प्रहरीद्धारा सामूहिक राजीनाको घोषणा

दाङ, १२ फागुन । दाङमा अनेरास्ववियु र युवा संघका नेताहरु समक्ष चार जना ट्राफिक प्रहरीलाई माफि माग्न लगाएपछि प्रहरी निरीक्षक सहित १३ जनाले सामूहिक राजीनामाको घोषणा गरेका छन ।
डिउटीमा खटिएका चार प्रहरीले इमान्दारिता पूर्वक कर्तव्य निभाउदा निभाउदैपनि माफि माग्न लगाएको भन्दै सार्वजनिक रुपमा राजीनामाको घोषणा गरेका हुन् । शुक्रवार विहान प्रहरीले अनटेष्ट लेखेको मोटरसाइकललाई कार्वाहीका लागि नियन्त्रणमा लिएपछि स्थिति तनाव पूर्ण भएको थियो ।
मोटरसाईकललाई कारबाही गरेको आरोपमा आफूहरुलाई गलत बिषयमा माफि माग्न लगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरीको भनाई छ । राजीनाको घोषणा गर्दै प्रहरीहरुले सार्वजनिक रुपमै बर्दी छोडाएर फालेका थिए । उनीहरुले १३ गते राजीनामा दिने दाबी गरेका छन् ।
राजीनामाको घोषणा गर्नेहरुमा प्रहरी निरीक्षक पूर्ण बहादुर भण्डारी, सई बालबन्धु बस्नेत, असई धनबहादुर बोहोरा, प्रहरी हवल्दारद्धय पदम बहादुर रावल र सन्तोष शाह रहेका छन् । त्यस्तै प्रहरी जवानहरुमा राजकुमार कार्की, माधब प्रसाद पोख्रेल, रमेशदत्त भट्ट, डिकेन्द्र बहादुर बिष्ट, दयाराम चौधरी, चन्द्री चन्द, लालबहादुर देउवा र किरण ज्ञवाली रहेका छन ।
युवासंघका स्थानीय नेता गणेश नेपालीले चलाएको मोटरसाईकलको विलवुक, लाइसेन्सलगायतका कागजपत्र नभएको ट्राफिक प्रहरीको भनाई छ । कागजपत्र नपाएपछि अनटेस्ट लेखेको मोटरसाइकल ट्रफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही चलाएको थियो ।
जिल्ला ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालयका डिएसपी, अनेरास्ववियु दाङका अध्यक्ष, नेपाल युवा संघ, नेपाल पत्रकार महासंघ दाङलगाएतका जिम्मेवार निकाएका प्रमुखहरुले सहमति पत्रमा संयुक्त रुपमा हस्ताक्षर गरि उनीहरुलाई माफि माग्न लगाएका थिए ।
प्रहरीहरुलाई माफि माग्न लगाए लगतै उनीहरुले बर्दी फुकालेर फालेका थिए । साथै उनीहरुले इमान्दार प्रहरीको नैतिकता गिराइएको आरोप लगाएका छन् ।
मोटरसाइकललाई प्रहरीले बिहान पौने १० बजे घोराहीस्थित निमाहल रोडबाट नियन्त्रणमा लिईएको थियो ।
अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य विवेक श्रेष्ठलाई ट्राफिक प्रहरीहरुले हातपात गरेको ट्राफिक प्रहरीलाई आरोप लागेको छ । श्रेष्ठलाई हातपात भएको भन्दै अनेरास्ववियुले केही समय चक्का जाम समेत गरेको थियो ।

प्रतिक्रिया