखान हाम्रो सन्दर्भमा उत्तिकै सान्दर्भिक छ ।
अर्थात् राजनीतिक दल र तिनका नेतासँग लुकाउनुपर्ने कारोबार हुनुहुँदैन ।
जुन राजनीतिक दल र त्यसका नेता लुकाउनुपर्ने गरी कालो कारोबार गर्छन् तिनले आफ्ना जनताबाट कर उठाउने हैसियत गुमाउँछन् । विगतका धेरै अर्थमन्त्रीहरू– उदाहरणका लागि रामशरण महत, भरतमोहन अधिकारी र बाबुराम भट्टराईले व्यापारी, उद्योगपति, व्यवसायी र आम नागरिकले हरेक आर्थिक वर्ष सकिएको निश्चित समयमा त्यस आर्थिक वर्षको कारोबार पेस गरी त्यसका आधारमा कर तिराउने गरेका छन् । तिमी र तिम्रो पार्टी हरेक वर्ष आफ्नो हिसाबकिताब जनतालाई पेस गर्दैनौ भने अरूलाई त्यसो गर भनेर भन्ने हिम्मत र कानुनी आधार तिमी र तिम्रो पार्टीसँग कहाँ हुन्छ ? आफ्नो हिसाबकिताब पेस नगरीकन अर्काको हिसाबकिताब माग्ने अधिकार निरङ्कुश शासकलाई मात्र हुन्छ । यस सन्दर्भमा, जयप्रकाशले दिएको चुनौती पनि एकदमै मननीय छ ।
जयप्रकाशको व्यक्तिगत र राजनीतिक जीवन, बाटोमा गिरिजाप्रसाद कोइरालाको ठूलो प्रभाव छ । ०६१ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जवाफ दिन जान नपरोस् भनी गिरिजाप्रसादले सर्वोच्च अदालत गुहारे । सर्वोच्चले आयोगमा जानुपर्ने ठहर गर्यो । त्यसपछि गिरिजाप्रसादले सर्वोच्च अदालतलाई ‘निरीह र विवेकशून्य’ भनेका थिए ।
जयप्रकाशले गिरिजाप्रसादको बाटो समात्न सक्थे । यसो गर्नु सजिलो पनि थियो । गिरिजाप्रसादले आफैँले कल्पना गरेको सर्वोच्च अदालतको अपमान गरेका थिए । जयप्रकाश त अलि अघि मात्रै देशै टुक्र्याउने कुरा गरेको भनी विवादमा तानिएका थिए । यस्ता बेलामा, जेल बस्न नेपाली समाजले दिएको चुनौती उनले स्वीकार गरे । यसको वदलामा, नेपाली समाजले जयप्रकाशले दिएको चुनौती स्वीकार गरी सबैभन्दा पहिले सबै राजनीतिक दल र नेतालाई जयप्रकाशलाई घोटेकै कसीमा घोट्न सक्नुपर्छ । राजनीतिक नेतृत्वलाई त्यस कसीमा घोटेका खण्डमा भ्रष्टाचारको मुहान बन्द हुन्छ । अरूले हत्तपत्त भ्रष्टाचार गर्ने हिम्मत गर्दैनन् ।
अदालतले भ्रष्टाचारी ठहर गरेका जयप्रकाशले सदाचारीको कसीमा घोटिन दिएको चुनौती स्वीकार गर्ने तागत सदाचारी नेपाली समाजसँग छ ?

प्रतिक्रिया