साना, ७ चैत । यमनको राजधानीमा अवस्थित सिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम आक्रमणमा कम्तीमा १ सय ४२ व्यक्तिको मृत्यु भएको छ ।
इस्लामिक स्टेट समूहले उक्त आक्रणको जिम्मेवारी लिएको छ । सङ्घर्षग्रस्त यस मुलुकमा यस घटनालाई सबैभन्दा घातक जिहादी आक्रमणको रूपमा लिइएको छ ।
यमनमा आइएसले दाबी गरेको यो पहिलो आक्रमण हो र यसले आफूलाई बलियो शक्तिको रूपमा प्रस्तुत गरेको छ ।
उसका प्रतिद्वन्द्वी सबैभन्दा ठूलो जिहादी सङ्गठन अल–कायदा समूहले भने आफूले मस्जिदमा आक्रमण नगर्ने बताएको छ ।
राजधानी सानालाई हुथी सिया लडाकूले नियन्त्रणमा लिएका छन् र यो आक्रमण उनीहरूका समर्थकमाथि लक्षित रहेको थियो ।
प्रार्थनाकर्मीले घाइतेलाई पिक–अप ट्रकमा राखेर अस्पताल लगेका थिए भने अरुले त्यहाँबाट अङ्गभङ्ग भएका शरीरका भाग हटाएका थिए ।
एक आत्मघाती बम आक्रमणकारीले सानाको दक्षिणी भागमा रहेको बद्र मस्जिदमा आफूलाई विस्फोट गराएका थिए भने प्रार्थनाकर्मी भाग्दा अर्काले उनीहरूमाथि आक्रमण गरेको प्रत्यक्षदर्शीले बताए ।
अर्का आत्मघाती बम आक्रमणकारीले सानाको उत्तरी भागमा अवस्थित अल–हासहुस मस्जिदमा आक्रमण गरेका थिए भने चौथोले उक्त मस्जिदको बाहिरी भागमा आक्रमण गरेका थिए ।
यी जानकारी हाल हुथीको नियन्त्रणमा रहेको साबा समाचार संस्थाले दिएको हो ।
स्वास्थ्य मन्त्रालयका नसवान अल–अताबले यस घटनामा १४२ व्यक्तिको मृत्यु भएको तथा १५३ व्यक्ति घाइते भएको जानकारी दिए ।
हुथी टीभीले अस्पतालहरूले तत्कालै रक्तदान गर्न जनतालाई आग्रह गरेको जानकारी दिएको छ ।
चिकित्सा स्रोतले मर्नेमा बद्र मस्जिदका इमाम पनि परेको जानकारी दिएको छ ।
अर्का आत्मघाती बम आक्रमणकारीले सादामा एक मस्जिदनजिकै आफैँलाई विस्फोट गराएको जानकारी आईएस लडाकू समूहसँग नजिकको सम्बन्ध रहेको लडाकूले जानकारी दिएको छ ।
आक्रमणकारीको मात्र मृत्यु भएको र मस्जिदमा गरिएको कडा सुरक्षा कारण निजलाई मस्जिदभित्र जान रोकिएको उक्त स्रोतले बताए ।
इन्टरनेटमा जारी गरिएको एक विज्ञप्तिमा आईएसको साना शाखाले यो आक्रमण निकै ठूलो शृङ्लामा सानो भाग भएको दाबी गरेको छ ।
विज्ञप्तिमा इस्लामिक स्टेटका सेनाले हुथीलाई नष्ट नगरेसम्म चुप नलाग्ने बताइएको छ । उनीहरूले हुथी यमनमा इरानी योजनाको एक भाग भएको दाबी गरेका छन् ।
हुथीले इरानबाट सहयोग लिएको आरोप लगाइएको छ । आईएस सुन्नी मुसलमान सङ्गठन हो र यसले सियालाई धर्मविरोधी ठान्छ ।
अल–कायदा इन द अरेबियन पेनिनसुलाले एक विज्ञप्ति प्रकाशन गरी यी बमआक्रमणमा आफ्नो कुनै हात नभएको दाबी गरेको छ ।
विज्ञप्तिमा सेख ऐमान जवाहिरीले मस्जिद तथा बजारमा आक्रमण नगर्न र निरपराध मुसलमान जनताको जीवन रक्षा गर्न निर्देशन दिएकाले त्यसलाई पालना गरिने उल्लेख गरिएको छ ।
हुथीले सेप्टेम्बर महिनामा सानालाई आफ्नो नियन्त्रणमा लिएको हो र त्यसपछि शक्तिमा उसले नियन्त्रण कायम गरेको छ ।
उनीहरूले आफ्नो क्षेत्र विस्तार गर्दा सुन्नी आदिवासी तथा अल–कायदाले घातक प्रतिरोध गर्ने गरेका छन् ।
अमेरिकाले मस्जिदमा आईएसले गरेको बम आक्रमणको भत्र्सना गरेको छ ।
प्रतिक्रिया