हिलारीको चुनावी अभियान सुरु

Hilariवासिङ्टनडिसी, १ वैशाख । अमेरिकी पूर्व विदेशमन्त्री तथा पूर्व प्रथम महिला हिलारी क्लिन्टनले सन् २०१६ को राष्ट्रपतिय निर्वाचनका लागि डेमोक्रेटिक उम्मेदवार बन्ने घोषणा गरेकी छिन् । सोमबार ३ बजेपछि सार्वजनिक गरिएको भिडियोमा बोल्दै क्लिन्टनले राष्ट्रपतिको दौडमा आफू रहेको बताएकी छिन् । ‘हरेक दिन अमेरिकीहरू च्याम्पियन चाहन्छन् र म त्यो च्याम्पियन बन्न चाहन्छु ।’

हँसिलो देखिएकी क्लिन्टनले जनतालाई सम्बोधन गर्दै भनेकी छिन्, ‘म तपाईंहरूको भोट पाउन सडक तताइरहेको छु किनकी यो तपाईंहरूको समय हो र मलाई आशा छ, मेरो यात्रामा तपाईंहरूको साथ रहनेछ ।’

हिलारी क्लिन्टनको चुनावी अभियानका अध्यक्ष जोन डी पोडेस्टाले चुनावी अभियानका दाता तथा क्लिन्टनका लामो समयदेखिका सहयोगीहरूलाई इमेल गरेको केही मिनेटभित्रै क्लिन्टनको उम्मेदवारी घोषणा भएको थियो । पोडेस्टाले यथाशीघ्र नै क्लिन्टनले इओवमा आफ्ना भोटरहरूलाई भेट्ने र आगामी महिना औपचारिक चुनावीसभा गर्ने जानकारी दिएका छन् । कुनै पदमा नरहेका कारण क्लिन्टनलाई चुनावी प्रतिस्पर्धामा खासै चुनौति नहुने अनुमान लगाइएको छ ।

पछिल्लो समय सन् २००८ मा क्लिन्टन राष्ट्रपतिका लागि डेमोक्रेटिकतर्फकी सबैभन्दा बलियो उम्मेदवार मानिएकी थिइन् । तर, राष्ट्रपतिका लागि बलियो प्रत्यासी हुँदाहुँदै उनले अन्तिम समयमा बाराक ओबामालाई राष्ट्रपति बनाउन भूमिका खेलिन् । यसपटक क्लिन्टनले विजय हासिल गरेमा प्रमुख पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने पहिलो महिला हुनेछिन् । सन् २०१६ को चुनावी अभियानका लागि क्लिन्टन सक्रिय रहँदा उनको सेलिब्रेटी छविले चर्चा पाउने अनुमान विश्लेषकहरूको छ ।

सन् १९९१ मा उनका पति बिल क्लिन्टनले राष्ट्रपतिको उम्मेदवारी घोषणा गरेयता नै हिलारी क्लिन्टन चर्चामा रहँदै आएकी छिन् । सन् १९९३ मा उनी अमेरिकाको प्रथम महिला बनेकी थिइन् । उनी अमेरिकी सांसद्मा निर्वाचित हुने अहिलेसम्मकी एक मात्रै प्रथम महिलासमेत हुन् । सन् २००१ मा उनी पहिलो पटक सांसद् बनेकी थिइन् । ६७ वर्षकी क्लिन्टनलाई निर्वाचनमा महिलाहरूको साथ रहने अनुमान समेत गरिएको छ ।

पूर्व राष्ट्रपति बिल क्लिन्टनका थुप्रै विवादास्पद घटनाक्रममा समेत साथ दिएर उनले अमेरिकी महिलाहरूको सद्भाव जितेकी छिन् । सानो स्केलबाट सुरु हुने उनको चुनावी अभियान बिस्तारै बृहद् बन्दै जाने समर्थकहरूले बताएका छन् । समर्थकहरू अहिले चुनावी कार्यक्रमका लागि धेरैभन्दा धेरै रकम संकलन गर्न व्यस्त छन् ।

धेरै समर्थकले निर्वाचनमा पहिलो महिला उम्मेदवार खडा गर्न चाहेका छन् । सांसद्मा रिपब्लिकनहरूको वर्चश्व रहेका बेला त्यसलाई तोड्दै जनमत आफ्नो पक्षमा पार्न हिलारीले गतिलो भूमिका खेल्न सक्ने धेरैको अनुमान छ । इओव र न्यू ह्याम्पस्राईमा उनको अभियान खास गतिलो हुन नसक्ने
धेरैले बताएका छन् ।

उनले मध्यमवर्गीय परिवारको आर्थिक अवस्था सुदृढ पार्नका लागि तलब वृद्धि गर्दै असमानता हटाउने लक्ष्यलाई चुनावी नारा बनाउने भएकी छिन् । नयाँ भिडियोमा उनी केवल ९० मिनेट देखिएकी छिन् । त्यसपछि अन्य व्यक्तिका व्यक्तिगत कथाहरू समेटिएको छ । उनीहरू कसरी केही नयाँ गर्न चाहन्छन् भन्ने विषय भिडियोमा समावेश गरिएको छ ।

भिडियोमा एक कालो जोडीले बच्चाको अपेक्षा गरेको, एक एसियन–अमेरिकन युवती, तथा दुई युवालगायत विभिन्नको जीवनशैली महत्त्वका साथ झल्काउन खोजिएको छ । यस भिडियोमा मध्यमवर्गका गोरा व्यक्तिहरू जसले अघिल्लो चुनावी दौडमा उनलाई सहयोग गरेका थिए, उनीहरूलाई पनि समेटिएको छ ।

भिडियोको अन्त्यमा एउटा ग्रामीण घरबाहिर बसेर क्लिन्टनले राष्ट्रपतिका लागि उम्मेदवारी दिने बताएकी छिन् । मंगलबार अमेरिकामा इक्वेल पे डे मनाइन्छ । त्यही सन्दर्भमा उनले भिडियो सार्वजनिक गर्नुले पनि मध्यमवर्गीय परिवारको मन जित्न खोजेको प्रस्ट हुने अमेरिकी सञ्चारमाध्यम न्यूयोर्क टाइम्सले जनाएको छ ।

सन् २००८ मा  यसपटक उनले लैंगिक मुद्दा उठाएकी छैनन् । ‘राष्ट्रपतिका लागि उम्मेदवारी दिने पहिलो महिला बन्न सके क्लिटनको चुनावी अभियान सफल हुनेछ । उम्मेदवार बन्नु भनेको क्लिन्टनका लागि वाइल्ड कार्ड सरह नै हो । यो अहिलेसम्म निर्णय लिन नसकेका महिलाको समेत भोट लिन सक्ने अवस्था हो ।’, विश्लेषक स्कट केटरले बताएका छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको उनको उम्मेदवारीलाई आश्चर्यका रूपमा भने हेरिएको छैन् । उनले यसअघि सन् २०१३ को सुरुआतमै विदेश विभाग छाडेकी थिइन्, त्यसयता उनी ट्वीटरमा निकै चर्चामा छिन् । उनले पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्नुभन्दा आफू चर्चामा रहेको सामाजिक सञ्जालमार्फत नै उम्मेदवारी घोषणा गर्दा सहज हुने अनुमान लगाएकी हुन् ।

प्रविधिमा निकै माहिर मानिएका क्लिन्टनका ३५ वर्षीय चुनावी सहयोगी रोबी मोकले यसअघि नै इओव, न्यू ह्याम्पस्राई, नेभाडा र दक्षिणी क्यारोलिनामा सर्भे गरिसकेका छन् ।

प्रतिक्रिया