काठमाडौं, २९ बैशाख । नेपाल प्रहरी क्लबका शिरीष गुरुङ र मध्यपश्चिमाञ्चलकी सोफिया शाह प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत १७ औं राष्ट्रिय पौडी प्रतियोगितामा सोमबार उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्को तत्वावधानमा नेपाल पौडी संघद्वारा आयोजित प्रतियोगितामा शिरीषले ७ र सोफियाले ६ व्यक्तिगत स्वर्ण जिते । पहिलो दिन आइतबार सोफियाले हिट चरणमा दुई राष्ट्रिय कीर्तिमान पनि बनाइन् । सोफियाले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी हुन् । कीर्तिमान वापत सोफियाले ५–५ हजारका दरले नगद पुरस्कार पाइन् ।
नेपाल आर्मी सर्वाधिक ६७ अंक जोड्दै टिम च्याम्पियन बन्यो । आर्मी भन्दा २ अंकले पछि परेको प्रहरी ६५ अंकसाथ दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको मध्यपश्चिमाञ्चलले ४३ अंक बटुल्यो ।
सातदोबाटोस्थित पौडी पोखरीमा अन्तिम दिन शिरीषले ३ स्वर्ण जित्दै व्यक्तिगत स्वर्ण संख्या ७ पुर्याए । पुरुषको २ सय मिटर फ्रिस्टायल २ मिनेट १८.९७ सेकेन्ड, १ सय मिटर बटरफ्लाइ १ मिनेट ०९.०९ सेकेन्ड तथा २ सय मिटर ब्याकस्ट्रोक २ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै शिरीष पहिलो भए ।
अघिल्लो दिन ३ स्वर्ण जितेकी सोफियाले अन्तिम दिन पनि थप ३ स्वर्ण हात पारिन् । सोफियाले महिलाको २ सय मिटर व्यक्तिगत मिड्ले ३ मिनेट ०१.३४ सेकेन्ड, १ सय मिटर फ्रिस्टायल १ मिनेट ०७.२२ सेकेन्ड तथा ५० मिटर बटरफ्लाइ ३६.१६ सेकेन्डमा सकाउदै शीर्ष स्थान हात पारिन् ।
पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा आर्मीका दिलिप थापा मगर ३४.६३ सेकेन्ड समयसाथ पहिलो भए । उनले ५० मिटर फ्रिस्टायलमा पनि स्वर्ण चुमे । निर्धारित दूरी तय गर्न उनले २७.९४ सेकेन्ड समय खर्चे । दिलिपले प्रतियोगितामा जम्मा ३ व्यक्तिगत स्पर्धामा स्वर्ण जित्न सफल भए ।
पुरुषको १ सय मिटर ब्रेस्टस्ट्रोकमा आर्मीका किरण कार्कीले शीर्ष स्थान कब्जा गरे । उनले निर्धारित दूरी १ मिनेट २१.९१ सेकेन्डमा सिध्याए । प्रतियोगितामा किरणले पनि ३ व्यक्तिगत स्पर्धामा स्वर्ण हात पारे ।
पुरुषको ४ गुण १ सय मिटर खुला रिलेमा आर्मी पहिलो, प्रहरी दोश्रो तथा मध्यमाञ्चल तेश्रो स्थानमा रहे ।
महिलाको ४ सय मिटर फ्रिस्टायलमा चर्चित नेपाली पौडी खेलाडी श्रेयाकी बहिनी मध्यमाञ्चलकी अदिती धिताल पहिलो भइन् । अदितीले ५ मिनेट ५३.३९ सेकेन्ड समय लगाइन् । महिलाको २ सय मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी सोनिरा विष्टले पहिलो स्थान हात पारिन् । ३ मिनेट ३७.१३ सेकेन्डमा सोनिराले निर्धारित दूरी तय गरिन् । सोनिराकी बहिनी सब्बु दोश्रो भइन् । महिलाको १ सय मिटर ब्याकस्ट्रोकमा प्रहरीकी ओशिना भारतीले सबै प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा १ मिनेट ३१.६९ सेकेन्ड समय निकालिन् । महिलाको ५० मिटर ब्रेस्टस्ट्रोकमा मध्यमाञ्चलकी निहारिका तुलाधर ४२.४४ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् ।
विजेतालाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।दुईदिने प्रतियोगितामा पााच विकास क्षेत्र, सेना र प्रहरीका ४५ महिलसहित १ सय २३ खेलाडीले २७ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । पौडीको समापनसंगै लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपले बिट मारेको छ । लुम्बिनीमा विभिन्न ३३ खेलको राष्ट्रिय प्रतियोगिता समावेश गरिएकोमा सबै सम्पन्न भएको छ । (सौस)
प्रतिक्रिया