विववादकै बीच एनपीएल सुरु

NPL copyधनगढी, ३१ बैशाख । पटक–पटकको विवादका बीच धनगढीमा पहिलोपटक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । विवाद भएपछि सर्दै आएको लिगका लागि प्रतियोगिता सञ्चालक समिति बनाउने सहमति क्यान र जोहरा म्यानेजमेन्टबीच भएको थियो । सम्झौताअनुसार जोहराले लिगबाट हुने सम्पूर्ण आम्दानी क्यानलाई दिने र क्यानको सहमतिमा खर्च गर्ने तथा सम्पूर्ण हिसाब क्यानले राख्ने भनिए पनि जोहराले सहमतिअनुरुप काम नगरेको भन्दै क्यानले असन्तुष्टि जनाएको हो ।
चर्को विरोधको बाबजुद धनगढीको फाप्ला मैदानमा बुधबारदेखि सुरु भएको प्रतियोगितालाई सुदूरपश्चिमका बासिन्दाले ‘क्रिकेट विकासको कोसेढुंगा हुने’ अपेक्षा राख्दै समर्थन गरेका छन् । गर्मीको कुनै पर्वाह नगरी मैदानमा हजारौं दर्शकले लिग हेरिरहे पनि आयोजक र व्यवस्थापनको जुहारी भने कायमै रहेको देखिन्छ ।
एसीसी र आईसीसीले निजी कम्पनी वा संस्थालाई प्रतियोगिता आयोजना गर्न दिए ‘फिक्सिङ’ को सम्भवना आकँलन गर्दै जोहरा स्पोट्र्स म्यानेजमेन्टलाई प्रतियोगिताको आयोजकबाट हटाएर व्यवस्थापक बनाई नेपाल क्रिकेट संघ (क्यान)लाई आयोजक बनाइएको जनाइएको छ ।
मंगलबार काठमाडौंमा बसेको क्यान बैठकले आयोजकबाट नाम फिर्ता लिने निर्णय गरेको महासचिव अशोकनाथ प्याकुरेल बताउछन् । उनी सहित गभर्निङ काउन्सिलका बहुमत सदस्यले राजीनामा दिनुका साथै आय–व्ययको विवरण नबुझाएको भन्दै लिगका कार्यक्रमहरु एकलौटी गरिरहेको आरोप लगाए ।
उत्ता जोहराले भने क्यानलाई आयोजक भनेर नै राखेको बताए । आफूलाई व्यवस्थापक भनिएका होर्डिङ बोर्ड, टिसर्ट, ब्यानरहरु समेत राखिएका बताए ।
काठमाडौंमा अधिकांश पदाधिकारीले आयोजक नरहने भन्दै निर्णय गरेपछि अल्पमतमा परेका क्यान अध्यक्ष टंक आङबुहाङले भने धनगढीमा गोप्य बैठक बसेको बताइएको छ । जोहराका कार्यकारी निर्देशक आमिर अख्तर, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामालगायत सहभागी बैठकले लिग गराएरै छाड्ने र सबै जिम्मेवारी आफ्नो हुने सहमति गरे पछि लिग शुरु भएको अध्यक्षको भनाई छ ।
क्यान अध्यक्ष आङबुहाङले बुधबार सञ्चारकर्मीसँग प्रतियोगितालाई क्यानको पूर्ण सहयोग रहने प्रतिबद्वता रहेको बताउदै  अध्यक्षको अनुपस्थितिमा बसेको बैठकको औचित्य नरहने र बैठकमा सहभागीहरुलाई कारबाही हुने बताए ।
उनले क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नम्बर ९ लाई ‘बाइपास’ गरिएको भन्दै क्षेत्रका पदाधिकारीले पनि विरोध जनाएका बताए । क्षेत्र नम्बर ९ का उपाध्यक्ष सुवास शाहीलाई सबै जिम्मेवारी व्यक्तिगत रुपमा दिएको आरोप लगाउदै पदाधिकारीलाई बाइपास गरेको तथा लिगमा सहभागी हुन खबरसमेत नगरेको सचिव लोकेन्द्र विष्टको भनाइ छ ।

प्रतिक्रिया