डिप्रेसनमा निहिता

काठमाडौँ, १२ फागुन । निहिता विश्वास । साथीसँगी अनि परिवारबीच मात्र सीमित यो नामले ‘ख्याति’ पाउनुका पछाडि अर्को एउटा ‘कुख्यात’ नामको भूमिका छ– चाल्र्स सोभराज । ‘बिकिनी किलर’ सोभराजका अपराधी मुद्दाहरू नेपाली इजलासहरूमा पर्गेलिने क्रमसँगै निहिता पनि नेपाली सञ्चारमाध्यमका अभिन्न सामग्री बन्न थालेकी हुन् । सोभराजकी प्रेमिकाका रूपमा ।
अपराधै–अपराधको जालोमा घेरिएका सोभराज र कञ्चन किशोर वयकी निहिताबीच प्रेमिल तादात्म्य कसरी जु¥यो, त्यो आफ्नो ठाउँमा छ । एक्कासि नेपाली सञ्चारमाध्यमको ‘हटकेक’ बनेको उनीहरूको सम्बन्धबारे अनेक आशङ्का र टिप्पणी भने उठेकै हुन् । सोभराज वृद्ध वयतिर उकालिँदै गर्दा निहिता भर्खरै युवावस्थामा उक्लिँदै थिइन् । तर निहिताले दाबी गरिरहिन्– ‘यो पवित्र प्रेम हो, कुनै स्वार्थ होइन ।’ सर्वोच्च अदालतले १४ साउन २०६७ मा पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गर्दै उनलाई आजीवन कारावासको सजाय सुनाउँदा सबैभन्दा दुःखी र असन्तुष्ट निहिता नै देखिन्थिन् । सोभराजले सन् १९७५ मा अमेरिकी मोडल कोन्जिनो ब्रोन्जिचको हत्या गरेबापतको सजाय सर्वोच्चले सुनाएको हो ।
यसबीच निहिताले ९ अक्टोबर २००८ मा केन्द्रीय कारागारभित्रै सोभराजसँग विवाह गरिन् । उनीहरू भावनात्मक एवम् पारम्परिक रूपले एक त भए तर दाम्पत्य सुखको अनुभूति गर्न पाएनन् । सोभराजसँगको सम्बन्धबारे धर्मराउन चाहँदिनन् उनी, तर यसका ‘साइड इफेक्ट’ उनमा प्रस्टै देखिन थालेका छन् । उनी डिप्रेसनले गाँजिएकी छन् । डिप्रेसन त सर्वोच्चको फैसलापछि नै सुरु भएको हो, तर पछिल्ला दिनमा त्यो झनझनै बढ्दै गइरहेको छ । लुभुस्थित घरको कोठामा एक्लै बसिरहन्छिन् । कसैसँग बोलेर रमाइलो गर्ने चाहना उनमा छैन । अत्यधिक डिप्रेसनले उनलाई प्यारालाइसिस भयो । मुम्बईको मानवती अस्पताल पु¥याएपछि ठीक पनि भयो ।
यसबीच नेपाली दर्शकहरूले निहितालाई भारतीय रियालिटी शो ‘बिगबोस’मा देखे । तर त्यहाँ उनी धेरै दिन टिक्न सकिनन्, पाँचौँ सिजनमै बाहिरिइहालिन् । त्यहाँ पनि अन्य सहभागीले उनीसँग कुरा गर्ने विषय सोभराजसँगको सम्बन्धै हुन्थ्यो । सोभराजका विगत कोट्याउँदै ‘सम्बन्ध’ लाई होच्याएर गर्ने टीकाटिप्पणीले उनलाई घोचिरहन्थ्यो । प्राणयिक सुखको अभावमा रहेकी उनलाई अन्य सहभागीले जिस्क्याएजसरी ‘सेक्स’ का कुराहरू सोद्घा असह्य पीडा हुन्थ्यो रे । यिनै अप्ठ्याराहरूबीच ‘कन्फिडेन्ट’ हुन नसक्दा पाँचौं चरणबाटै बाहिरिनुप¥यो उनले । मनमा गडेको त्यो पीडा शारीरिक नसाहरूमा फैलियो, उनी फेरि प्यारालाइसिसको सिकार भइन् । राति ११ बजे एक्कासि ढलेकी उनलाई फेरि मानवती अस्पताल पु¥याइयो । छ दिनको उपचारपछि उनी नेपाल फर्कन सक्ने भइन् । प्यारालाइसिसको पूरै असर हटिसकेको भने छैन, ‘इमोसनल’ कुराहरू गर्दा मुहारमा देखिने अत्यास अनि कामिरहने ओठहरूले त्यसलाई पुष्टि गर्छन् । भनिन्– ‘बिगबोसबाट बाहिरिएलगत्तै शरीरमा ‘सक’ लागेजस्तो भएको थियो ।’
डिप्रेसनले थलिएपछि श्रीमान् सोभराजलाई भेट्न सकेकी छैनन् उनले । सोभराजले बेला–बेला पठाउने चिठीहरूले शिथिल बन्दै गएको उनको मानसिकतालाई ब्युताउँने गर्छन् । “अहिलेसम्म ३० वटाभन्दा धेरै चिठी लेख्यो होला”–उनले सम्झिइन्, ‘ती चिठीलाई पुस्तकका रूपमा प्रकाशन गर्नेछु’ । चिठीको सिरानमा ‘माई हनी, स्विट लभ, माइ प्रेसियस वाइफ’ जस्ता शब्द अनि सुस्वास्थ्यको कामना गरिएको हुन्छ रे ! ‘मायालु शब्दहरू भरिएका चिठीमा ‘ह्वेन यू आर, देन आइएम’ भन्ने शब्दले मेरो हृदय छोएको छ’ –थोरै कारुणिक भइन् उनी ।
श्रीमान्ले लगाइदिएको सिन्दूरपोते पूजाकोठामा राखेकी छन् रे । सोभराजको बच्चाकी आमा बन्ने सपना साँचेकी उनले ‘छोरीको नाम’ समेत जुराइसकेकी रहिछन् । तर सुनाइहाल्न चाहिनन् । ‘चाल्र्स भित्र गएपछि म धेरै रोएँ, ऊ बाहिर आइदिए उसको अँगालोमा रुन्थँे, मलाई किन एक्लै पारेको भनेर झगडा पनि गर्थेँ’ –मनभित्रको नमीठो निश्वासले यतिखेर उनको अनुहारको रूपरङ्ग बिगारिसकेको प्रस्टै देखिन्थ्यो ।

प्रतिक्रिया