बोक्सीको आरोपमा कुटपिट

राजविराज, १३ फागुन । कथित बोक्सीको आरोपमा सप्तरी वरही वीरपुरमा ३८ वर्षीया सुजनदेवी यादव कुटिएकी छन् । छिमेकी बद्रीनारायण यादव र उनका परिवारले शुक्रबार राति यादवलाई कुटपिट गरेका हुन् ।
झारफुकका क्रममा झाँक्रीले ग्रहदशा बिग्रनामा सुजनदेवीको हात रहेको भनेपछि उनीमाथि कुटपिट भएको पति झवरलालले बताए । ‘झारफुकमा मेरी पत्नी बोक्सी भएकी र टुनामुना लगाएर ग्रहदशा बिगारेकी भनेर तिनले कुटपिट गरे’, उनले भने, बद्रीका छोरा धर्मनारायण, पत्नी अमिर्कादेवी र झाँक्रीदम्पत्ति सप्तरी कोचावखारीका संझादेवी राम र उनका पति रामदेवले घरबाटै घिसार्दै बाहिर आँगनमा ल्याएर मरणासन्न हुने गरी कुटे ।’
घाइते यादवको सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । कुनै टुनामुना नजानेको तथा धामीझाँक्रीकै कारण आफू कुटिनुपरेको पीडित यादवले बताइन् । उनले कुटपिट गर्ने तथा मानसिक यातना दिनेहरुमाथि कडा कारबाहीका लागि पहल गरिदिन माग गरिन् ।
घटनाको विरोध र दोषीमाथि कारबाहीको माग गर्दै अधिकारवादीले विज्ञप्ति निकालेका छन् । प्रकाश खतिवडा, जङ्गबहादुर सिंह, किशोर यादव केसी, आभा सेतु सिंहलगायतले शनिबार छुट्टाछुट्टै विज्ञप्ति प्रकाशन गरी घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेका हुन् । घटनाको अनुसन्धान भइरहेको सप्तरीका डिएसपी गोविन्द
अधिकारीले बताए ।
दुई महिनाअघि पनि सप्तरीको वभनगामा कट्टी–३ चकला टोलकी सियादेवी मण्डल बोक्सीको आरोपमा कुटपिटमा परेकी थिइन् ।

प्रतिक्रिया