काठमाडौं, २८ फागुन । सिनियरतर्फको एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत भएका खेलमा त्रिभुवन आर्मी क्लब र क्षेत्र नं. १ विराटनगर भारी अन्तरले विजयी भएका छन् ।
लगातार दोस्रो जितले आर्मीलाई दोस्रो स्थानमै कायम राखेको छ भने पहिलो खेल हारेको विराटनगर जितले चौंथो स्थानमै रहन सफल रह्यो ।
पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा बुधबार आर्मीले क्षेत्र नं. ७ जनकपुरलाई १३४ रनले स्तब्ध पारेको हो ।
टस जितेको आर्मीले एकदिवसीयको नयाँ रेकर्ड बनाउने क्रममा पुरै ओभर खेल्दै ६ विकेटको क्षतिमा ३८३ रनको विशाल पारी खेलेको थियो, यो नेपालको राष्ट्रिय एकदिवसीय क्रिकेटको इतिहासमै उच्च योगफल हो ।
जवाफी व्याटिङमा आएको जनकपुरले पूरै ओभर खेलेर ६ विकेट गुमाएर २४९ रन बनाए पनि आर्मीको ठूलो लक्ष्य भेट्टाउन सकेन ।
इतिहास रच्ने क्रममा आर्मीका लागि राष्ट्रिय खेलाडीले राम्रो प्रदर्शन गरेका थिए । त्यसमा अनिल मण्डलको ११४, महेश क्षेत्रीको ९८, विनोद भण्डारीको ५६ र नरेश बुढाऐरको ४१ रन महत्वपूर्ण रह्यो भने जनकपुरलाई रोक्न अर्का राष्ट्रिय खेलाडी जितेन्द्र मुखियाले दुई विकेट लिए ।
जनकपुरका राहुलप्रताप सिंहले ६१, हिमांशु दत्तले ५४ तथा हरिशङ्कर साहले ४८ रन साथै राहुल र हरिशङ्करकै नाममा दुई–दुई विकेट भए पनि अन्य खेलाडीले निरश प्रदर्शन गर्दा हार टर्न सकेन ।
महत्वपूर्ण सतक प्रहार गर्नुका साथै एक विकेट पनि लिएका आर्मीका अनिल प्लेयर अफ द म्याच भए ।
त्यस्तै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा विराटनगरले क्षेत्र नं. ८ पोखरामाथि १७४ रनको फराकिलो जित निकाल्यो ।
टस जितेर व्याटिङ गरेको विराटनगरले आठ विकेट गुमाएर पूरै ओभर खेल्दै २६४ रनको विशाल लक्ष्य दिएको थियो ।
जवाफी व्याटिङका लागि आएको पोखराले २९.५ ओभरमै अलआउट हुँदै ९० रन मात्र बनाउन सक्यो ।
विराटनगरका सिद्धान्त लोहनीले मात्र २५ बलमा ६७ रनको पारी खेलेर टिमको जीतमा महत्वपूर्ण भूमिका खेल्दै प्लेयर अफ द म्याच भए । त्यस्तै ललित राजवंशीले चार विकेट लिएर पोखरालाई सस्तैमा समेट्दै निराश पारे ।
दुवै खेलका प्लेयर अफ द म्याचले डोमियर सपिङ एण्ड सुटिङ सेन्टरको तर्फबाट तीन हजार बराबरको गिफ्ट ह्याम्पर र ट्रफी प्राप्त गरेका थिए ।
प्रतियोगिताअन्तर्गत बिहीबार टियु मैदानमा क्षेत्र नं. ५ नेपालगन्ज र त्रिभुवन आर्मी क्लब तथा पुल्चोकमा क्षेत्र नं. २ वीरगन्ज र क्षेत्र नं. १ विराटनगरबीच भिडन्त हुनेछ ।
प्रतिक्रिया