गणेश नेपालीको निधनपछि वीर अस्पताल परिसरमा तनाव

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर घाइते भएका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि वीर अस्पताल परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ । उनको निधनको खबर फैलिएपछि अस्पताल परिसरमा सर्वसाधारण तथा शुभेच्छुकको भीड बढेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

२५ वर्षीय गणेश नेपालीले बिहीबार दिउँसो राहदानी विभाग अगाडि आफ्नो शरीरमा आगो लगाएका थिए । घटनापछि उद्धार गरी उनलाई वीर अस्पताल पुर्‍याइएको थियो। गम्भीर अवस्थामा उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भएको हो ।

नेपाली मुगुको सोरु गाउँपालिका–१ का बासिन्दा थिए। प्रारम्भिक विवरणअनुसार उनी काठमाडौंमा राइड सेयरिङ सेवा सञ्चालन गरेर जीविका चलाउँदै आएका थिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

उनको उपचारका क्रममा सरकारले सम्पूर्ण खर्च व्यहोर्ने र थप उपचारका लागि भारत लैजाने तयारीसमेत गरेको थियो । तर चिकित्सकको सुझावपछि तत्काल अन्यत्र स्थानान्तरण नगरी वीर अस्पतालमै उपचार जारी राखिएको थियो ।

नेपालीको निधनपछि अस्पताल क्षेत्रमा हुन सक्ने सम्भावित प्रदर्शन र भीड व्यवस्थापनका लागि सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ । अस्पताल परिसरमा नेपाल प्रहरीका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

घटनालाई लिएर विभिन्न राजनीतिक दल, नागरिक समूह तथा युवाहरूले राज्यको जिम्मेवारी र सार्वजनिक सेवाको अवस्थामाथि प्रश्न उठाउँदै आएका छन् । घटनाको वास्तविक कारण र जिम्मेवार पक्षबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया